बुटवल । ब्युटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका आधुनिक प्रविधि, नयाँ उत्पादन र प्रयोग विधिबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद्देश्यले बुटवलमा एडभान्स्ड एस्थेटिक्स तथा हेयर स्टाइलिङ सम्बन्धी एकदिने सेमिनार सम्पन्न भएको छ।
समृद्धि सलोन एन्ड एकेडेमीको आयोजनामा सम्पन्न सेमिनारमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य क्षेत्रबाट आएका ब्युटिसियन तथा हेयर स्टाइलिस्टहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आधुनिक ब्युटी प्रविधि, उत्पादनको सही प्रयोग विधि तथा गुणस्तरीय र कम गुणस्तरका उत्पादन छुट्याउने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
समृद्धि सलोन एन्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले ब्युटी क्षेत्रमा दैनिक नयाँ टेक्निक र उत्पादन भित्रिरहेकाले व्यवसायीलाई समयअनुसार अपडेट राख्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले “ग्रो टुगेदर” अवधारणाअनुसार नयाँ सीप र प्रविधि बजारमा आउनेबित्तिकै तालिम तथा सेमिनार सञ्चालन गर्दै आएको उल्लेख गरे।
सेमिनारमा मुख्य रूपमा ‘डाक्टर स्किन’ फेसियल किटको सही प्रयोग, यसको नयाँ अपडेट तथा ‘सेल्भेरा प्रो न्यानोप्लास्टिया’ सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो। कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिकी चन्द्रकला छन्त्याल रानाले बजारमा उपलब्ध अन्य उत्पादनको तुलनामा ‘सेल्भेरा प्रो न्यानोप्लास्टिया’को विशेषता र प्रभावकारी प्रयोगबारे सहभागीलाई जानकारी गराएकी थिइन्।
कार्यक्रममा कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिका अध्यक्ष हरि अधिकारीले कम्पनीले उत्पादन गर्दै आएका जडीबुटीयुक्त कस्मेटिक्स सामग्रीको गुणस्तर र बजार विस्तारबारे जानकारी दिए। उनले कम्पनीले विगत १६ वर्षदेखि नेपालमै जडीबुटीमा आधारित सौन्दर्य सामग्री उत्पादन गर्दै आएको बताए।
हाल कम्पनीले ‘डाक्टर स्किन’ ब्राण्ड अन्तर्गत फेसियल किट तथा कपाल उपचारका लागि प्रयोग हुने न्यानोप्लास्टिया बजारमा ल्याएको जनाएको छ। कम्पनीले आफ्नै ब्राण्डका साथै अन्य कम्पनीका लागि थर्ड पार्टी म्यानुफ्याक्चरिङमार्फत समेत सामग्री उत्पादन गर्दै आएको जानकारी दिइयो।
कम्पनीका सञ्चालक दिपेश श्रेष्ठका अनुसार कुमकुम हर्बलद्वारा उत्पादित सामग्री नेपालका विभिन्न बजारसँगै मलेसिया, दुबई, सिंगापुर, कतार र क्यानाडासम्म निर्यात हुँदै आएको छ।
पूजा पन्थीको सञ्चालनमा सम्पन्न सेमिनारमा कपिलवस्तु, दाङ, बाँके, नवलपरासी, रुपन्देही, पाल्पा र स्याङ्जालगायत जिल्लाबाट सहभागी भएका ब्युटिसियन तथा हेयर स्टाइलिस्टहरूले आधुनिक प्रविधि र उत्पादनबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए।




