बुटवल
बुद्धजन्मस्थल लुम्बिनीमा हरेक वर्ष लाखौं पर्यटक आउँछन् । तर तीमध्ये धेरैले रुपन्देहीको अर्को ऐतिहासिक सम्पदा जितगढी किल्ला देख्दैनन्, बुद्धको मावली देवदह पुग्दैनन्, मणिमुकुन्द उद्यानको इतिहास सुन्दैनन् र बसन्तपुर तथा नुवाकोट हिल स्टेशनमा पुग्ने लुम्बिनी र सिद्धार्थ केबलकारबारे पनि थाहा पाउँदैनन् । परिणामतः लुम्बिनीमा पर्यटकको भीड आउँछ, तर त्यसको आर्थिक लाभ बुटवल र देवदहसम्म पुग्न सक्दैन ।
यस्तो अवस्थालाई बदल्ने उद्देश्यसहित रुपन्देही उद्योग संघले आयोजना गरेको ‘रुपन्देहीमा पर्यटन उद्योगका सम्भावना र चुनौती’ विषयक गोष्ठीमा अब लुम्बिनी, देवदह, जितगढी किल्ला, मणिमुकुन्द उद्यान, दुई केबलकार र तिनाउ करिडोरलाई एउटै पर्यटन सञ्जालमा जोड्ने अवधारणा अघि सारिएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुमन घिमिरेले लुम्बिनीलाई आधार बनाएर बुटवल, तिलोत्तमा र देवदहसम्म पर्यटक विस्तार गर्न सकिए पर्यटन उद्योगले नयाँ उचाइ प्राप्त गर्ने बताए । उनका अनुसार पर्यटक संख्या बढाउनु मात्र होइन, उनीहरूलाई बढी समय बस्ने वातावरण तयार गर्नु अहिलेको मुख्य चुनौती हो ।
हाल नेपालमा विदेशबाट आउने पर्यटकको बसाई औसत १६ दिनभन्दा बढी रहेको तर लुम्बिनी आउने पर्यटकको बसाई अवधि केवल डेढ दिनमात्र रहेको भन्दै यसलाई लम्ब्याउने गरि योजना ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।
रुपन्देहीको विशेषता भनेकै एउटै जिल्लामा विविध पर्यटन सम्पदा हुनु हो । विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी धार्मिक पर्यटनको केन्द्र हो भने देवदह बुद्धको मातृपक्षसँग जोडिएको ऐतिहासिक स्थल हो । जितगढी किल्ला नेपाली वीरताको प्रतीक बनेको छ भने मणिमुकुन्द उद्यानले सांस्कृतिक र ऐतिहासिक विरासत बोकेको छ । बुटवलको गोलपार्कबाट पाल्पाको बसन्तपुरसम्म हिल स्टेशनमा १२ मिनेटमै पुगिने लुम्बिनी केबलकार र पारी बुटवलमाथि नुवाकोटसम्म पुग्ने सिद्धार्थ केवलकार बुटवलको पर्यटनका लागि नयाँ र आकर्षक गन्तव्य हुन् ।
यी सम्पदालाई छुट्टाछुट्टै होइन, एउटै प्याकेजमा समेटेर प्रस्तुत गर्न सके पर्यटकले एकै यात्रामा धर्म, इतिहास, संस्कृति र प्रकृतिको स्वाद लिन सक्नेछन् । बुटवल उप–महानगरपालिकाले आफूलाई पर्यटनको प्रवेशद्वार शहरका रूपमा विकास गर्ने रणनीति अघि सारेको छ ।
बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई प्रदेशकै प्रमुख प्रवेशद्वार शहरका रूपमा विकास गर्ने रणनीतिअन्तर्गत पर्यटन पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको जानकारी दिए । उनले जितगढी किल्ला, मणिमुकुन्द उद्यान, सिद्धबाबा क्षेत्र र तिनाउ करिडोरलाई व्यवस्थित गर्दै पर्यटनसँग जोड्ने योजनाहरू अघि बढाइएको बताए ।
उप–प्रमुख सावित्रादेवी अर्यालले पर्यटन विकासमा स्थानीय समुदायको भूमिका निर्णायक हुने बताइन् । पर्यटनले स्थानीय जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्नुपर्ने उल्लेख गर्दै उनले महिला उद्यमशीलता, स्थानीय संस्कृति, कला र परम्परागत परिकारलाई पर्यटनसँग जोड्नुपर्ने धारणा राखिन् ।
देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले बुद्धको मातृपक्षसँग सम्बन्धित देवदहको ऐतिहासिक महत्व अन्तर्राष्ट्रिय रूपमा अझैँ पर्याप्त प्रचार हुन नसकेको बताए । बुद्धकालीन सभ्यता र इतिहाससँग जोडिएका सम्पदाको संरक्षण तथा विश्वस्तरमा प्रचारका लागि विशेष कार्यक्रम आवश्यक रहेको उनले उल्लेख गरे ।
लुम्बिनी विश्वविद्याल
यका उप–प्राध्यापक डा. श्रीप्रसाद भट्टराईले अहिले रुपन्देहीको पर्यटनको स्थिति अस्तित्व रक्षाको अवस्थामा रहेको बताए ।
उनले निर्वाहमुखी पर्यटन व्यवसायको मोडेलबाट फड्को मारेर पूर्ण व्यवसायिक बन्नुपर्ने सुझाए ।
