चाइनिज एउटा अपेरा ‘सेतो नागिनी’ मा स्वर्गकी एउटा नागिनीलाई मान्छेहरुको रहनसहन, बानी व्यवहार बुझ्ने र हेर्ने इच्छाले पृथ्वीमा पठाइएको देखाइएको छ । यहाँ आएपछि उनको एउटा युवकसँग प्रेम हुन्छ । लामो समय त्यही युुवकसँग उनको घुमफिर बसउठ सबै हुन्छ । तर एक दिन एकाएक उनलाई स्वर्गको याद आउँछ । त्यसपछि उनको त्यो मानव रुपी रुप बदलिएर उही पुरानै सर्प नागिन नै रुप देखिन्छ । बल्ल त्यो युवाले बुझ्छ नागिनीसित यस्तो प्रेम गरी यति धेरै वर्ष भुलिएछ । त्यसपछि उ डराउँछ । ओहो ! यो के भयो ? मुर्छा परी बेहोस हुन्छ । ठीक यस्तै स्थिति आज नेपालका प्रधानमन्त्री बालेन शाहले देखाएका छन् र यसबाट घण्टी पार्टीका नेता, कार्यकर्ता र अन्य लाखौं उनका समर्थक जनताहरु माथि भनिएको नागिनीसितको प्रेममा लठ्ठिएका ती युवा जस्तै मुर्छित र बेहोस भइरहेका छन् ।
बितेका चार वर्ष जुन काठमाडौं मेयर बालेन शाह अनि जेनजी आन्दोलनपछिका प्रधानमन्त्रीका प्रत्यासी प्रतिनिधिसभाका उम्मेदवार बालेन हिजो जुन अवस्थामा देखा परेका थिए, तर जब उनी प्रतिनिधिसभा सदस्य सांसद भई प्रधानमन्त्री बने त्यसपछिको उनको रुप र अवस्था ठ्याक्कै फेरिएको छ जस्तो माथि एउटी स्वर्गकी परी नागिनीको रुप जस्तै अर्थात् आकाश पातलको हेरफेर जस्ताको जस्तै पुरानै अवस्थामा ।
हिजो काठमाडौंको मेयर बन्ने बेलामा चमेलीको गीत गाएर गरिब, शोषित, पीडित र भुई मान्छेहरुको मन जिती मेयर भएका बालेनबाट काठमाडौंका जनताले ठूलो आशा गरेका थिए । तर पछि उनले ती सबै जनताको आशाविपरीत उल्टै उनले ती सबैलाई उठिबास लगाउने प्रयत्न गरे । कवाडीहरुको त उठिबास नै गराए । त्यसपछि सुकुम्वासीहरुको उठिबास लगाउन भने सकेनन्, केन्द्र सरकारको असहयोगले त्यसमा उनी असफल भए । तै पनि काठमाडौंका मात्रै होइन पुरै देशका जनताहरुले पनि उनको त्यो राक्षसी कर्तुतलाई बुझ्न सकेनन् उल्टै प्रधानमन्त्रीमा नै विजयी गराई नेपालको प्रधानमन्त्री नै बनाइदिए ।
त्यस्तो प्रधानमन्त्री बनेकै दिनदेखि उनको मूल काम भनेकै प्रतिशोध बदला अनि संघसंस्था र जनवर्गीय संगठन विरोधी निरंकुश शासन सत्ताको सुरुवात गरिहाले । सुकुम्बासी माथिको डोजर आतंक विभिन्न जनवर्गीय संगठनमाथिको प्रतिबन्ध, अदालत माथिको हस्तक्षेप, कसैका कुरा नसुन्ने, एकहोरो सनकको भरमा न दलहरु, संसद अदालत कसैलाई पनि नटेर्ने । हुँदाहुँदै सदनमा प्रस्तुत आफ्नै सरकारी नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा प्रस्तुत भइरहेकै बीचमा एकाएक त्यसलाई बेवास्ता गरी बाहिरिएपछि बल्ल जनतामा केही आशंका पैदा भयो यो प्रधानमन्त्रीको हर्कत, चालचलन र शैलीमा रहस्य के हो ? शंकाको विषय बनी नै रह्यो ।
