गुल्मी
सदरमुकाम तम्घासका महँगा र सुविधायुक्त सामुदायिक तथा संस्थागत विद्यालयहरू भर्ना अभियान र ‘नतिजा’ को रगतपसिना बगाउँदै गर्दा, सदरमुकामभन्दा केही टाढाको एउटा ग्रामीण बस्तीले लगातार दोस्रो वर्ष इतिहास दोहो¥याएको छ। यो कथा कुनै ठूलो बजेट र सहरिया तामझामको होइन; यो कथा हो गुल्मीको रेसुङ्गा नगरपालिका–१३, दुबिचौरस्थित श्री घोर्ले माध्यमिक विद्यालयको, जसले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर सिंगो जिल्लाकै ध्यान आफूतिर खिचेको छ ।
यो सफलता केवल ‘पास’ हुनुको तथ्याङ्क मात्र होइन, यसले समाजको परम्परागत शक्ति सन्तुलन र शैक्षिक चेतनाको ग्राफलाई नै उल्ट्याइदिएको छ ।
ग्राफ उल्टियोः १८ मा १५ ‘छोरीहरू’
घोर्ले माविबाट यस वर्ष १८ जना विद्यार्थी एसईईमा सामेल भएका थिए । सुखद र आश्चर्यजनक कुरा के छ भने, उत्तीर्ण हुने १८ जनामध्ये जम्मा ३ जना पुरुष छन् भने १५ जना महिला (छात्रा) छन् ।
रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीका अनुसार नगरभित्रका १९ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये शतप्रतिशत नतिजा ल्याउन सफल हुने घोर्ले मावि एकमात्र सामुदायिक विद्यालय हो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका पन्थीले गर्वसाथ भने–‘यसपटक शैक्षिक ग्राफ उल्टिएको छ । ठूला र आशा गरिएका विद्यालयहरू चुकिरहँदा घोर्ले माविले लगातार दोस्रो वर्ष शतप्रतिशत नतिजा निकालेर आफूलाई अब्बल सावित ग¥यो ।’ नगरपालिकाभित्र सदरमुकामका रिडर्स पब्लिक हाई स्कुल र आदर्श विद्याश्रम बोर्डिङ् स्कुलसहित ३ वटा संस्थागत विद्यालयले मात्र शतप्रतिशत नतिजा निकाल्न सकेका छन् । नगरको समग्र नतिजा गत वर्षको ८० प्रतिशतबाट बढेर यस वर्ष ९० प्रतिशत पुग्दा घोर्ले माविले बुनेको विरासत निकै लोभलाग्दो छ ।
‘मनिषा’ अर्थात् गरिबी र विभेदमाथिको विजय
यसपटक घोर्ले माविको निधारमा थप एउटा सुनौलो टीका लागेको छ- विद्यालय प्रथम (टपर) बनेकी मनिषा बी.के.। ३.५५ जी.पी.ए. ल्याएर विद्यालयकै शिर उच्च बनाएकी मनिषा सोही वडाको विकट भँगेरी गाउँकी विपन्न दलित परिवारकी छोरी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख खिलध्वज पन्थीले मनिषालाई मञ्चमा देखाउँदै भावुक हुँदै भने–‘आज मनिषा जस्ता दलित समुदायकी छात्रा विद्यालय प्रथम हुँदा म नगर प्रमुखको हैसियतले मात्र होइन, एउटा नागरिकको रूपमा गर्वित छु । जिल्लाभर ६ जनाले ४ जी.पी.ए. ल्याउँदा ५ जना महिला हुनु र यहाँ पनि १८ मा १५ जना छोरीहरू उत्तीर्ण हुनुले पुरुषभन्दा महिला निकै क्षमतावान् छन् भन्ने स्पष्ट तस्वीर देखाएको छ ।’
दुई महिना खान नपुग्ने माटो र आमाको ‘निमेक’
