बुटवल । भ्रखरमात्रै कक्षा १० एसईईको नतिजामा जिल्लामै उत्कृष्ठ नतिजा ल्याउन सफल बनेको बुटवल ४ को कान्ति मावि शैक्षिक गन्तव्य बनिरहेको छ । विद्यालयबाट एसईईको नतिजामा चार जनाले ४ जीपीए प्राप्त गर्न सफल भएका छन् । प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कुल ५१४ विद्यार्थीमध्ये ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा आयुस घिमिरे, असिम पुरी, युगल पन्थी र अनिस गौतम रहेका छन् । विद्यालयले उपलब्ध गराएको विवरणअनुसार १३८ जना विद्यार्थीले एप्लस , १६२ जनाले ए, १३८ जनाले बि प्लस र ४८ जनाले बि ग्रेड प्राप्त गरेका छन् ।
ज्ञवालीका अनुसार यस वर्षको नतिजा विद्यार्थीको निरन्तर मेहनत, शिक्षकको समर्पण र अभिभावकको सहयोगको परिणाम हो । उत्कृष्ट नतिजासँगै कान्ति माविले देशमै सामुदायिक विद्यालयतर्फ गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा आफ्नो पहिचान थप बलियो बनाएको छ ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ । साथै बैशाख ३१ गते बधाई तथा सम्मान कार्यक्रम राखिएको प्रअ गोविन्द ज्ञवालीले बताए । बुटवलको मुटुमा अवस्थित कान्ति माध्यमिक विद्यालयले लामो इतिहास बोकेको छ । यसले इतिहास मात्र बोकेको छैन, वर्तमान र भविष्यका लागि समेत गुणस्तरीय शिक्षाको आधार तयार गरेको छ । करिब सात दशक लामो यात्रामा यो विद्यालयले केवल शिक्षा मात्र दिएको छैन, हजाराँैै विद्यार्थीको भविष्य निर्माण गरेको छ ।
कान्ति माध्यमिक विद्यालय बुटवलको पहिचान र शिक्षाको आधारस्तम्भको रूपमा खडा भएको छ । वि.सं. २००८ सालमा पुरानो बुटवलमा सुरु भएको गणेश विद्या भवन प्राइमरी स्कुल र खस्यौलीमा सुरु भएको जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण गरी वि.सं. २०१० साल पुस २ गतेदेखि “गणेश जनता विद्या भवन” प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुवात भएको हो ।
वि.सं. २०१६ सालमा मिडिल स्कुल र २०२६ सालमा हाइस्कुलको स्वीकृति प्राप्त गरेको यो विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक विद्यालय र २०३३ सालदेखि श्री ५ कान्ति माविको नामबाट सञ्चालन हुँदै आएको छ ।
२०६४ सालदेखि कक्षा ११÷१२ सञ्चालन गरेको यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापन र शिक्षा समूहका विभिन्न विषयहरूको पठनपाठन हुँदै आइरहेको छ । वि.सं. २०६५ सालदेखि खुला विद्यालयतर्फ कक्षा ८ र १० समेत सञ्चालनमा छन् । जसबाट विभिन्न कारणले नियमित विद्यालयको पहुँचदेखि बाहिर रहेका हजाराँै विद्यार्थीहरू लाभान्वित भएका छन् । विद्यार्थीहरूमा सही संस्कारको विकास र संस्कृतिको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वि.सं.२०८१ सालदेखि कक्षा ६ बाट संस्कृत विषयको पठन पाठन समेत आरम्भ गरिएको छ ।
विद्यालयले २०७२ सालदेखि पूर्णरूपमा डिजिटल अभिलेख व्यवस्थापन, आन्तरिक विनियम २०७२ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । जसमा शिक्षक कर्मचारीहरूका काम, कर्तव्य र अधिकार, सेवा, सुविधा, ग्रेड, सञ्चय कोष, उपादान आदिको व्यवस्था गरिएको छ । सुझाव पेटिका निर्देशिका २०७४ तयार गरी विद्यार्थी, अभिभावकहरूबाट सुझाव पेटिकामा प्राप्त सकारात्मक सुझावहरूलाई कार्यान्वयनमा ल्याइएको छ । २०८१ सालदे खि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी, छात्रा सञ्जाल संयोजक र सूचना प्रविधि प्रमुखको समेत व्यवस्था गरिएको छ ।
यस्ता छन् शैक्षिक गतिविधि :
विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको छ । विद्यालयमा सञ्चालित कार्यक्रम र प्राप्त नतिजाको कारणले गर्दा आम विद्यार्थी र अभिभावकहरूको रोजाइको केन्द्र बनेको छ । कान्ति माविमा नियमिततर्फ ५ हजार ७३२ जना विद्यार्थी र खुला विद्यालयतर्फ ७२ जनागरी जम्मा ५ हजार ८०४ जना विद्यार्थी अध्ययनरत छन् भने बिहानी तथा दिवा सेवामा गरी २३५ जना शिक्षक र कर्मचारीहरू कार्यरत छन्, जसमध्ये २५ जनालाई मात्र सरकारले सेवा सुविधा दिने गरेको छ ।
२०८१ सालदेखि विद्यालयले कक्षा १०, कक्षा ११ र १२ का विद्यार्थीहरूलाई स्मार्ट बोर्डको प्रयोग गरी शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिएको छ भने यस वर्ष कक्षा ९ र कक्षा ८ मा समेत थप गर्नेगरी काम अगाडि बढिरहेको छ ।
