मूल विषय र उद्देश्य समृद्धि हुनुपर्ने हो
पृष्ठभूमि
झपेन्द्र जिसी
सरकार मूल विषय र उद्देश्यबाट लर्किएको छ । तिमी पुत्ताउँदै आयौं । अब पुत्ताउन बन्द गरी विकास र निर्माणमा लागि दलित भनिएका जातिसँग माफी मागेर पुग्दैन खोट कहाँनेर छ ? धर्ममा, संस्कारमा र सामाजिक प्रवृत्तिमा ।
एउटी युरोपतिरकी गोरी नानीलाई बिहे गरी ल्यायो भने समाज र परिवार गौरवान्वित हुन्छ । तर गाउँघरकी नेपाली दलित चेलीसँग प्रेम विवाह गरे समाजले, परिवारले सहन्न । उनीहरु दुवैको विचल्लीको दिन सुरु हुन्छ । सरकार ! तिमीले भनौला कारबाही हुन्छ । कारबाही गर्छु । तिमीले जानेको यही हो । दण्डा चलाएर पनि हुँदैन । खोइ सामाजिक रुपान्तरमा के गर्दैछौं ?
युवा रोजगारको कुरा गरेकै थियौें, खोई स्वरोजगारसम्बन्धी कार्यक्रम के बनायौं ? देखिंदैन त ? महिला र बालबालिकाहरुको उत्थान र सम्मानका लागि के गर्दै छौं त ? कुरा धेरै छन् जेष्ठ नागरिकका सम्बन्धमा के गर्दैछौं ? उद्योगधन्दा खोल्ने भन्थ्यौं, यससम्बन्धी ठोस योजना के बन्यो त ? वीरबलको खिचडी पकाएझैं गरेर हुँदैन, सर्वप्रथम पुत्ताउने र भत्काउने काम बन्द गर । पुत्ताउँदै र भत्काउँदै आएको हो, यसले देश समृद्ध बन्दैन, गरिब दुःखीहरु झन् गरिब र दुःखी मात्र हुनेछन्, होइन र ? यसै पृष्ठभूमिमा दुई चार आखिर कोरौं है ?
सुशासनको गुञ्जनका साथ धुवाँ निस्कियो । अग्निज्वाला ननिस्की धुवाँ कहाँ आउँथ्यो र ? कुइरी मण्डल धुवाँ साथ उठेको अग्निज्वालाले अत्यन्त संवेदनशील सम्पदा बोकेका दरबार महल र अनेक संरचनालाई खरानी पा¥यो । सर्वत्र चिल्लीविचल्ली हाहाकार भयो । ती संरचनामा बस्नेहरु लखेटिए र नयाँ झिल्के अनुहारहरु मिलिक्क देखा परे । सत्तासीन भएपछि सुशासनका चमत्कार गरिनेछ भन्ने भोँपा लाएको सुनिन्थ्यो ।
सुशासनको कीर्तन गर्दै फेरि धुवाँ पुत्ताउँदै डोजरहरु दौडे । सुकुम्वासी जगका घर टहरा भत्काइए । निर्जीव डोजरलाई दया माया हुने कुरा भएन । त्यसैले तीव्र वेगका साथ धुवाँ पुत्ताउँदै डोजरहरु दौडिरहेका छन् ।
हाम्रा घर टहरा नभत्काइदे डोजर साहेव ! हामी कहाँ बस्ने के खाने ? दया गर भनेर डोजरहरुसँग मूर्दावादको स्वर उरालेर हुलका हुल दौडिरहेका छन् । तर सुनिदिने कोही छैन । डोजर मालिक बोल्दैन । बोल भनेर संसदमा होहल्ला छ । तर सालिक बरु बोल्ला ऊ बोल्दैन । कहाँ छ ? अन्तपुरमा छ कि कहाँ छ ?
सुनिएको छ ती घरबारविहीनलाई होल्डिङ्ग सेन्टरमा राखिएको छ । खानका लागि मासिक १५ हजार दिने रे । फेरि घर बनाउन २५ हजार रुपैयाँ दिने रे ।
प्रश्नकर्ताहरुले प्रश्न गर्छन् । २५ हजार रुपैयाँमा घर कहाँ बन्छ र ? यो महँगीको समयमा १५ हजारले कसरी खाने ? होल्डिङ्ग सेन्टर कवाडी खाना होइन मान्छेलाई यसरी राख्न हुन्छ कि हुँदैन ? मानवअधिकारवादी र नागरिक अगुवाहरुको प्रश्न छ ।
तै पनि डोजर मालिक भन्छ– हामी व्यवस्था गर्छौं । विगतका शासकले कुशासन गरे हामी सुशासन गछौं । सुशासन गर्दैछौं ।
अब बर्खायाम सुरु हुँदैछ । बर्खा कसरी टार्ने होल्डिङ्ग सेन्टरमा कति दिन बस्ने ? श्रीमान श्रीमती बालबच्चाहरुको अलग अलग आवश्यकता हुन्छ । तर होल्डिङ्ग सेन्टरबाट ती आवश्यकता पूरा कसरी हुन्छन् । दुःख बुझेकाले दुःखीको कुरा बुझ्न सक्छन् । दुई अढाइ किलोग्रामको सुनधारीले गरिबको मर्का कसरी बुझ्ने ? बुझन सक्दैनन् ।
के गर्नुपर्ने थियो ? के भयो ? कुन पाप गरियो र यस्तो हुँदैछ ? गरिब दुःखीले गहभरि आँसु काढेर धरधरी रुँदैछन् । तर सुनपति डोजर मालिकलाई के थाहा ? भन्दैछ, सुशासन हुँदैछ । समर्थकहरु ताली लाउँदैछन् र रमाउँदै छन् । कस्तो वर्गीय विभेद हो ? लोकतन्त्र गणतन्त्र आउँदा पनि गरिबको अवस्थामा झन् भन्दा झन् कुठाराघात !
