बुटवल । राष्ट्रकै अग्रणी शैक्षिक संस्था न्यू होराइजन अंग्रेजी आवासीय माविमा शनिबार आयोजित सम्मान समारोह केवल औपचारिक कार्यक्रम थिएन, त्यो तीन दशकभन्दा बढी समय एउटै सपना बोकेर हिँडेका दुई शिक्षायोद्धाप्रतिको भावनात्मक श्रद्धा, सम्मान र कृतज्ञताको क्षण थियो ।
३७ वर्षसम्म संस्थाको नेतृत्व सम्हाल्दै हजारौं विद्यार्थीको भविष्य निर्माणमा समर्पित निवर्तमान प्राचार्य लोकनाथ उपाध्याय र उपप्राचार्य बालकृष्ण भण्डारी लाई विद्यालयले दोसल्ला, कदरपत्र र मायाको चिनोसहित सम्मान गर्दा सिंगो संस्था नै भावविभोर बन्यो । कार्यक्रममा उपस्थित शिक्षक, कर्मचारी, सञ्चालक, पूर्वविद्यार्थी र अभिभावकका आँखा पटक–पटक रसाए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ता भावुक देखिन्थे । कसैले लोकनाथ उपाध्यायलाई 'न्यू होराइजनको युगपुरुष' भने, कसैले 'शिक्षाको पथप्रदर्शक' को उपमा दिए त कसैले सकारात्मक सोंच र सहयोगी मनका धनी भनेर सराहना गरे ।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले स्वर्गीय शिक्षाविद् लालचन्द्र श्रेष्ठको दूरदर्शी सोच र गुणस्तरीय शिक्षा दिने अठोटकै कारण न्यू होराइजनको जन्म भएको स्मरण गर्दै संस्थालाई आजको उचाइमा पुर्याउन लोकनाथ उपाध्याय, बालकृष्ण भण्डारी, संस्थापक प्राचार्य आरसी आचार्य लगायत सिंगो शिक्षक टोलीको अथक योगदान रहेको बताए ।
उनले उपाध्याय र भण्डारी संस्था छाडेर नभई एउटा जिम्मेवारीबाट अर्को जिम्मेवारीमा पुगेको उल्लेख गर्दै उपाध्याय र भण्डारी संस्थाबाट अलग भएको नभई एउटा जिम्मेवारीबाट अर्को जिम्मेवारीमा गएको सम्झनु पर्ने बताए ।
अध्यक्ष कसजूले भने–‘भोलिका दिनमा लोकनाथ सर र बालकृष्ण सर हरु सञ्चालक समितिको अध्यक्ष वा सल्लाहकार भूमिकामा आउन सक्नु हुन्छ,उहांहरु न्यू होराइजनबाट टाढा हुने प्रश्नै छैन भोलि जुनसुकै भूमिकामा पनि उहाँहरू यही परिवारसँग रहिरहनुहुन्छ ।’
उनले संस्थालाई व्यक्तिगत स्वार्थ भन्दा माथि राखेर काम गरे संस्था र आफू सफल भइने सुझाव राख्दै न्यू होराइजनले अब उच्च शिक्षामा प्राविधिक विषयको सम्बन्धन लिएर अगाडि बढ्नु पर्ने खांचो औंल्याए । अध्यक्ष कसजूले सरकारले गलत निर्णय गर्ने हो भने निजी विद्यालयका शिक्षकको रोजगारी जोखिममा पर्न सक्ने खतरा रहेपनि न्यू होराइजन अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै निवर्तमान प्राचार्य लोकनाथ उपाध्याय पनि भावुक बने । उनले स्वर्गीय लालचन्द्र श्रेष्ठले आफूलाई न्यू होराइजनसँग जोडेको स्मरण गर्दै संस्थाको यात्रा निकै ठूलो संघर्ष, त्याग र प्रसव वेदनाबाट अघि बढेको सुनाए ।
