बुटवल । एसईईको नतिजामा उच्चतम ग्रेड चार जीपीए ल्याएका चार जनासहित ३२० बढी विद्यार्थीलाई न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवललेसम्मान गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय सञ्चालक समितिका पदाधिकारी, विद्यालयका प्राचार्य, उप–प्राचार्यलगायतले विद्यार्थीलाई सम्मान गरेका हुन् ।
न्यू होराइजनबाट अन्वेशा भुसाल, अपेक्षा गौतम, दिक्षा पाण्डे र संकल्प ज्ञवालीले चार जीपीए ल्याएका थिए । यस्तै विद्यालयका १३३ जनाले ३.६१ भन्दा बढी जीपीए (ए प्लस), ९६ जनाले ए ग्रेड, ७१ जनाले बी प्लस ग्रेड र १७ जनाले बी ग्रेड ल्याएर उत्तिर्ण भएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र कसजूले एसईईमा प्राप्त नतिजालाई सहज रुपमा स्वीकार गरेर विद्यार्थीहरुले कक्षा ११ र १२ मा उच्चतम ग्रेड ल्याउने संकल्प र मेहनत गर्न सुझाव दिए ।
अध्यक्ष कसजूले उत्तरपुस्तिका जाँच गर्ने प्रणालीलाई कतैबाट प्रश्न र शंका नउठ्ने गरी गरी विश्वसनीय बनाउन सरकारको ध्यान जानुपर्ने बताए ।
प्राचार्य बासुदेव अर्यालले एसईईमा प्राप्त ग्रेड एउटा पक्ष मात्रै भएको हुँदा विद्यार्थीमा रहेको ज्ञान, क्षमता आफूसँगै रहेकाले आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउन सकिने प्रष्ट पारे ।
निवर्तमान प्राचार्य लोकनाथ उपाध्यायले उत्तर पुस्तिका जाँच गर्ने अहिलेको प्रणालीले विद्यार्थीको लेखाइअनुसार नतिजा नआएको धेरै गुनासा आएकाले यसमा परिमार्जन गरेर थप विश्वसनीय बनाउनुपर्ने औंल्याए ।
कक्षा ११ र १२ र त्यसमाथिको उच्च शिक्षामा पनि न्यू होराइजन अब्बल सावित भएकाले विद्यार्थीले अन्यत्र विकल्प खोज्न नपर्ने उपाध्यायको सुझाव छ ।
उप–प्रचार्य राजीव श्रेष्ठले ३६ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरेकाले उत्कृष्ट नतिजा हासिल गर्दै आएको र यसपटक पनि पुष्टी गरेको बताए ।
पर्याप्त भौतिक पूर्वाधार र विद्यार्थीमैत्री वातावरणका कारण अभिभावक र उत्कृष्ट विद्यार्थीको रोजाइ न्यू होराइजन बनेको श्रेष्ठले बताए ।
कार्यक्रममा चार जीपीए ल्याएकी छात्रा अन्वेशा भुसाल र अस्मिता ज्ञवालीले विद्यालयको सुविधा सम्पन्न पूर्वाधार, आधुनिक प्रविधिमा पठनपाठनका कारण न्यू होराइजनले देशभरमै उत्कृष्ट नतिजा हासिल गरेको बताए । उनीहरुले आफूहरुसहित चार जीपीए ल्याएका सबै जना कक्षा ११ र १२ पनि न्यू होराइजनमै पढ्ने निर्णय गरी भर्ना भइसकेको बताए ।
कार्यक्रममा अभिभावक सञ्जय ज्ञवाली, भूतपूर्व विद्यार्थी एवं प्राध्यापक विकास श्रेष्ठलगायतले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापका कारण राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा समेत न्यू होराइजनको प्रतिष्ठा उच्च रहेको बताए ।
कक्षा १० संयोजक प्रकाश गौतमले जीपीए प्रणाली लागू भए यता न्यू होराइजनबाट हालसम्मकै धेरै १३३ जना विद्यार्थीले ३.६१ जीपीएभन्दा माथि अंक ल्याएर उत्कृष्ट नतिजामा अर्को नयाँ रेकर्ड बनाएको बताए ।