सन् २०२४ मा नेपालमा ११ लाख ७० हजार मात्र पर्यटक आएको तथ्यांकले नेपालमा पर्यटन व्यवसाय अस्तित्व रक्षाको अवस्थामा रहेको प्रमाण भएको डा. भट्टराईले स्पष्ट पारे । उनले सने २०३५ सम्मको पर्यटन रणनीतिक योजना बनाउन सरोकारवालालाई सुझाए । रुपन्देहीमा स्पा, मसाज आदि स्वास्थ्यसँग जोडिएको वेलनेस टुरिजमको पनि राम्रो सम्भावना रहेको भन्दै त्यसलाई गुणस्तरीय, व्यवस्थित र मर्यादित बनाउन आग्रह गरे । यसमा काम गर्ने जनशक्तिलाई एकेडेमिक सर्टिफिकेटयुक्त बनाउन उनले सुझाव दिए ।
पर्यटनलाई अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनसँग जोड्नुपर्ने धारणा राखे । पर्यटन उद्योगको दीगो विकासका लागि शैक्षिक संस्थाहरूले अनुसन्धानमा आधारित ज्ञान उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।
मणिमुकुन्द उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले ऐतिहासिक सम्पदाको संरक्षणबिना पर्यटनको दीगो विकास सम्भव नहुने बताए । उनले जितगढी किल्ला र मणिमुकुन्द उद्यान जस्ता सम्पदाको संरक्षणमा राज्यले अझ बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल टुर्स एण्ड ट्राभल एजेन्ट्स एसोसिएसन (नाट्टा) लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले लुम्बिनीमा पर्यटक आगमन बढ्दो क्रममा रहे पनि बसाइ अवधि र खर्च बढाउन नसकिएको चुनौती रहेको बताए । प्रभावकारी पर्यटन प्याकेज, अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र गुणस्तरीय सेवाले मात्र यस समस्याको समाधान गर्न सक्ने उनको धारणा थियो । सरकारी नीति र कानून पर्यटन विकासको बाधक भएको गुनासो गर्दै उनले अब मास टुरिजम कि लक्जरियस टुरिजमलाई प्राथमिकता दिने भन्ने छनौट गर्ने बेला आएको बताए ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले लुम्बिनी प्रदेश धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे । तर ती सम्भावनालाई उपलब्धिमा बदल्न संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताए ।रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पर्यटन उद्योगलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताए । पर्यटनमैत्री पूर्वाधार, लगानीको सुरक्षा र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो ।
संघका वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेले रुपन्देहीमा चीन र भारत जस्ता विशाल जनसंख्या भएका मुलुकबाट बौद्ध र हिन्दु धर्मावलम्बी पर्यटक भित्राउन सकिने औंल्याए ।
महासचिव सुमन बस्यालले लुम्बिनी–बुटवल–देवदह–जितगढी किल्ला–तिनाउ करिडोरलाई समेटेर पर्यटन सर्किट विकास गर्न सके रुपन्देहीलाई अन्तर्राष्ट्रियस्तरको गन्तव्य बनाउन सकिने धारणा राखे ।
कार्यक्रममा युवराज कंडेल, प्रदीप आचार्य लगायतले पनि आफ्ना धारणा राखेका थिए ।
गोष्ठीले राज्यको नीति र कानुनी जटिलतालाई हटाउनु पर्नेमा जोड दिएको छ ।
गोष्ठीको निष्कर्ष रुपन्देहीसँग धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटनका लागि आवश्यक सम्पदाको कमी छैन भन्ने रहेको थियो । अब तिनलाई एउटै सूत्रमा बाँध्ने दूरदर्शी योजना, व्यवस्थित पूर्वाधार, प्रभावकारी प्रचारप्रसार र साझा प्रतिबद्धताको खांचो रहेको गोष्ठीले निश्कर्ष निकालेको संघका कोषाध्यक्ष विशाल बेल्बासेले बताए । सैद्धान्तिक कुरा र प्रतिवेदनले मात्र पर्यटन क्षेत्रमा सुधार हुन नसक्ने हुंदा कार्यान्वयन तहमा रहेका समस्या समाधान र समय सापेक्ष नीतिसंगै तीन तहका सरकारबिचको अधिकारको अस्पष्टता हटाउन गोष्ठीले माग गरेकाले सोही अनुसार अघि बढ्नुपर्ने रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले बताए ।




