गुल्मी । कुनै समय गुल्मीका पहाडी गाउँहरूमा छोरीहरूको भविष्य विद्यालयको कक्षाकोठाभन्दा घरधन्दा, मेलापात र सानै उमेरको विवाहसँग जोडिन्थ्यो।
छोरीलाई पढाउनुभन्दा जिम्मेवारीको बोझ थोपर्ने सामाजिक सोच बलियो थियो। तर समयसँगै बदलिएको चेतनाले अहिले त्यही जिल्लामा फरक दृश्य देखाएको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाले गुल्मीमा आएको सामाजिक र शैक्षिक रूपान्तरणलाई झन् स्पष्ट बनाएको छ। अब उत्कृष्ट नतिजाको नेतृत्व छोरीहरूले गर्न थालेका छन्।
यस वर्ष जिल्लाभरबाट ६ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गर्दै जिल्ला टपर बन्न सफल भएका छन्। उल्लेखनीय पक्ष के छ भने, तीमध्ये चार जना छोरी रहेका छन्।
महेन्द्र नमुना माध्यमिक विद्यालय तम्घासकी अस्मिता पाण्डे, रेसुङ्गा माध्यमिक विद्यालय तम्घासकी दीक्षा पोखरेल, शारदा माध्यमिक विद्यालय दिब्रुङ–चन्द्रकोटक़ी रीतिका गौतम र रिडी माध्यमिक विद्यालयकी मर्यादा पौडेलले उत्कृष्ट नतिजा हासिल गरेका छन्।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारस्थित रेन्बो इंग्लिस बोर्डिङ स्कुलका आरुषा श्रेष्ठ र खोमराज पन्थले पनि ४.०० जीपीए ल्याउँदै जिल्ला टपरको सूचीमा नाम लेखाएका छन्।
जिल्लाको शैक्षिक केन्द्र मानिने सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालयले यस वर्ष पनि आफ्नो शैक्षिक विरासतलाई कायम राखेका छन्।
रेसुङ्गा माध्यमिक विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार, एक विद्यार्थीले ४.०० जीपीए ल्याउँदा ६ जनाले ३.९ भन्दा माथि र १३ जनाले ३.६ भन्दा माथिको जीपीए हासिल गरेका छन्। यसले सदरमुकामका विद्यालयको निरन्तर गुणस्तरीय शैक्षिक अभ्यासलाई पुष्टि गरेको छ।
तर यस वर्षको नतिजाले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ—गुणस्तरीय शिक्षा अब सदरमुकाममा मात्र सीमित छैन। ग्रामीण क्षेत्रका विद्यालयहरूले समेत उल्लेखनीय सफलता हासिल गरेका छन्।
रुरुक्षेत्र गाउँपालिकाको रेन्बो इंग्लिस बोर्डिङ स्कुलले २७ जना विद्यार्थी सहभागी गराउँदा सबै विद्यार्थी उत्तीर्ण गराउँदै शतप्रतिशत नतिजा निकालेको छ। अझ एउटै विद्यालयबाट आरुषा श्रेष्ठ र खोमराज पन्थले ४.०० जीपीए ल्याएर जिल्ला टपर बन्नु विद्यालयका लागि थप गौरवको विषय बनेको छ।
उता, चन्द्रकोट गाउँपालिकाको शारदा माध्यमिक विद्यालय, दिब्रुङकी रीतिका गौतमले ४.०० जीपीए ल्याउँदै ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको प्रतिष्ठा उकासेकी छन्। समग्रमा चन्द्रकोट गाउँपालिकाले ८३.०१ प्रतिशत उत्तीर्ण दर हासिल गर्दै जिल्लामै प्रभावशाली नतिजा प्रस्तुत गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार यस वर्ष सामान्यतर्फ ३ हजार ३ सय ३९ विद्यार्थी एसईईमा सहभागी भएका थिए। तीमध्ये २ हजार २ सय ९३ विद्यार्थी उत्तीर्ण भएका छन्, जुन ६८.६८ प्रतिशत हो। प्राविधिक धारतर्फ उत्तीर्ण प्रतिशत ७०.२८ रहेको छ भने रेसुङ्गा नगरपालिकाको समग्र उत्तीर्ण दर ७७.४३ प्रतिशत पुगेको छ।
यस वर्ष जिल्लाका केही विद्यालयले ‘जिरो फेलियर’ को उपलब्धि पनि हासिल गरेका छन्। रेसुङ्गा नगरपालिका अन्तर्गत घोर्ले माध्यमिक विद्यालय, रिडर्स इंग्बो र आदर्श विद्याश्रमले शतप्रतिशत नतिजा निकालेका छन्।
विशेषगरी ग्रामीण भेगमै रहेको घोर्ले माध्यमिक विद्यालयले १८ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराएर उदाहरणीय सफलता हासिल गरेको छ।
त्यस्तै चन्द्रकोट गाउँपालिका अन्तर्गत शारदा माध्यमिक विद्यालय सराङ्ग, शारदा माध्यमिक विद्यालय अर्जेवा, ग्वाघा माध्यमिक विद्यालय, चक्रेश्वर बोर्डिङ र भानु बोर्डिङले पनि शतप्रतिशत नतिजा निकालेका छन्।
गुल्मीको यस वर्षको एसईई नतिजाले केवल शैक्षिक उपलब्धि मात्र होइन, बदलिँदो सामाजिक सोचको चित्र पनि प्रस्तुत गरेको छ। छोरीहरू अब पढाइमा सहभागी हुने मात्र होइन, उत्कृष्टता र नेतृत्वको स्थानमा उभिन थालेका छन्।
साथै, बलेटक्सार, दिब्रुङ र रिडी जस्ता ग्रामीण क्षेत्रका विद्यालयले पनि उत्कृष्ट परिणाम निकालेर गुणस्तरीय शिक्षा शहरमा मात्र सीमित नरहेको सन्देश दिएका छन्। जिल्ला टपरमध्ये अधिकांश छोरी हुनु गुल्मीको भविष्य शिक्षित र सक्षम पुस्ताको हातमा सुरक्षित बन्दै गएको संकेतका रूपमा हेरिएको छ।