“आज १० हजारभन्दा बढी विद्यार्थी र ८ सयभन्दा बढी शिक्षक–कर्मचारी रहेको संस्था बन्नु कुनै सामान्य कुरा होइन,” उनले गला अवरुद्ध पार्दै भने, “यो सबै शिक्षक, कर्मचारी र सञ्चालकहरूको पसिना र समर्पणको परिणाम हो । शिक्षक खुशी भए मात्र विद्यार्थी खुशी हुन्छन् भन्ने विश्वासका साथ काम गरियो ।”
जीवनसंगिनीको साथ र परिवारको त्याग सम्झँदा उनी झन् भावुक बने । “विद्यालय राम्रो बनाउन दौडिरहँदा आफ्नै परिवारसँग बिताउने समय धेरै कम भयो,” उनले भने, “तर न्यू होराइजन नै हाम्रो परिवार बन्यो ।”
संस्थापक देखि हालसम्मका सबै सञ्चालक र शिक्षक कर्मचारीको अथक मेहनतले संस्थाको गरिमा, उत्कृष्टता राष्ट्रियस्तरमा अग्रणी छ,संस्था दरिलो छ’–उपाध्ययाले भने –‘शिक्षक कर्मचारीको तलब अरु विद्यालयको भन्दा बढी दिएकैले उत्कृष्ट नतिजा आएको हो, विद्यालय यो उचाईमा पुग्नुमा शिक्षकको योगदान सबै भन्दा बढी छ, शिक्षकबाट सधैं सहयोगी व्यवहार र उत्कृष्ट नतिजामा योगदान गरेकामा नतमस्तक छु ।’
शिक्षक खुशी भए मात्र राम्रो पढाउने र विद्यार्थी पनि खुशी हुन्छन् भन्ने मान्यता राखेर काम गर्न उपाध्याले सुझाव दिए ।
हालको उत्तर पुस्तिका जांच प्रणालीले एसईई नतिजामा ठूलो असर गरेको चर्चा गर्दै यसलाई परिमार्जन गर्नुपर्ने उनले औंल्याए । उपाध्यायले नयाँ प्राचार्य र विद्यालयलाई आवश्यक सल्लाह सुझाब दिइरहने प्रतिबद्दता जनाउंदै संस्थाबाट बाहिर भएको नठान्न आग्रह गर्दै सधैं साथमै रहेको बताए ।
६० वर्षे उमेर हदको व्यवस्थालाई सम्मान गर्दै कार्यकारी जिम्मेवारीबाट विदा भएको स्पष्ट पार्दै उनले आफू संस्थाबाट कहिल्यै अलग नभएको बताए ।
साथै १२ कक्षा पास गर्नासाथ छोराछोरीलाई विदेश पठाउने अभिभावकको प्रवृत्तिप्रति पनि उपाध्यायले गम्भीर चिन्ता व्यक्त गरे ।
“हामीले पढाएका विद्यार्थीले सिंहदरबार जलाए, हामीले यस्तै विद्यार्थी उत्पादन गर्ने हो ” भन्ने उनको प्रश्नले हल केही क्षण स्तब्ध बनेको थियो ।
हालका प्राचार्य वासुदेव अर्यालले लोकनाथ उपाध्याय र बालकृष्ण भण्डारी दुवै व्यक्तित्व संस्थाका लागि प्रेरणाका स्रोत भएको बताए । मन्तव्य दिँदै गर्दा उनी पटक–पटक भावुक बने, आँखाबाट आँसु झरे ।
“लोकनाथ सरको कार्यशैली, अनुशासन, दूरदृष्टि र नेतृत्व हामी सबैका लागि पाठशाला हो,” उनले भने, “उहाँहरूलाई विदाइ होइन, अझै नजिकबाट मार्गदर्शनको अपेक्षा गरेका छौं ।”
