पाल्पा । नेपाल परिवार नियोजन संघ तानसेन पाल्पाले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सेवा विस्तार गरेको छ । सर्वसाधारणको बदलिँदो जीवनशैली र व्यस्ततालाई मध्यनजर गर्दै संस्थाले नियमित कार्यालय समय बाहेक बिहान र साँझको समयम समेत क्लिनिक सेवा सुरु गरेको छ ।
दिनभर घरायसी काम, जागिर वा व्यवसायमा व्यस्त रहने सेवाग्राहीहरू समय अनुकल स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल परिवार नियोजन संघ पाल्पाले बिहान र बेलुकाको समयमा क्लिनिक सञ्चालन गर्ने नौलो अभ्यास थालेको हो । कार्यालयमा काम गर्ने कर्मचारीदेखि उद्योगी व्यापारीहरुको लागि तथा दिउँसोमा समय निकाल्न नसक्नेहरूका लागि बिहानी तथा सन्ध्याकालीन क्लिनिक प्रभावकारी हुने तानसेन ४ की शर्मिला थापाले बताइन् ।
विपन्न तथा पहुँचविहीन नागरिकलाई लक्षित गरी नेपाल परिवार नियोजन संघ पाल्पाले यौन रोग उपचारदेखि जटिल प्रकृतिका क्यान्सर स्क्रिनिङसम्मका सेवाहरू एउउटै स्थानबाट उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीले प्रजनन् स्वास्थ्यसम्बन्धी सामान्य स्वास्थ्य परीक्षणदेखि अत्याधुनिक प्रयोगशाला परीक्षण सेवा नेपाल परिवार नियोजन संघबाट पाउँदै आएका छन् ।
पछिल्लो समय महिलाहरूमा पाठेघरको मुखको क्यान्सर मुख्य स्वास्थ्य चुनौतीका रूपमा देखा परिरहेको अवस्थामा संस्थाले विशेष रोकथाम तथा उपचार सेवा गर्दै आएको छ । संस्थाले पाठेघरको मुखको क्यान्सर पहिचानका लागि भिआए टेस्ट सेवा समेत कार्यालयबाट प्रदान गर्दै आएको छ ।
संघले प्रारम्भिक जाँचमा समस्या देखिएका बिरामीहरूका लागि रोकथाम र उपचारको रुपमा क्रायो थेरापी र थर्मो कोगुलेसन थेरापी सेवा समेत प्रदान गर्दै आएको छ । यो सेवाले विपन्न महिलाहरू उपचारका लागि महँगा निजी अस्पताल वा जिल्लाबाहिर जानुपर्ने बाध्यता हटाइदिएको छ । यसै गरी, युवा तथा किशोरावस्थाको प्रजनन् स्वास्थ्यलाई प्राथमिकतामा राख्दै संस्थाले किशोर–किशोरीमैत्री परामर्श तथा प्रजनन् स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य क्षेत्रमा गोप्यता र परामर्शको ठुलो महत्व हुने भएकाले संस्थाले स्वेच्छिक रूपमा एच.आई.भी. परामर्श तथा परीक्षण सेवा समेत सञ्चालनमा ल्याएको छ । यसका साथै, विशेषज्ञबाट मात्र गर्भपतन, जाँच तथा अत्याधुनिक भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा समेत सुचारु रहेको छ । यौन रोगबाट ग्रसित बिरामीहरूका लागि विशेष र गोप्य ‘यौन रोग उपचार सेवा’ समेत संस्थाको प्राथमिकतामा रहेको छ ।
हाम्रो मुख्य उद्देश्य नागरिकलाई घरदैलोमै विशेषज्ञ र भरपर्दो स्वास्थ्य सेवा दिनु हो, कार्यालय समयमा व्यस्त रहने कर्मचारी, उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई ‘बिहानी तथा सन्ध्याकालीन क्लिनिक’ समेत सञ्चालनमा ल्याएका छौँ, यो सेवाले गर्दा आपतकालीन स्वास्थ्य समस्यामा बाहेक कसैले पनि काम छोडेर स्वास्थ्य उपाचार जानुपर्ने बाध्यता हटेको संघका कार्यालय प्रमुख शोवाकान्त न्यौपानेले बताए ।
आम नागरिकको लागि अधिकांश सेवाहरु निःशुल्क र केही न्यून सेवा शुल्कमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको संस्थाका कोषाध्यक्ष माधव अर्यालले बताए । प्रयोगशाला, भिडियो एक्सरे र क्यान्सर रोकथामका थेरापीहरूलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने बजेट तथा व्यवस्थापकीय पाटोमा कार्यसमिति लागिपरेको संघका कोषाध्यक्ष माधव अर्यालले बताए । संघले विशेषज्ञ सेवाहरू, सेवाग्राही अनुकुल समयमा सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध दिन थालेपछि आमनागरिकहरु उत्साहित भएका छन् । संघले नागरिकलाई नियमित रुपमा स्वास्थ्य परीक्षण गरी सम्भावित जोखिमबाट बच्न अनुरोध गरेको छ ।
संघले वि.सं. २०५४ सालदेखि पाल्पा जिल्लामा निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको छ । संघले तानसेनको मुख्य कार्यालय माथागढी गाउँपालिका–३, कसेनीमा र सामुदायिक क्लिनिक बगनासकाली गाउँपालिका–८, बराङ्दीमा साप्ताहिक क्लिनिक, यसका अतिरिक्त, तानसेन नगरपालिका, माथागढी, रिब्दीकोट तथा बगनासकाली गाउँपालिकाहरूमा सामुदायिक परामर्शदाता तथा प्रजनन् स्वास्थ्य स्वयंसेविकामार्फत् सेवा प्रवाह भइरहेको छ । जिल्लाका सम्पूर्ण स्थानीय तहहरूसँगको समन्वय तथा स्वास्थ्य कार्यालयको सहकार्यमा स्थायी बन्ध्याकरण सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ) शिविरहरू सञ्चालन गरी जिल्लाभरि प्रभावकारी रूपमा सेवा प्रदान गर्दै आएको छ ।




