तिलोत्तमा । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त र देशभर चर्चा कमाएको तिलोत्तमा नगरपालिकाको एक सामुदायिक विद्यालयको दयनीय भौतिक पूर्वाधारले उत्कृष्ट नगरपालिकालाई नै गिज्याएको छ ।
रुपन्देहीको तिलोत्तमा वडा नं. १० कान्छिीबजारको जनहित मावि जीर्ण भौतिक पूर्वाधार र शिक्षक दरबन्दी अभावको दोहोरो चपेटामा परेको छ ।
२०३२ सालमा स्थापना भएको यो विद्यालयमा हाल करिब ८ सयजना विद्यार्थी अध्ययन गर्छन् । तर अधिकांश विद्यार्थी झ्यालका ढोका समेत नभएका टिनले छाएको टहराका जीर्ण कक्षा कोठामा बसेर बढ्न बाध्य छन् ।
कक्षा कोठाको भौतिक पूर्वाधार बालमैत्री नहुँदा गर्मीमा टिनको छानो तातेर बालबालिका र शिक्षक दुबैलाई असर गरेको छ । यसैगरी अलि ठूलो पानी पर्दा टिनको आवाज र झ्यालबाट कक्षा कोठासम्म पानीका बाछिटा जाँदा कक्षा कोठाको पढाई नै प्रभावित हुने गरेको विद्यार्थी र शिक्षकको गुनासो छ ।
हावा हुरी आउँदा पनि टिनको छानो र टिनकै झ्याल भएकाले ध्वनी प्रदूषण भएर पढाई प्रभावित हुने गरेको छ ।
विद्यालयका प्रधानाध्यापक रामनारायण चौधरीले टिनले छाएका कक्षा कोठामा विद्यार्थी राखेर पढाउनु पर्दा निकै गाह्रो भएको गुनासो गरे । गर्मीमा टिनको छानाले थप गर्मी गराउने र जाडोमा खुला झ्यालबाट चीसो हावा कक्षा कोठामा आउने र टिनले पनि चीसो बनाउने कारण विद्यार्थीको स्वास्थ्य र पढाईमा नराम्रो असर गरेको प्रधानाध्यापक चौधरीले बताए । बदलिंदो परिवेश अनुसार टिनले छाएको टहरामा कक्षा कोठामा अब प्रधानाध्यापक चौधरीले विद्यालयमा तत्काल कम्तीमा १८ वटा कक्षा कोठाको आवश्यकता भएकाले स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने माग गरे ।
प्रधानाध्यापक चौधरीका अनुसार विद्यालयमा ८ जना प्रावि तहको स्थायी, ७ जना राहत गरी १५ जना मात्र दरबन्दी रहेको र २५ जना निजी स्रोतका शिक्षक रहेका छन् ।
विद्यार्थी संख्याको अनुपातमा मावि तहसम्म शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने विद्यालयको माग छ ।
विद्यालयका सहायक प्रधानाध्यापक हिम केसीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त र देशभर ख्याति कमाएको नगरपालिकाको विद्यालयको भौतिक पूर्वाधार दयनीय हुनु लज्जाको विषय भएको बताए ।
दयनीय भौतिक पुर्वाधार प्रति तीनै तहका सरकारको ध्यान जान नसकेको केसीले गुनासो गरे ।
विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पढाई हुने गरेको छ । यस्तै छुट्टै पक्की भवनमा मन्टेश्वरी कक्षा पनि सञ्चालनमा छ । मन्टेश्वरीमा करिब २५० जना विद्यार्थी पढ्ने गरेका छन् । तीमध्ये ९० प्रतिशत विद्यार्थी सोही विद्यालयमा कक्षा १ मा भर्ना हुने गरेका छन् । विद्यालयको जग्गामा सञ्चान हुने हाटबजार र केही व्यवसायिक सटरको भाडावापत आउने आम्दानीबाट निजी स्रोतका शिक्षकलाई तलब दिन गरिएको सहायक प्रधानाध्यापक केसीले बताए ।
न्यून आम्दानीका कारण शिक्षकलाई सन्तोषजनक तलब दिन नसक्ने बाध्यता रहेको विद्यालयले जनाएको छ ।