मनिषाको यो सफलताको जग उनकी आमा अन्जना सुनारको हत्केलाका ठेलाहरूमा कोरिएको छ । दुई महिना पनि खान नपुग्ने सानो जमिनको टुक्रो छ । गरिबीकै कारण ओभानो ओत खोज्दै मनिषाका बुबा भारत पसेका छन् । यता गाउँमा आमा अञ्जनाले अर्काको घरखेतमा निमेक मजदुरी (ज्याला–मजदुरी) गरेर तीन छोराछोरी हुर्काइरहेकी छन् ।
‘निमेक मजदुरी गरेरै भए पनि छोराछोरीको पढाइमा कहिल्यै कमी हुन दिइनँ,’ आमा अन्जनाले आँसु र मुस्कान मिसाउँदै भनिन्–“मनिषा भँगेरी प्राविमा कक्षा ३ सम्म पढेर घोर्ले माविमा आएकी हो । हिँडेर आउँदा–जाँदा मात्रै एक घण्टा लाग्छ । दुःख त छ, तर आज छोरीले सबै दुःख बिर्साइदिई ।’
मनिषाकी बहिनी ममता कक्षा ७ मा र भाइ आयन कक्षा २ मा पढ्दैछन् । मनिषा पनि आमाको संघर्ष बुझ्छिन् । ‘मलाई आमाले कुनै कुराको कमी हुन दिनुभएन ।’ –मनिषा भन्छिन् । अचम्मको कुरा, उनले आफू विद्यालय प्रथम हुन्छु भन्ने सोचेकी समेत थिइनन् । सहरिया बालबालिका जस्तो उनले डाक्टर वा इञ्जिनियर बन्ने ठूलो सपना पनि बुनेकी छैनन् । भविष्यको लक्ष्यबारे सोध्दा उनले सुझबुझपूर्ण जवाफ दिइन्–‘मलाई त भविष्यमा असल टिचर (शिक्षक) बन्ने सपना छ ।’
एउटै विद्यालयबाट ५ दलित महिलाको ‘उज्यालो’ यात्रा
घोर्ले माविको यो नतिजामा अर्को एउटा सामाजिक क्रान्ति लुकेको छ । उत्तीर्ण १५ जना छात्राहरूमध्ये मनिषासहित ५ जना दलित समुदायका छोरीहरू छन् । अवसर र हौसला पाए ग्रामीण र विपन्न वर्गका दलित महिलाहरू पनि कसैभन्दा कम हुँदैनन् भन्ने यो बलियो प्रमाण हो ।
विद्यालयमा मनिषासँगै ३.५० जी.पी.ए. ल्याएर रेखा थापा दोस्रो र ३.४४ जी.पी.ए. ल्याएर अनमोल थापा तेस्रो बनेका छन् । उनीहरू मात्र होइन, राधिका थापा, शोभा खत्री, राजेश पुन, सन्ध्या बी.के., स्मृति बी.के., सुस्मिता बस्नेत, सुष्मा खत्री, पुजा थापा, हुमकला खत्री, भगवता बस्नेत, मनिका बी.के., प्रतिक थापा, अमृता कार्की, पुष्पा बी.के. र पूर्णिमा बी.के. सबैले ३ जी.पी.ए. कै हाराहारीमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छन् ।
सफलताको सम्मान
विद्यार्थीहरूको यो ऐतिहासिक सफलतालाई कदर गर्दै घोर्ले माविका प्रधानाध्यापक हिरासिंह सराङ्कोटी मगर, शिक्षक अभिभावक संघका अध्यक्ष धामबहादुर धुरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर खत्री र वडाध्यक्ष हुमबहादुर बस्नेतले उत्तीर्ण विद्यार्थीहरूलाई अबिर र खादा ओढाएर सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरे ।
महँगो शुल्क असुलेर पनि गुणस्तर दिन नसक्ने सदरमुकामका विद्यालयहरूलाई चुनौती दिँदै घोर्ले मावि र भँगेरीकी मनिषाले एउटा शाश्वत सत्य स्थापित गरिदिएका छन्–‘पढ्न र बदल्नका लागि महल होइन, दृढ इच्छाशक्ति र मिहिनेत चाहिन्छ । गरिबीले सपनालाई छेक्न सक्दैन ।’