उनले सूचना प्रविधिको तीब्र विकासले विद्यालय सञ्चालनमा चुनौती झन् बढेको उल्लेख गर्दै डिजिटल युग अनुसार चल्नुपर्नेमा ध्यान दिइने बताए ।
निवर्तमान उपप्राचार्य बालकृष्ण भण्डारी पनि मन्तव्यका क्रममा भक्कानिए । “दिन–रात नभनी यही संस्थाका लागि मेहनत गरियो,” उनले भावुक हुँदै भने, “आज संस्थाले गरेको सम्मान जीवनभर बिर्सन सक्दिनँ । संस्था मेरो घर हो, मेरो पहिचान हो । आवश्यकता पर्दा सधैं साथमा हुनेछु ।”
संस्थापक प्राचार्य आरसी आचार्य ले विद्यालय स्थापना गर्दाका संघर्षका दिन सम्झँदै शनिबार मात्रै आफ्ना छोराछोरीसँग भेट हुने अवस्था रहेको सुनाए ।
“विद्यालय राम्रो बनाउने सपना बोकेर हामी रातदिन खट्थ्यौं,” उनले भने, “त्यही सपना आज हजारौं विद्यार्थीको भविष्य बनेको छ ।”
स्वर्गीय लालचन्द्र श्रेष्ठ र लेखनाथ पाण्डेको योगदान स्मरण गर्दै आचार्यले उहांहरुका छोराहरु राजीव श्रेष्ठ र राजेश पाण्डेहरु त्यो बेलाको राम्रो विद्यालय न्यू लाइट स्कूलमा पढ्ने गरेकाले त्यहांबाट प्रभावित भएर लालचन्द्रले आफैं नयाँ स्कुल खोल्न झकझकाएकाले न्यू होराइजनको जन्म भएको खुलाए ।
स्वर्गीय लालचन्द्रले नै लोकनाथ, बासुदेव लगायतलाई विद्यालयमा ल्याएका र स्थानिय अगुवा व्यवसायीलाई लगानीकर्ता बनाएकाले अभिभावकको विश्वास जितेको आचार्यले स्मरण गरे ।
आचार्यले ३७ वर्षको सेवा र योगदानप्रति सिंगो संस्था अनुग्रहित रहेको भन्दै उपाध्याय र भण्डारीको पद मात्र परिवर्तन भएको तर संस्थामा सँगै हुने बताए । न्यू होराइजनको छवि र शाखमा कमी नहोस् भन्ने सबैमा चिन्ता रहेको भन्दै आचार्यले टिम वर्क, सामूहिक भावना र सिस्टममा संस्था चल्नुपर्ने सुझाव दिए ।
शिक्षक विष्णु प्रसाद बस्यालले उपाध्यायको मित्रवत व्यवहार र सधैं हौसला दिने स्वभावकै कारण संस्था कठिन उतारचढाव पार गर्दै यो उचाइमा पुगेको बताए ।
संस्थाका उपप्राचार्य राजीव श्रेष्ठले २०४६ सालमा आफू न्यू होराइजनको विद्यार्थी रहेको स्मरण गर्दै आफ्नो बुबा स्वर्गीय लालचन्द्र सहित संस्थापक प्राचार्य आरसी आचार्य, निवर्तमान उपप्राचार्य बालकृष्ण भण्डारी, निवर्तमान प्राचार्य लोकनाथ उपाध्याय लगायतको अथक मेहनत,कुशल नेतृत्वले न्यू होराइजन यो उचाइमा पुगेको स्मरण गरे । उप प्राचार्य श्रेष्ठले विद्यालयको स्थापनादेखि हालसम्मको यात्राका क्रममा भएका संघर्ष, कठिनाई र निवर्तमान प्राचार्य तथा उपप्रार्यले गरेको योगदान सम्झिंदा पटक पटक गला अवरुद्ध गर्दै भावुक बनेका थिए ।
