२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आर्थिक रूपान्तरणका लागि कार्यान्वयनमा केन्द्रित बजेट

आर्थिक रूपान्तरणका लागि कार्यान्वयनमा केन्द्रित बजेट

आर्थिक रूपान्तरणका लागि कार्यान्वयनमा केन्द्रित बजेट

आर्थिक रूपान्तरणका लागि कार्यान्वयनमा केन्द्रित बजेट

आर्थिक रूपान्तरणका लागि कार्यान्वयनमा केन्द्रित बजेट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • ईन्द्रप्रसाद भुसाल
    नेपाल सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको महŒवपूर्ण चरणमा प्रवेश गरेको छ । वर्तमान आर्थिक परिवेश चुनौतीपूर्ण छ । राजस्व संकलन अपेक्षाभन्दा कम, सार्वजनिक खर्चको दायित्व बढ्दो, निजी क्षेत्रको आत्मविश्वास कमजोर र आर्थिक वृद्धिदर न्यून अवस्थामा तयार हुन लागेको बजेट केवल औपचारिक दस्ताबेज नभई देशको आर्थिक दिशा तय गर्ने मार्गचित्रको रुपमा आउनुपर्ने आम सरोकारवालाको अपेक्षा छ । त्यसैले यस वर्षको बजेटको आकार, प्रभावकारितालाई ध्यान दिँदै बजेट कार्यान्वयनमुखी हुनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ ।  यद्यपि, बजेट निर्माणको आधारभूत चुनौती भनेको सीमित स्रोत र बढ्दो दायित्वबिच सन्तुलन कायम गर्नु हो । राष्ट्रिय योजना आयोगले करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ भने राजस्व संकलन करिब ११ खर्ब ८० अर्ब रुपैयाँमा सीमित छ । अर्कोतर्फ, अनिवार्य दायित्व १३ खर्ब ३० अर्ब रुपैयाँ पुगिसकेको छ । यस अवस्थाले सार्वजनिक वित्तमा गम्भीर दबाब सिर्जना गरेको छ, जसले बजेटलाई यथार्थपरक बनाउनुपर्ने आवश्यकता झनै बलियो बनाएको छ ।


    हालै नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित ‘जग बसाल्ने बजेट’ शीर्षकको छलफल कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटलाई सरल, स्पष्ट र दिशानिर्देशक बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार बजेट अनावश्यक रूपमा जटिल हुनु हुँदैन; यसले अर्थतन्त्रलाई कुन दिशामा लैजान्छ भन्ने कुरा स्पष्ट रूपमा देखाउनुपर्छ । उनले बजेटको प्रभाव व्यापक हुने भएकाले यसको संरचना र प्राथमिकता अत्यन्त सावधानीपूर्वक निर्धारण गर्नुपर्ने बताएका छन् । यही सन्दर्भमा पूर्व अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकारभन्दा यसको कार्यान्वयन क्षमतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनका अनुसार कार्यान्वयन गर्न नसकिने ठूलो बजेट बनाउनु व्यावहारिक हुँदैन । उनले कर नीतिमा स्थिरता आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य बिना आर्थिक लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पारेका छन् ।


    नीतिगत सन्तुलनको पक्षलाई थप स्पष्ट पार्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गुणाकर भट्टले कर नीतिमा अत्यधिक उतारचढाव नगरी सन्तुलित दृष्टिकोण अपनाउनुपर्ने बताएका छन् । उनका अनुसार अत्यधिक कर वृद्धि वा कटौती दुवैले आर्थिक प्रणालीलाई असन्तुलित बनाउन सक्छ । त्यसैले कर नीति स्थिर, पारदर्शी र दीर्घकालीन दृष्टिकोणमा आधारित हुनुपर्छ ।
    अर्थतन्त्रको गतिशीलता निजी क्षेत्रसँग गहिरो रूपमा जोडिएको छ । तर हाल निजी क्षेत्र “पर्ख र हेर” को अवस्थामा रहेको छ ।

     नीतिगत अस्पष्टता र अस्थिरताले निजी लगानीलाई निरुत्साहित गरेको छ । यसैले बजेटले निजी क्षेत्रलाई विश्वास दिलाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, र स्पष्ट नीतिगत संकेत दिने काम अनिवार्य गर्नु पर्दछ । सार्वजनिक–निजी साझेदारी (PPP) मोडललाई प्रभावकारी रूपमा लागू गर्न सकेमा ठूला परियोजनाहरूमा लगानी बढाउन सकिन्छ । पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउन सके बजेटको सफल कार्यान्वयन हुन सक्छ । यसले सरकारको सीमित साधन तथा स्रोतलाई पूरक सहयोग पु¥याउनुका साथै विकासको गति पनि तीव्र बनाउन सक्छ । आर्थिक तथा सामाजिक विकासका लागि केवल नीति निर्माण मात्र पर्याप्त हुँदैन; कार्यान्वयन पक्ष अझ महत्वपूर्ण हुन्छ ।

