अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा सामाजिक न्याय, लैङ्गिक समानता तथा समुदाय सशक्तिकरणका विषयमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक न्यायका लागि रुपान्तरण अभियान अन्तर्गत ‘हाम्रो साहस परियोजना’ मार्फत दलित महिला संघ र युएन वुमनको सहकार्यमा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले कार्यक्रम आयोजना गरेको हो। ग्रामीण तथा पिछडिएका समुदायमा सामाजिक न्याय र सशक्तिकरण प्रवर्द्धन गर्ने उद्देश्यले समुदायका अगुवा, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मोहनसिंह ठकुरीले समाज रूपान्तरणका लागि सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले समाजमा विद्यमान कुसंस्कार, कुरीति तथा विभेदजन्य व्यवहार त्याग गर्दै समतामूलक र एकताबद्ध समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संस्थाका तर्फबाट राधा नेपालीले दलित महिला संघले महिलावादी अभियान, समावेशी सशक्तिकरण तथा जातीय, लैङ्गिक र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले समुदायसँग सहकार्य गर्दै विभिन्न परियोजनामार्फत महिला सशक्तिकरण र दिगो विकासमा संस्थाले जोड दिँदै आएको बताउनुभयो।
नेपालीका अनुसार ‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक हानिकारक मूल्यमान्यता न्यूनीकरण तथा लैङ्गिक समानताका लागि सामाजिक व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ। परियोजनाको मुख्य लक्षित वर्ग महिला, दलित समुदाय र युवा रहेका छन्।
उहाँले सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा लैङ्गिक हिंसा न्यूनीकरण परियोजनाको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो।
परम्परागत सोच र व्यवहार परिवर्तन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले अन्याय र हिंसामा परेका तथा न्यायबाट वञ्चित महिलालाई जीविकोपार्जनसँग जोड्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। आर्थिक रूपमा कमजोर महिलाको आत्मबल अभिवृद्धि र अधिकार पुनःस्थापनामा समेत विशेष जोड दिनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा वडा सदस्य हरिलाल पराजुली, ईश्वरी मरासिनी, तारा चौहान नेपाली, सामाजिक अगुवा रामजी मरासिनी, गीता आचार्य, डिलबहादुर विकलगायतले मन्तव्य राखेका थिए।
बराप पैरवी समूहकी अध्यक्ष मञ्जु विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार अनिल नेपालीले गर्नुभएको थियो।




