तिलोत्तमा । संगम दिदी बहिनी समूह तिलोत्तमा–८ प्रदीपनगरले मानव सेवा आश्रमलाई ५१ हजार रुपैयां नगद र करिब ५० हजार रुपैयांको खाद्यान्न सहयोग गरेको छ ।
समूहले गत बैशाखमा गाउंमै आयोजना गरेको सांस्कृतिक कार्यक्रममा संकलन भएको रकमबाट ५१ हजार नगद तथा करिब ५० हजार रुपैयांको खाद्यान्न खरिद गरी शनिबार आश्रमलाई प्रदान गरेका हुन् ।
समूहमा आवद्ध दिदी बहिनीहरुले व्यक्तिगत खर्च गरेर चार क्वीन्टल चामल, दाल, आलु, फलफुल, बिस्कुट लगायतका खाद्यान्न खरिद गरेर आश्रमलाई प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै समाजसेवी ढालानन्द चालिसेले संगम दिदी बहिनी समूह गठन भएको छोटो समयमै नमूना सामाजिक र मानवीय सेवाका क्षेत्रमा नमूना कामहरु गरेको भन्दै प्रशंसा गर्नुभयो ।
उहांले आफूले कमाएको धनको केही अंश आफू भन्दा कमजोर वर्गलाई दान गर्नु नै सच्चा धर्म हुने बताउनुभयो ।
कार्यक्रममा संगम टोल विकास संस्थाका अध्यक्ष बाबुराम खरेलले टोल भित्र रहेका संस्थाहरु मध्ये संगम दिदी बहिनी समूह सबैभन्दा क्रियाशील र सामाजिक काममा निरन्तर लागेको बताउनुभयो ।
कार्यक्रममा संगम दिदी बहिनी समूहकी अध्यक्ष संगिता घिमिरे, सचिव गिता शर्मा लगायतले आगामी दिनमा पनि समूहले सामाजिक र मानवीय सेवाका कामलाई थप सक्रियताका साथ निरन्तरता दिने बताएका थिए ।
कार्यक्रममा संगम टोलका दाजु भाइ र दिदी बहिनीहरुको उल्लेखनीय उपस्थिति थियो । गत बैशाखमा भएको उक्त सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियार, वाद्यवादन प्रशिक्षक विष्णु कंडेल, चर्चित उद्घोषक खेमराज रेग्मी लगायत अन्य कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । गाउंमा पहिलोपटक राजु परियारको प्रस्तुतिमा स्थानीय संगीत पारखीहरु नाच्दै भरपूर मनोरन्जन लिएका थिए ।