    नेपालमा बजेट कार्यान्वयन सधैं कमजोर रहँदै आएको इतिहास छ । पुँजीगत खर्चको न्यून कार्यान्वयन दर, प्रशासनिक ढिलासुस्ती, र समन्वय अभावले योजनाहरू अपेक्षित रूपमा अघि बढ्न सकेका छैनन् । पूर्व अर्थसचिव रामप्रसाद घिमिरेले विगतका बजेटहरुको कार्यान्वयन पक्षलाई औंल्याउँदै नीति कार्यान्वयनमा सुधार नगरी बजेट प्रभावकारी हुन नसक्ने बताएका छन् । उनले वर्तमान सरकारले तत्काल लाभ नदिने र प्राथमिकता विहीन आयोजनामा लगानी नगर्न सुझाव दिएका छन् । उद्योग क्षेत्रको दृष्टिकोणबाट हेर्दा पनि बजेटको कार्यान्वयन पक्ष नै प्रमुख समस्या बनेको छ । निजी क्षेत्रका प्रतिनिधिहरु (NCCI, CNI, NCC) का सार्वजनिक धारणामा नेपालको बजेट कार्यान्वयन दर न्यून रहेको तथ्य प्रस्तुत गर्दै सुधार आवश्यक रहेको बताएका छन् । साथै चोरी पैठारी नियन्त्रण गर्न नसक्दा स्वदेशी उद्योग प्रभावित भएको उनीहरुको भनाइ छ । त्यसकारण बजेटले स्वदेशी उद्योगको संरक्षण र व्यापार सन्तुलनमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखाउँछ ।


    कर प्रणाली सुधारको विषय पनि यस वर्षको बजेटको केन्द्रमा रहनुपर्ने देखिन्छ । उच्च कर दरले उत्पादन र लगानीलाई निरुत्साहित गरेको छ भने कच्चा पदार्थभन्दा तयारी वस्तुमा कम कर लाग्ने संरचनाले स्वदेशी उद्योगलाई कमजोर बनाएको छ । अर्थमन्त्री वाग्लेले यस अवस्थालाई सुधार गर्ने संकेत दिएका छन् । काठमाडौं विश्वविद्यालय अर्थशास्त्रका पूर्व प्राध्यापक अर्थविद् तथा गभर्नर विश्वनाथ पौडेलका अनुसार उच्च कर दरका कारण अनौपचारिक अर्थतन्त्र आकर्षक गर्दै यसले समग्र आर्थिक पारदर्शितालाई पनि असर गरिरहेको बताउँछन् । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा ल्याउन डिजिटल प्रणालीको प्रयोग अत्यन्त महत्वपूर्ण मानिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व अध्यक्ष सुदर्शनराज पाण्डेले कर प्रणालीलाई सरल, पारदर्शी र डिजिटल बनाउने सुझाव दिएका छन् । फेसलेस कर प्रणाली, डिजिटल भुक्तानी र स्वचालित प्रक्रिया अपनाउन सकेमा कर प्रशासन प्रभावकारी बन्न सक्छ ।


    दीर्घकालीन आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी अपरिहार्य छ । नेपालको मानव विकास सूचकांक सुधार गर्न यी क्षेत्रहरूमा पर्याप्त बजेट विनियोजन आवश्यक छ । गुणस्तरीय शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम, र सर्वसुलभ स्वास्थ्य सेवा दीर्घकालीन समृद्धिको आधार हुन् । 


    त्यसैले बजेटले १६औं योजनाका लक्ष्यहरूसँग तालमेल राख्दै मानव पुँजी विकासमा विशेष ध्यान दिनुपर्ने छ । बजेट निर्माण प्रक्रियामा साधन तथा स्रोतको सीमिततालाई ध्यानमा राख्दै प्राथमिकता निर्धारण गर्नु अत्यन्त आवश्यक छ । सबै क्षेत्रमा समान रूपमा लगानी गर्नु सम्भव नभएता पनि उच्च प्रतिफल दिने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने क्षेत्रमा लगानी केन्द्रित यस वर्षको प्रमुख उद्देश्य बन्नुपर्दछ ।  विषेश गरी पर्यटन, जलविद्युत् र कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने अपरिहार्य छ, जसबाट आर्थिक आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका पुग्नेछ ।


