बुटवल । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ मा कपडा बैंक शुभारम्भ भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले आफूले पनि कुनै बेला कपडा बैंककै कपडा लगाएको स्मरण गर्दै बन्दीपुरमा समेत स्थायी रूपमा कपडा बैंक सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, हाल सञ्चालनमा रहेको कपडा बैंकबाट भरपुर सेवा लिन सबैलाई अनुरोध गर्नुभयो ।
कपडा बैंकका सञ्चालक तथा सामाजिक अभियन्ता कमल जीसीले कपडा बैंकको उद्देश्य, सामाजिक प्रभाव र सेवाबारे जानकारी गराउनुभएको थियो । त्यसैगरी वडा अध्यक्ष शिवकुमार श्रेष्ठले आफू पनि सानो हुँदा यस्तै कपडा लगाएर हुर्किएको उल्लेख गर्दै बिना हिच्किचाहट वडा कार्यालयमा आएर सेवा लिन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, समाजसेवी, वडा सदस्य, महिला समूह, युवा तथा चेपाङ समुदायसहित ३०० भन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो । सोही अवसरमा कपडा बैंकको औपचारिक शुभारम्भ गर्दै ४४२ जनालाई २÷२ जोरका दरले न्यानो माया सहित कपडा वितरण गरिएको आयोजकले जनाएको छ ।




