परासी । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव माथि कागजात किर्ते गरेको र कृषि ऋण अनुदान दुरुपयोग गरेको गम्भीर आरोप लागेपछि पुष्टि गर्न चुनौती दिएका छन् । यादवले पत्रकार सम्मेलनमार्फत् आफूमाथि लगाइएको सार्वजनिक जग्गा अतिक्रमण, सरकारी अनुदान रकम दुरुपयोग तथा किर्ते कागजात बनाएको आरोप पुष्टी गरेर देखाउन चुनौती दिएका हुन् ।
अध्यक्ष यादवमाथि प्रतापपुर–७ झोलनीपुरस्थित गण्डक नहर क्षेत्रको जग्गा अतिक्रमण गरेर पोखरी निर्माण गरेको, सरकारी रकमबाट बाटो तथा विद्युत् विस्तार गरेको र किर्ते कागज प्रयोग गरेर पोखरी निर्माण गरेको गम्भीर आरोप गण्डक भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका सम्पर्क अधिकृत सोभित हलुवाईले सञ्चारमाध्यममार्फत् सम्पर्क अधिकृत हलुवाईले पटक पटक गाउँपालिकाको विकास निर्माणदेखि व्यक्तिगत काममा समेत अवरोध र उजुरी दिँदै आएको बताउँदै अहिले पनि निराधार र व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले आरोप लगाएको अध्यक्ष यादवको भनाइ थियो ।
भूआर्जन अधिकृत हलुवाईले विभिन्न बहाना बनाएर त्रिवेणी ब्यारेजदेखि झोलनीपुरसम्म गण्डक नहरको १९ किलोमिटर क्षेत्रमा हाल अस्थायी पसल गरेर रोजगारी गरिरहेका गरिब समुदायलाई हटाउन प्रपञ्च रचेको यादवले आरोप लगाए । उनले गरिब जनताको रोजिरोटी खोसेर विस्थापित गराउने कसैले नपाउने भन्दै उनीहरुको संरक्षणमा आफू सधै लडिरहने बताए ।
उनले आफ्नो पोखरी निर्माण भएको जग्गा नाप जाँच गर्न, सरकारी रकम दुरुपयोगको छानबिन गरी सत्य तथ्य बाहिर ल्याइदिन पनि सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।
आफ्नो नाउँमा ६ कित्तामा रहेको कुल ५ बिघा १३ कट्ठा जग्गाको लालपुर्जा देखाउँदै सोही जग्गामा पोखरी निर्माण गरेको जानकारी दिए । कृषि विद्युतिकरण र पोखरीमा जाने पुल(कल्भर्ट)आफू निर्वाचित हुनअघिकै जनप्रतिनिधिहरुले गाउँका सबै किसानहरुका निम्ती लगाइएको, ट्रान्सफर्मर प्रदेश सरकारको अनुदानबाट लगाइएको र नहरबाट गाउँसम्म जानका लागि आफ्नै व्यक्तिगत ४ कट्ठा जग्गाबाट बाटो खोलिदिएको उनले बताए ।
आफ्नो व्यक्तिगत जग्गामै पोखरी रहेको र किर्ते कागज बनाएर पोखरी बनाएको विषय व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले आरोप लगाइएको उनले बताए । आफूले कृषि प्रयोजनका लागि कृषि विकास बैंकबाट एक करोड ऋण लिएको र त्यो ऋणसमेत दुरुपयोग गरी लिएको भन्नु झनै हास्यास्पद रहेको बताए । राजनीतिक प्रतिशोध र भ्रमको खेती रहेको भन्दै अध्यक्ष यादवले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार, कपोलकल्पित र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका छन् ।
आफ्नो लोकप्रियता र गाउँपालिकामा भइरहेको विकास निर्माणको कामलाई सहन नसकेर विपक्षीहरूले भ्रम फैलाउन खोजेको उनको तर्क छ ।
‘यदि मैले कुनै पनि किसिमको सरकारी रकम दुरुपयोग वा कागजात किर्ते गरेको प्रमाणित भए म सजाय भोग्न तयार छु । तर विना प्रमाण मेरो र मेरो ओहोदाको बद्नाम गर्नेहरू विरुद्ध म कानुनी उपचारमा जानेछु ।’–उनले भने । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य कुनै पनि नियामक निकायले गर्ने निष्पक्ष छानबिनलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कृषि सहकारी वा बैंकबाट लिइएको ऋण र अनुदानको विषयलाई लिएर मिडियामा आएका समाचारहरूमा सत्यता नरहेको उनले बताए । उनले नियमसंगत रूपमा भएका प्रक्रियाहरूलाई तोडमरोड गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको उल्लेख गर्दै सम्बन्धित निकायहरूबाट सत्यतथ्य छानबिन गराउन आफू तयार रहेको पनि चुनौती दिएका छन् ।




