हप्ताको दुई दिन बिदा कार्यान्वयन हुँदा शैक्षिक सत्र बिथोलिएको छ । शैक्षिक क्यालेण्डरलाई असर पर्ने गरी सरकारले २०८२ चैत २२ गते सरकारी कार्यालय तथा शैक्षिक संस्थामा आइतबार समेत बिदा गर्ने निर्णय गरेपछि अन्यौल बढेको छ ।
शिक्षा नियमावलीका अनुसार, एक शैक्षिक सत्रमा हिउँदे र बर्खे बिदा गरेर विद्यालयमा वर्षमा ४५ दिन बिदा गर्न सकिन्छ । यस्तै विद्यालय व्यवस्थापन समितिले थप ५ दिन स्थानीय बिदा दिन सक्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार विद्यालयमा ५० दिन बिदा हुन्छ । दसैँ–तिहारलगायत विभिन्न चाडपर्व तथा सार्वजनिक बिदा पनि हुन्छ । शनिबारका साथै अब वर्षको ५० दिन आइतबार बिदा हुने भएपछि विद्यालय खुल्ने र पठनपाठन हुने दिन घटेको छ । यो शैक्षिक सत्रमा विगतका वर्षभन्दा २ हप्ता ढिलो पठनपाठन सुरु भएको छ । एकातिर दुई साता पठनपाठन ढिला सुरु हुने र अर्कोतिर आइतबार समेत बिदा हुँदा बर्खे र हिउँदे बिदा कटौती गर्नैपर्ने बाध्यता आएको छ । शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खुलेको हुनुपर्छ । त्यसो हो भने अब नियमावलीको यो व्यवस्था कसरी सम्भव छ ?
सरकारले आइतबार बिदा दिने निर्णय तयारी ग¥यो । विना तयारी गरेको निर्णयले स्थानीय तह पनि अलमलमा छन् । कतिपय स्थानीय तहले आइतबार विद्यालय खुल्ने निर्णय गरेका छन् । घोराही उप–महानगरपालिकाले आइतबार विद्यालय खुलाउने निर्णय ग¥यो । अरु स्थानीय तह पनि आइतबार विद्यालय खोल्ने मुडमा छन् । आइतबारे बिदाका कारण समयमा कोर्स नसकिने र पाठ्यक्रमले तोकेको सक्षमता हासिल नहुने भएकाले आइतबार विद्यालय खोल्नु अनिवार्य छ । कक्षा ५ सम्म परीक्षा नलिने निर्णय पनि सरकारको छ । सरकार गठन भएपछि शैक्षिक सत्र, पाठ्यक्रम र अन्य विषयमा अध्ययन कार्यदल गठन गरी निर्णय गरेको भए सबैभन्दा उत्तम हुन्थ्यो । सरकारले जसरी हचुवाको भरमा निर्णय ग¥यो । अब यसले थपेको अन्यौलता छिटो अन्त्य हुनुपर्छ । कतिपय स्थानीय तहले विद्यालय खोल्ने र कतिपयले आइतबार बन्द गर्ने निर्णय राम्रो होइन । सबैमा एउटै हुनुपर्छ । आइतबार बिदाको निर्णय पुनःविचार गरी अघि बढ्दा शैक्षिक क्यालेण्डर लयमा अघि बढ्छ ।




