सरकारले निर्माण व्यवसायीलाई विनाकारण र गैरकानुनी ढंगले पक्राउ गरी विधिको शासनको उल्लंघन गरेको छ । निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सचिवालयमा बुझाउनु असामान्य घटना हो, जुन घटनाले निर्माण व्यवसायीलाई त्रसित र भयभित बनाएको छ ।
शर्मा र बडु नेपालका प्रतिष्ठित निर्माण व्यवसायी हुन् । उनीहरुले गरेको विगतको काम राम्रै देखिन्छ । अहिले साँगा–धुलिखेल सडक निर्माणको जिम्मा बडुकोलामा कन्स्ट्रक्सनले पाएको छ । मुग्लिङ–नौबिसेको जिम्मा रमेशको शर्मा कम्पनीले पाएको छ । मुलुकका दुई प्रतिष्ठित निर्माण कम्पनीका व्यक्तिमाथि राज्यले गरेको उदण्ड र अराजक व्यवहारले समाजलाई अराजकताको बाटोतिर लैजाने जोखिम बढेको छ । निर्माण व्यवसायमा समस्या छन्, निर्माण व्यवसायी कतिपय अवस्थामा कमजोरी गरेका छन्, उनीहरुलाई ती कमजोरी सुधार गर्न समय दिने र सुधार नगरे कानुनी कारबाहीको बाटो छँदैछ । प्रहरी लगाएर मन्त्रीको सचिवालयले केरकार गर्ने विषयले सुशासनको धज्जी उडाएको छ । निर्माण व्यवसायीलाई बोलाए मन्त्रालय आउनसक्छन् ।
सम्बन्धित ठाउँमा बोलाउँदा समेत अटेरी गरे प्रहरी खटाएर पक्राउ गर्न सरकारले सक्छ । त्यसभन्दा पहिले नै प्रहरी खटाएर पक्राउ पूर्जी दिएर मन्त्रालयमा उपस्थित गराउनु राज्य व्यवसायीप्रति अनुदार भइरहेको संकेत गर्छ । व्यवसायीको प्रतिष्ठा र मर्यादाप्रति सरकारले पटक्कै ध्यान दिएन् । मन्त्रीकोे सचिवालय सामु काममा भइरहेको ढिलाइबारे व्यवसायीले बेली विस्तार लगाए,- बेलैमा बिजुलीको पोल सारिएन्, रूख काटिएन्, निर्माण सामग्रीको अभाव भयो । अहिले विटुमिनको चर्को मूल्यवृद्धिले काम गर्नै नसक्ने अवस्था छ । व्यवसायीका यी कुरा सुनेका सचिवालयका सदस्यले अब घर जानसक्ने बताएपछि व्यवसायी घर गए । सडक निर्माणमा भइरहेको ढिलाइबारे समस्या बुझ्न पक्राउ गर्नै पर्ने के बाध्यता आयो ? लोकतान्त्रिक प्रणालीमा सरकारले यो प्रश्नको जवाफ दिनुपर्छ ।
समयमा बिजुलीको पोल नसार्नु व्यवसायीको कमजोरी हो ? रूख नकाट्दा हुने निर्माण ढिलाइमा व्यवसायीलाई दोष दिन मिल्छ ? निर्माण सामग्रीको व्यवस्थापनमा राज्यका निकायले सहजीकरण गर्न पर्दैन ? यी प्रश्नको उत्तर सरकारले दिनुपर्छ । बरु सरकारको गैरजिम्मेवारीपन र नालायकीले व्यवसायीलाई ‘अपराधी’ र ‘बदमास’ बनाउँदैछ ।
मुलुकमा नागरिकले सम्मानका साथ बाँच्न पाउने वातावरण बनाउनुपर्छ । भय र त्रासमा बाँच्न पर्ने अवस्था आउनुले लोकतन्त्रको धज्जी उडाएको छ । अझ व्यवसायीलाई पलायनको बाटोमा लैजान खोजिएको हो भने त्यसले निम्त्याउने जोखिम झनै ठूलो हुन्छ । विधि र पद्दतीमा चल्ने र चलाउने एंव प्रणालीको विकास गर्ने परिपाटीलाई जोड दिँदा मुलुक सही बाटोमा अघि बढ्छ । सरकारले विधिलाई स्थापित गर्नेभन्दा हुकुम र आदेशलाई स्थापित गर्ने बाटोतिर अघि बढेको छ । सरकारको यस्तो व्यवहार सुधार गरी विधि र पद्दतीलाई स्थापित गर्न जोड दिनुपर्छ ।