हालै सम्पन्न निर्वाचनमा हाल पीडित मानिसहरु त्यही डोजरतिरै घोप्टिए । जिताए ।
तिनै पीडित हुन परेका मानिसहरुले जितेपपछि हिपहिप हुर्रे भनी उफ्रिए, गिदाए, नाचे, हाँसे, रमाए । घरघरमा घण्टी बजाए ।
घण्टी बज्नुलाई शुभ मानिन्छ, नेपाली समाजमा । तर यहाँ त अहिले घण्टी बजाइयो भन्छन् ती डोजरमा परेकाहरु ।
ग्रिन पार्टी अमेरिकामा छ । त्यसको झण्डा नीला रंगको हुन्छ । चुनाव चिन्ह पनि उसको घण्टी नै छ । अहिले त यहाँ पनि झण्डाको रंग निलो र चुनाव चिन्ह पनि नीलो छ । किन होला भन्छन् ती पीडितहरु ? यो राजनीतिक अवस्था र डोजरहरुको कुरा हो । भन्नेले भन्छन् डोजर आतंक । कसरी डोजर आतंक डोजर त्यसै घर टहरा भत्काउन जाँदैन । धुवाँ पनि निकाल्दैन ।
डोजर चलाउने चालक हुन्छ । चालकले सडकमा चलाए सडकमा चल्छ । जताततै घर टहरामा चलाए त्यतै चल्छ । चालक चलाउने पनि महाचालक हुन्छ । महाचालक भनेको वर्तमान शासक वर्ग नै हो । महाचालकलाई यदाकदा फोटोमा देखिए पनि नजिकबाट देखिएको छैन । बालेन्द्र शाह हो भन्छन्– दाडी पनि पाल्दा रहेछन् । त्यसो त आजकाल दाडी पाल्ने संस्कृति बढेको छ । यसमा के टिप्पणी गर्नु र !
माथि पनि उल्लिखित भइसकेको छ, डोजरबाट पीडितलाई होल्डिङ्ग सेन्टरमा राखिएको छ । प्रति परिवार १५ हजार रुपैयाँ र घरबास व्यवस्थापनका लागि २५ हजार रुपैयाँ, यति मात्र कहाँ हो र एक परिवारमा ५ जना भन्दा बढी भए प्रति परिवार १५०००+२००० रुपैयाँ सरकारले उपलब्ध गर्ने रे । कस्तो मज्जा !
नयाँ पूर्वाधार विकास थालनी होलान् यो त दोस्रो श्रेणीको कुरा भयो । निर्माण भइसकेका सडकहरु भत्किदा, बिग्रिदालाई कति बजेट छुट्टयाउने होला ?
जेनजी विद्रोहका क्रममा भत्काइएका, पोलिएका, खरानी पारिएका संरचनाहरु, व्यक्तिको कुरै छोडौं, सार्वजनिक सम्पदा–संरचनाहरु निर्माण गर्न कति खरब ? कति अरब, कति करोड लाग्ला ? बजेट विनियोजन गर्ने कि नगर्ने ? स्रोत कति छ ? ऋण लिएर चल्दैन ।
परराष्ट्र मन्त्री शिशिर खनालले नेपाललाई अति विकासशील देशकै स्तरमा कायम राख्नु पर्छ, विकासशीलबाट उन्नत चरणको स्तर वा उन्नत शीलमा नराखियोस् भनेर संयुक्त राष्ट्र संघलाई पत्र लेखेको सार्वजनिक भएको छ । नयाँ भनेर आएको शक्तिले देशलाई उन्नतितिर लैजाने हो भने जेनजी विद्रोह किन गराएको छ । त्यो विद्रोह गराउन वर्तमान शासक गुटकै हात थियो भने सार्वजनिक भइसकेको छ ।
विकास र निकासभन्दा पनि यहाँ त बकवासको खेती पो देखियो । बकवास खेती नगरे कसो हुन्छ ?
अन्त्यमा अब शासक गुटले भत्काउने काम बन्द गरी निर्माण र व्यवस्थापनमा लागे राम्रो हुन्थ्यो, सम्पदा दहनमा होइन, संरक्षणमा लाग्नु नै आजको बुद्धिमानी हुन्थ्यो, सुकुम्वासी होस् कि खाने पुग्ने होऊन मान्छेलाई मान्छेको व्यवहार गरे राम्रो हुन्थ्यो ।
पहुँचवालाले सरकारी जग्गामा घर बनाएका छन् भने तिनीहरुबाट निश्चित दररेटको आधारमा राजस्व संकलन गरी सुकुम्वासीको घर निर्माण गर्नमा सघाए हुने थियो । अत्यन्तै संवेदनशील नदी किनारामा घर टहरा छन् भने तिनीहरुलार्ई अन्यत्र स्थानान्तरण गरी व्यवस्थापन गर्नु पनि राज्यको दायित्व हो ।




