राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह अकस्मात निस्केर हिंडेको विषय असमान्य व्यवहार हो । संसद जनताबाट निर्वाचित प्रतिनिधिको थलो हो । यो थलोमा हुने हरेक सांसदका व्यवहार मर्यादित र जिम्मेवार हुनुपर्छ । अझ प्रधानमन्त्रीको हरेक व्यवहार र कार्यशैलीले सरकारको मार्गचित्र देखाइरहेको हुन्छ ।
राष्ट्रपतिले एकघण्टा १० मिनेट संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बसेर राष्ट्रपतिलाई संसदबाट बिदाई गरी निस्कुनपर्ने परम्परा हो । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा निस्केर प्रधानमन्त्री निवास बालुवाटार पुगेर आराम गर्ने विषय सम्मानित राष्ट्रपतिप्रतिको अपमान हो । यो संसदप्रतिको बेवास्ता पनि हो । राष्ट्रपति एउटा व्यक्तिका रूपमा रामचन्द्र पौडेल छन्, तर यो संस्था हो । राष्ट्रप्रमुखप्रति सरकारप्रमुखले गर्ने यो अमर्यादित व्यवहार क्षम्य छैन । प्रधानमन्त्री कम बोल्छन्, अरुसँग कुराकानी कम गर्छन्, यो उनका स्वभाव हुन्, तर अब सोमबार संसदमा उनले गरेको व्यवहारलाई उनको स्वभावगत समस्या भनेर सामान्यकरण ग¥यौं भने प्रधानमन्त्रीको आनीबानी र व्यवहार सुधार हुनेछैन, त्यसको मूल्य मुलुकले चुकाउने छ । सनकी र मुडी शासकका कारण इतिहासमा धेरै मुलुकको अस्तित्व गुमेको छ, देश अध्याँरो बाटोमा हिंड्न विवश छन् ।
मुलुकमा केही भएन्, पूरानाले सबै बिगारे भन्ने भाष्य खडा गरेर सत्ताको सिंहासनमा पुगेकाहरु कम्तिमा विनम्र र विनयी बन्दा, शिष्टाचार र मर्यादाकोे ख्याल गर्दै अघि बढ्दा केही महिनाअघि भोट हालेका मतदाताको मन भतभती त पोल्ने थिएन् । मत दिएको केही महिनामै मतदाताको मन भतभती पोल्ने अवस्था आउनु यो मुलुकको विडम्बना हो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई न सम्झाउन सक्छ, न त्यो पार्टीका सांसदले आलोचना गर्न सक्छन् । पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री जाँदैनन् । जुन पार्टीको संसदीय दलको नेता भएर मात्रै प्रधानमन्त्री हुन सम्भव भयो त्यो पार्टीप्रति उनी वफादार हुनुपर्छ । संसदीय दलका नेताले अहिले गरेको व्यवहारले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मात्रै नभएर संसदीय व्यवस्थाप्रति नै प्रहार हो ।
संसदमा जाँदा प्रधानमन्त्री राष्ट्रिय पोशाक लगाउँदैनन् । के संसद भनेको मनपरी गर्ने थलो हो ? संसद अधिवेशन बोलाएपछि स्थगित गरेर आफूलाई मन लागेका अध्यादेश ल्याएपछि पुनः संसद बोलाउने प्रवृत्ति लोकतान्त्रिक व्यवहार र आचरण भित्र पर्छ । अहिले रास्वपालाई झण्डै दुई तिहाईको जनमत छ । यो जनमतले प्रधानमन्त्रीलाई अराजक र उदण्ड बनाएको छ ।
नागरिकले मत दिएका हुन् भनेर शासक मैमत्ता भयो भने अन्ततः त्यसले निम्त्याउने नरकको यात्रा हो । नागरिकले पाँच वर्षलाई मत दिएका हुन् । त्यसपछि नागरिकले मत परिवर्तन गर्न सक्छन् । त्यसभन्दा अघि नै समाजमा असन्तुष्टि चुलियो भने सडकमा विद्रोही भएर पोखिन सक्छ । सडक विद्रोह कति शक्तिशाली हुन्छ भन्ने विषय धेरै टाढा जानुपर्दैन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंशपछि नै अहिलेको राजनैतिक अवस्था आएको हो । प्रधानमन्त्रीले संसदमा गरेको व्यवहारप्रति सार्वजनिक रुपमा क्षमा माग्दा उनीप्रति नागरिकको भरोसा र विश्वास बढ्छ । परिवर्तनको व्यग्र प्रतीक्षा गरिरहेका नागरिकले असहिष्णु बन्न र निरकुंश बन्ने शासक पटक्कै खोजेका होइनन् ।