    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गुणाकर भट्टकाअनुसार नीतिगत अस्थिरता  बजेट  कार्यान्वयनको अर्को प्रमुख चुनौती हो । सरकारका नीतिको अस्थिरताले लगानी वातावरण प्रभावित भएका छन् । त्यसैले ठूलो बजेटभन्दा कार्यान्वयनमा केन्द्रित “स्मार्ट बजेट” अहिलेको आवश्यकता हो । बजेटको गुणस्तरलाई आकारभन्दा माथि राख्नुपर्ने बजेट निर्माणको सैद्धान्तिक मान्यता हो । जनताको रगत र पसिनाबाट आर्जित सरकारी आम्दानीलाई न्यायोचित रूपमा वितरण गरी आम नागरिकलाई प्रत्यक्ष लाभान्वित गराउनु लोकतान्त्रिक गणतान्त्रिक सरकारको प्रमुख दायित्व हो । बजेट निर्माण प्रक्रिया कुनै पनि प्रकारको भनसुन, पहुँच वा राजनीतिक प्रभावबाट मुक्त रहनुपर्छ । ठूला पहुँच भएका व्यक्ति, नेता तथा कार्यकर्ताहरूको दबाबबाट बजेट प्रभावित हुन नदिई, सिंहदरबारमा केन्द्रित अधिकारहरू पारदर्शी ढंगले स्थानीय तहसम्म प्रवाह हुने व्यवस्था सुनिश्चित गरिनुपर्छ । सङ्घीय विज्ञ डा. खिमलाल देवकोटाका अनुसार बजेट विनियोजन गर्दा देशका सबै ७५३ वटै स्थानीय तहमा सन्तुलित र न्यायपूर्ण वितरण सुनिश्चित हुनुपर्ने कुरामा जोड दिन आवश्यक छ । साथै, आर्थिक तथा सामाजिक दृष्टिले पछाडि परेका मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकताका साथ ‘स्पेशल क्याटेगोरी स्टेट’ का रूपमा हेरी छुट्टै बजेट व्यवस्था गरिनु आवश्यक रहेको विचार सङ्घीय विज्ञ डा. देवकोटाले व्यक्त गरेका छन् । 


    विश्वका उत्कृष्ट बजेटहरुले पारदर्शिता, समावेशिता, उत्तरदात्वि र परिणाममुखी खर्चका सिद्धान्तलाई स्थापित गरेका छन् । Performance Based Budgeting  मोेडेलले बजेटलाई स्पष्ट नतिजासँग जोडेर खर्चको प्रभावकारिता बढाउँछ भने Participatory budgeting  ले नागरिकको प्रत्यक्ष सहभागितामार्फत् प्राथमिकता निर्धारण गर्दछ । नेपालको बजेटलाई उत्कृष्ट बनाउन योजनाहरुलाई नतिजासँग बाध्ने स्थानीय तहमा जनसहभागिता बढाउने, डिजिटल प्रणालीमार्फत् पारदर्शिता र निगरानी सुदृढ गर्ने तथा राजनीतिक प्रभावभन्दा तथ्य र आयश्कतालाई आधारित वितरण सुनिश्चित गर्ने आवश्यक छ । सिद्धान्त र व्यवहारको समन्वयले बजेटलाई प्रभावकारी र जनमुखी बनाउन सक्दछ । 


    अन्ततः, यस वर्षको बजेटले विश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा काम गर्नुपर्छ । सरकार, निजी क्षेत्र, र आम नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउने नीति आवश्यक छ । स्पष्टता, स्थिरता, र पारदर्शिता बिना आर्थिक सुधार सम्भव हुँदैन । 


    यस सन्दर्भमा बजेटले यथार्थपरकता, नीतिगत स्थिरता, कार्यान्वयन क्षमता, निजी क्षेत्रसँग सहकार्य, र मानव विकासमा लगानी जस्ता पाँच आधारहरुलाई केन्द्रमा राख्नु पर्दछ । आर्थिक वर्ष २०८३-८४ को बजेटले आधारभूत तथ्यहरुलाइ आत्मसात् गर्दै बजेट तयार पार्न सक्यो भने नेपालको अर्थतन्त्रले दिगो र समावेशी विकासको बाटो समात्ने  छ । अन्यथा, बजेट फेरि पनि कागजमै सीमित रहने जोखिम रहिरहन्छ । त्यसैले यसपटकको बजेटले केवल अंकहरूको हिसाब होइन, विश्वास, सम्भावना, र भविष्यको मार्गचित्र कोर्न सक्नु पर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij