बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ सिद्धार्थचोकमा पुरुषोत्तममास माहात्म्यम् शुरु भएको छ । मलमास पनि भनिने पुरुषोत्तममासको परम्परागत र धार्मिक मान्यताबारे समाजलाई स्पष्ट जानकारी गराउने र दान संकलन गरेर नवदुर्गा कोटघर मन्दिरको भौतिक पुर्वाधार सुधार गर्ने उद्देश्यले माहात्म्यम् कार्यक्रम आयोजना गरिएको हो ।
नवदुर्गा कोट घर मन्दिर समितिको आयोजनामा जेठ १८ गतेसम्म चल्ने गरी मन्दिर परिसरमा बिहीबार देखि माहात्म्यम शुरु भएको छ ।
माहात्म्यम शुरु हुनु अघि मन्दिर परिसरबाट झांकी सहित शोभा कलश यात्रा भएको थियो । कलश यात्रा सिद्धार्थचोक, प्रगतिचोक, शान्तिनगर, प्रेमनगर, शिवचोक हुंदै मन्दिर परिसरमा आएर टुंगिएको थियो ।
कलश यात्रा समापनपछि एक कार्यक्रमबीच पुरुषोत्तममास माहात्म्यम्को लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणि पाण्डेले उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै उहांले यस्ता धार्मिक कार्यक्रमले समाजलाई अनुशासित र सकारात्मक बनाउने बताउनुभयो ।
कार्यक्रममा महायज्ञका आर्थिक संयोजक हरिप्रसाद कंडेलले स्वागत गर्दै २०३५ सालमा स्थापना भएको नवदुर्गा कोटघर मन्दिरको भौतिक पुर्वाधार सुधार गर्ने उद्देश्यले माहात्म्यम् कार्यक्रम आयोजना गरिएको हुंदा सबैले स्वेच्छिक दान गरेर कार्यक्रम सफल बनाउन अनुरोध गर्नुभयो ।
उद्घाटन कार्यक्रममा तिलोत्तमा १ का वडाध्यक्ष फर्सुराम गिरी,वडा सदस्य विणु पाण्डे लगायतले बोल्नुभएको थियो । पांच दिनसम्म चल्ने माहात्म्यम् कार्यक्रम प्रमुख वाचकमा प्रकाश तिवारी र सहायक वाचकमा पण्डित बालकृष्ण न्यौपाने रहनुभएको महायज्ञका संयोजक थानेश्वर कंडेलले जानकारी दिनुभयो । पुरुषोत्तममास माहात्म्यम् अन्तर्गत हरेक दिन राष्ट्रिय भजन गायक नारायण गौतम लगायतका कलाकारहरुको प्रस्तुतिले कार्यक्रम संगीतमय हुने मन्दिरका अध्यक्ष शंकर प्रसाद कंडेलले बताउनु
भयो ।