होराइजन जीबीएसका प्राचार्य गोपाल प्रसाद आचार्यले प्रशासनिक कुशलताको मानक लोकनाथ उपााध्याय भएको चर्चा गर्दै उनको कार्य शैलीलाई सम्झेर आफूले काम गर्ने गरेको बताए । उहांहरुको नेतृत्व क्षमता र अनुभवलाई पछिल्लो नेतृत्वले अनुशरण गरेर जानु पर्ने भन्दै उनले समग्र संस्थाहरुलाई जोडेर उच्च शिक्षामा थप काम गर्न एकीकृत रणनीति र कार्य योजना बनाएर जान आवश्यक रहेको आचार्यले औंल्याए ।
बुटवल मोडेल कलेज कटैयाका क्याम्पस प्रमुख डा. नेत्र प्रसाद बस्याललें निवर्तमान प्राचार्य उपाध्यायमा मानव व्यबहार बुझेर जिम्मेवारी दिन सक्ने,शिक्षक–कर्मचारीको निष्पक्ष मूल्यांकन गर्न सक्ने, उत्प्रेरणा प्रदान गर्ने गुण र क्षमता भएको तथा दुबैजना पथ प्रदर्शक अभिभावक भएको बताए ।
न्यू होराइजन पाल्पाका प्राचार्य डासुराम पन्तले निजी विद्यालय चलाउन लोकनाथ सरले सिकाउनुभएको चर्चा गरे । संस्थालाई उहांहरुको योगदान अझैं आवश्यक हुने र भूमिका मात्र फेरिएको पन्तले टिप्पणी गरे ।
शिक्षक विष्णु प्रसाद बस्यालले निवर्तमान प्राचार्य उपााध्यायको कुशल नेतृत्व, मित्रवत व्यबहार र सधैं हौसला दिने बानीले धेरै चुनौती र उतार चढाव पार गरेर यो उचाईमा आएको बताए । उपाध्याय न्यू होराइजनको युगपुरुष र बालकृष्ण कविता र साहित्यका अनुकरणीय अगुवा भएको बस्यालले चर्चा गरे । उनले शिक्षण पेशा खुकुरीको धारमा चल्नुपर्ने संवेदनशील पेशा भएको बताए ।
शिक्षिका गीता ज्ञवालीले निवर्तमान प्राचार्य उपाध्याय र उपप्राचार्य भण्डारीको शालीनता, अथक मेहनतबाट संस्थाले यो उचाइ पाएको बताइन् । उपाध्याय, भण्डारी र हालका प्राचार्य वासुदेव अर्याल तीन जनाको हंसिलो व्यवहार र अनुहार तथा तीनजनाको अनुकरणीय एकता र ऊर्जाले शिक्षक कर्मचारीलाई राम्रो गर्न प्रोत्साहन भएको उनले बताइन् । सहयोगी भावना, कुशल नेतृत्व क्षमता अतुलनिय र अनुकरणीय रहेको भन्दै उनले व्यक्तिगत इच्छा चाहना थाती राखेर स्कुल बनाउन लागेको हुंदा राष्ट्रकै अग्रणी संस्था बनेको उनले बताइन् ।
भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष प्राध्यापक विकास श्रेष्ठले लोकनाथ र बालकृष्ण सरको शरीर जहां भएपनि आत्मा न्यू होराइजनमै रहिरहने बताउंदै शिक्षामा लोकनाथ सर कहिल्यै असफल नभएका सफल व्यक्तित्व भएको चर्चा गरे ।
सम्मान समारोह अन्त्यतिर पुग्दा धेरै शिक्षक–कर्मचारीका आंखा रसाएका देखिन्थे । त्यो क्षणले स्पष्ट देखाएको थियो—न्यू होराइजन केवल विद्यालय होइन, भावना, समर्पण, संघर्ष र सम्बन्धले बनेको एउटा विशाल परिवार हो ।




