लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले सार्वजनिक पोखरी अतिक्रमण गरी बनाएको आफ्नै घर भत्काएर सरकारी जग्गा संरक्षण गर्ने अभियानको सुरुवात गर्नु सकारात्मक छ । राजनैतिक नेता र पहुँचवाला कार्यकर्ताका कारण अतिक्रमण हटाउन समस्या भइरहेको बेला कार्यबहाक प्रमुख हरिजनको यो काम उदाहरणीय छ । कार्यबहाक प्रमुखले गरेको यो कामले अब सार्वजनिक अतिक्रमण हटाउन नगरपालिकालाई सहज हुनेछ ।
लुम्बिनी–१, खुनगाईमा उनको सगोलको परिवार बस्छ । यहाँ सार्वजनिक पोखरी अतिक्रमण गरी उनीसहित केही परिवार बस्दै आएका छन् । परिवारका सदस्यलाई समेत सहमत गराएर अतिक्रमण हटाउने काम आफैँबाट हुनुको अर्थपूर्ण सन्देश छ ।
सार्वजनिक सडक, ताल, पोखरी, नहर र कुलोलगायतका सरकारी जग्गा संरक्षण गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले सूचना प्रकाशित गरेपछि कार्यवाहक नगर प्रमुख हरिजनप्रति प्रश्न उठ्यो । त्यसपछि ससुरा रामलखन र जेठाजु अरबिन्द हरिजनसहित सगोलमा बस्दै आएकी उनले घरपछाडि पोखरी अतिक्रमण गरी २०७७ मा बनाएको १४ फुट वाइ ९ फुट लम्बाइ–चौडाइको पक्की संरचना भत्काउन लगाएकी हुन् । सार्वजनिक जीवनमा प्रश्न उठेपछि त्यसको जवाफदेहिता हुन्छ । उनी जवाफदेही बनेकी छन् । कानुन सबैलाई लाग्छ भन्ने सन्देश दिएकी छिन् । उनको यो कामपछि पोखरीको जग्गा १०÷१२ जनाले अतिक्रमण गरेकामा ५÷६ जनाले छाडेका छन् । बाँकीले छाड्न समय मागेका छन् । वडा नं. १ मा मात्र १९ वटा सरकारी पोखरी छन् । जुन केही अतिक्रमणमा परेका छन् ।
पहिलो चरणमा घरजग्गा भएका र हुने खानेले कब्जा गरेको सरकारी जग्गा खाली गराएर संरक्षणमा लाग्ने योजना नगरपालिकाले बनाएको छ । नगरपालिकाले गरिब, विपन्न, वास्तविक सुकुम्वासी र अव्यवस्थित बासोवासी छुट्याएको छ । समस्यामा परेकालाई तत्काल केही नगर्ने पनि नगरपालिकाको योजना सकारात्मक छ । समस्यामा रहेकालाई पुनःस्थापनाको योजना बनाएर अतिक्रमण हटाउने योजना अरुका लागि पनि अनुकरणीय छ ।
अहिले देशभर अतिक्रण हटाउने अभियान चलेको छ । स्थानीय तहले नै हो, सार्वजनिक ताल पोखरी र सडकको अतिक्रमण हटाउने । स्थानीय तहको काममा संघीय सरकारको साथ आवश्यक छ । अतिक्रमण हटाउँदा काठमाडौंमा भएजस्तो अमानवीय क्रियाकलाप बन्द हुनुपर्छ । नागरिकलाई सहमत गराएर नै अतिक्रमण हटाउन सकिन्छ । अतिक्रमण हटाउन नागरिक नै सहमत भएपछि क्षति कम हुन्छ । समस्यामा परेका परिवारलाई वैकल्पिक व्यवस्थापन नहुँदासम्म अलपत्र हुने गरी अतिक्रमण हटाउँदा झन धेरै समस्या हुने काठमाडौँको घटनाबाट सिक्नुपर्छ ।