विद्यालयले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, व्यवस्थापकीय, पर्यावरणीय र सूचना प्रविधिलगायतका सबै जसो विषयका मापदण्डहरू पूरा गरिसकेकोले २०८१ साल पुस २ गते अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र(आइएसओ )प्राप्त गरिसकेको छ । कान्ति माध्यमिक विद्यालय अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने पहिलो सामुदायिक विद्यालय हो । विद्यालयबाट धेरै विद्यार्थीले एमबीबीएस, इञ्जीनियरिङ्, भेटेनरी एग्रीकल्चर, नर्सिङ, सिए, बीसीए, बीएचएम, बीबीएलगायतका विषयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका छन् ।
असल अभ्यासहरू
दुरदृष्टि, लक्ष्य र उद्देश्य निर्धारण, गुरुयोजना निर्माण र कार्यान्वयन, विद्यालय सुधार योजना निर्माण, वार्षिक कार्ययोजना निर्माण, सिसिटिभी÷इ–हाजिरी प्रयोग, विद्यालय विनियम २०७२ निर्माण र प्रयोग, सिकाइ उपलब्धि विश्लेषण र विद्यार्थी अभिभावक परामर्श, डिजिटल अभिलेख र लेखा व्यवस्थापन, विद्यालय बडापत्र, सुझाव पेटिकमा प्राप्त सुझाव कार्यान्वयन, कक्षागत अभिभावक भेला, सुझाव संकलन र कार्यान्वयन, विज्ञान, अर्थशास्त्र, गणित, क्रिकेट, बालक्लब, छात्रा सञ्जाल, रेडक्रस, स्काउट गठन, शिक्षक, विद्यार्थी र अभिभावक आचार संहिताको निर्माण एवम् कार्यान्वयन, दैनिक पठन पाठनका लागि लगबुकको व्यवस्था, शिक्षक विद्यार्थीको जन्मदिनमा पुस्तक र फूल बिरुवा उपहार रहेका छन् ।
विद्यालयको भौतिक अवस्थाअन्तर्गत विद्यालय परिसरमा २ विगाहा १५ कठ्ठा ३ धुर र रूपन्देही जिल्ला सैनामैना वडा नं. ५ मा १० कठ्ठा जग्गा विद्यालयको सम्पत्तिअन्तर्गत रहेको छ । भूकम्प प्रतिरोधी सुरक्षित र भव्य विद्यालय भवनले जोकोहीको पनि मन तानिरहेको छ । विद्यालयलाई स्थापना कालदेखि यो अवस्थासम्म ल्याई पु¥याउन विविध क्षेत्रबाट प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनु हुने पूर्व सचिव स्वर्गीय बुद्धिबहादुर थकाली, पूर्व अध्यक्षहरू द्वारिका उदय, पूर्व प्रधानाध्यापक इरादेवी थैव, आनन्दमान श्रेष्ठ, हरिप्रसाद ढकाल, पूर्व शिक्षक, कर्मचारी, अक्ष्यकोषदातालगायत सम्पूर्ण शिक्षाप्रेमी महानुभावको विशेष सहयोग रहेको विद्यालयले जनाएको छ ।
शैक्षिक उपलब्धिअन्तर्गत २०७१ एसएलसीको नतिजामा पश्चिमाञ्चल प्रथम, २०७३ को एसईईमा लुम्बिनी प्रदेश प्रथम, २०७६ मा बुटवल उप–महानगर पालिकाबाट उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत, २०७८ मा रूपन्देही जिल्लाको उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत, २०७९ को एसईई नतिजामा लुम्बिनी प्रदेश द्वितीय, नेपाल छैठांै हुँदै विद्यालयले सामुदायिक विद्यालयप्रतिको नकरात्मक धारणालाई नै परिवर्तन गर्न सफल भएको छ । विद्यालयको स्रोत र साधनको अभावले धेरै विद्यार्थीलाई विद्यालयले समावेश गर्न सकेको छैन ।
विद्यालयमा विभिन्न समयमा धेरै शिक्षाप्रेमी, समाजसेवीहरूले छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । यसको मूल रकम रु.२६ लाख रहेको छ । यसको ब्याजबाट प्रत्येक वर्ष सयांै विद्यार्थीहरूलाई नगद छात्रवृत्ति प्रदान गर्नेगरिएको छ । एक पटकमा एउटा कक्षाका ५० जना विद्यार्थीहरूलाई लैजान र प्रयोग गर्न मिल्ने गरी अलग–अलग विज्ञान प्रयोगात्मक कक्षासहितको विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ ।
जुनियर र सिनियर विद्यार्थीहरूका लागि अलग अलग हाइस्पिड केवल इन्टरनेट सुविधासहितको कम्प्यूटर ल्यावको व्यवस्था विद्यालयले गरेको छ । १५० जना विद्यार्थीहरूले एकै पटक अध्ययन गर्न मिल्ने स्मार्ट बोर्डसहितको आइ.टि.ल्यावको व्यवस्था, १० ओटा कक्षा कोठामा प्रोजेक्टर जडान गरी अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइएको छ । टाढाका विद्यार्थीको सहजताका लागि १८ ओटा बसहरूबाट पूर्व खैरेनी, पश्चिम हरैया, दक्षिण तिलोत्तमा न.पा. को मणिग्रामसम्मका २३०० बढी विद्यार्थीहरूलाई विद्यालयमा ल्याउने र लैजाने विद्यालयले मिलाएको छ ।




