बुटवल । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवल अटो इन्जिनियरिङ एशोसिएसन रूपन्देही ले बुटवल–८ शिवनगरस्थित नन्दनी गौशाला मा पशु आहार तथा खाद्यान्न सामग्री सहयोग गरेको छ ।
एशोसिएसनका सचिव मनिष पाण्डेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा उद्योग उपाध्यक्ष धुर्बराज भुसाल, कार्यसमिति सदस्य यदुमणि पंगेनी तथा लेखापाल अर्जुन थारूको सहभागिता रहेको थियो । टोलीले गौशालामा पुगेर गाईलाई दाना खुवाउनुका साथै विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
गौशालालाई भेली २० किलो, दालबोडीको बोक्रा १०० किलो, दाना ७५ किलो, चापट ४० किलो तथा एक पिकअप मकैको डाँठ सहयोग गरिएको एशोसिएसनले जनाएको छ ।
एशोसिएसनका पदाधिकारीहरूले मानव सेवासँगै पशु संरक्षण पनि समाजको महत्वपूर्ण दायित्व भएकाले गौशालालाई सहयोग गरिएको बताएका छन् । उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीयस्तरमा सक्रिय संघसंस्थाबाट हुने यस्ता सहयोगले गौ संरक्षण अभियानलाई थप ऊर्जा मिल्ने विश्वास गरिएको छ ।




