उच्च अदालत बार बुटवलमा नयाँ नेतृत्व
बुटवल । उच्च अदालत बार एशोसिएशन बुटवलमा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनबाट अध्यक्षमा माधवप्रसाद घिमिरे निर्वाचित भएका छन् । निर्वाचनमा घिमिरे ७७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी शर्मलाल पन्थीले ४४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा ओमप्रसाद पंगेनी ६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कमलराज बस्यालले ५४ मत प्राप्त गरेका थिए । सचिवमा लोकप्रसाद खरेल ६९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी शालिकराम तिवारीले ५२ मत ल्याएका थिए । कोषाध्यक्षमा मीना महत जी.सी. तथा सह–सचिवमा निशाकुमारी खरेल निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा बाबुराम न्यौपाने (९९), मुन्नी न्यौपाने (९९), चतुर्भुज पन्थ (१०६), दामोदर घिमिरे (१०९), रामप्रसाद भुसाल (९७), मनोज श्रेष्ठ (१०२), संजिता पौडेल (१०२) तथा कृष्णा रोका (८९) निर्वाचित भएका छन् । ५१ मत प्राप्त गरेका प्रदीप शेरचन पराजित भएका थिए ।
यस्तै, पार्षदहरूमा टुकराज पाण्डे, सिर्जना थापा, यमुना गुरुङ, विद्या घिमिरे, विष्णुप्रसाद भट्टराई, प्रकाशकुमार नेपाल, जीवनारायण अधिकारी र उद्धवचन्द्र गौतम निर्विरोध निर्वाचित भएका छन् ।
उच्च अदालत बार एशोसिएशनको कार्यसमितिमा विगतदेखि नै कांग्रेस निकट कानुन व्यवसायीहरुको वर्चस्व रहँदै आएकोमा यसअघिका दुई कार्यकाल कांग्रेस निकट र एमाले निकट कानुन व्यवसायीहरु तालमेल गरी निर्वाचनमा गएका थिए ।
यस पटक डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) तथा प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको संगठन (पीपीएलए) र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायीहरुको संगठन (आरपीएलए) समेतका वामपन्थी कानुन व्यवसायीहरुबिच मिलेर निर्वाचनमा जाने सहमति भएको थियो । अध्यक्ष, सचिवसहित पाँच सदस्य डीएलएलाई, उपाध्यक्ष, कोषाध्यक्ष, सह–सचिवसहित तीन सदस्य पीपीएलए, आरपीएलएसहितका वाम दललाई दिने सहमति भएको थियो ।
निर्वाचनमा अध्यक्ष र सचिवमा संस्थापन पक्षसँग असहमति राख्ने कांग्रेस निकट कानुन व्यवसायीहरुले विद्रोही उम्मेदवार खडा गरेका थिए । उपाध्यक्षमा भने विद्रोही कांग्रेस निकट कानुन व्यवसायीहरु समेतको समर्थनमा वाम समर्थक कानून व्यवसायीबाट विद्रोही उम्मेदवार खडा भएका थिए । कोषाध्यक्ष, सहसचिव र आठ जना पार्षदहरु भने निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमा विद्रोही पक्षका कुनै उम्मेदवार विजय हुन सकेनन् ।
सदस्यमा आठ जना आवश्यक रहेकोमा राप्रपा समर्थक प्रदीप शेरचनले समेत उम्मेदवारी दिएपछि सदस्यहरुमा समेत निर्वाचन भएको थियो । निर्वाचनमा प्रदीप शेरचन बाहेकका सबै सदस्य विजयी भएका थिए ।
नवनिर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरूलाई कानुन व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नयाँ नेतृत्वले उच्च अदालत बार एशोसिएशन बुटवलको संस्थागत विकास, कानुन व्यवसायीहरूको हकहित संरक्षण तथा न्यायिक क्षेत्रको सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।