अझ प्रधानमन्त्री भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई शुभकामना दिँदै तत्काल भारत भ्रमणको निम्ता दिए । त्यसलाई बालेनले स्वीकारे पनि, तर पछि त्यसको औपचारिक पत्र लिई आउने भारतीय विदेश मन्त्रीसित भने प्रत्यक्ष भेटवार्ता नगर्ने भनेपछि त्यसलाई त्यत्तिकै स्थगित गरियो । त्यसपछि केही चिडिएका भारतीय प्रम मोदीले एउटा नयाँ चाल खेले । डायमन कट डायमन अर्थात् फलामले फलाम काट्छ भने जस्तै प्रम बालेनलाई तह लगाउन उनकै पार्टी सभापति रवि लामिछानेलाई आफ्नै पार्टी मातहत भारत भ्रमणको निम्ता दिई पाँच दिने भारत भ्रमण गराउन थाले । बल्ल प्रम बालेनको वास्तविक होस फिर्याे । तब हतार हतार सदनको कुनै पूर्व तालिका विना सदनमा गई सभामुख सामु बोल्नका लागि बालेनले अनुमति मागे । विना संसदीय कार्यतालिका, विना तयारी एकाएक त्यहाँ उपस्थित भई प्रश्न उत्तरको कार्यक्रमप्रति प्रतिपक्षी दलका सभासदहरुको आपत्ति हुँदाहुँदै पनि भारतीय अतिक्रमण नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा माथि गरिएको प्रश्नमा उनले भारतले मात्र होइन म प्रधानमन्त्री भएपछि बल्ल थाहा भयो नेपालले पनि कैयौं ठाउँमा भारतीय भूमि मिचेको रहेछ भन्न भ्याए । भारतले समेत अहिलेसम्म कही कतै यस्तो भनेको थिएन । तर कस्तो अचम्म आजसम्म यस्तो कही कतैबाट पनि थाहा नभएको नयाँ जानकारी प्रधानमन्त्री बालेनलाई कसरी भयो ? तै पनि घण्टी सभासदहरुको सदनमा तालीको गढगढाहट ! प्रतिपक्ष सबै नतमस्क !
कालापानी, लिपुलेक मात्रै होइन नेपालको पूर्व मानेभञ्ज्याङ, दक्षिण सुस्ता महेशपुर अनि पश्चिम कैलाली, कञ्चनपुरलगायत थुप्रै सीमामा वर्षौंदेखि भारतीय अतिक्रमण हुँदै आएको छ । यसभन्दा पहिलेका प्रधानमन्त्रीहरुले यसबारे कुरा त उठाए तर केही गर्न सकेनन् । तर अब त करिब दुई तिहाई बहुमत प्राप्त अत्यन्त लोकप्रिय युवा प्रधानमन्त्री बालेन शाहबाट त यसको बारेमा अवश्य केही हुन्छ होला भनी सोधिएको प्रश्नमा उल्टै नेपालले नै भारतीय सीमा मिचेको भनेपछि अनि समस्याको समाधान होला भनेको त झन अन्योलता, झन भारतीय पक्षलाई हुँदै नभएको प्रमाण पेश आखिर यो त सुकिदे भन्दा त झन थपिदे गाड भने जस्तो भयो । अहिले नेपालका प्रधानमन्त्रीको यो उद्घोष पछि थुप्रै भारतीय विस्तारवादी शासक अनि नेता, मिडियाहरुले उत्सव भनाइ रहेका छन् । एसडी मुनिले त बालेनलाई बधाई नै दिइसकेका छन् र भारतीय सरकारलाई तत्काल त्यो भूमि फिर्ता गराउन सुझाइसकेका छन् । भारतका लागि यो भनाइ त के खोज्छस आँखो भने जस्तै हाई सञ्चो भएको छ । अब कुन नाकले र कुन कूटनीतिले भारतलाई त्यो हाम्रो अतिक्रमण भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर भन्ने ? त्यसैले बालेनको यो भनाइले नेपालको राष्ट्रियता र स्वाभिमानप्रति ठूलो संकट उत्पन्न गरेको छ । झन बढी भारतीय अतिक्रमणलाई हौसला प्रदान गरेको छ । नभन्दै अहिले भारतीय सेनाहरु सुस्तामा प्रवेश गरी त्यहाँको त्यो भूमि हाम्रो हो भन्दै निर्माणाधिन तटबन्ध रोक्का गरिसकेका छन् ।
अहिले सदनदेखि सडक चारैतिर प्रम बालेनको विरोध, निन्दा र घृणा भइरहेको छ । उक्त भनाइ फिर्ता लिन र माफी माग्न भनिरहेका छन् । तै पनि बालेन अहिलेसम्म चुपचाप छन् । तर उनका केही दलालहरुले भने उनको त्यो भनाइलाई समर्थन र त्यस्ता केही नक्कली प्रमाणहरु पनि दिन थालेका छन् । त्यसो गर्नु दास दलालहरुको दैनिक नै हो । यस्ता भारतीय दलालमध्ये एउटा दलाल हाम्रै निकट कुनै बेलाका हाम्रै पार्टीको नेता अझ १० वर्षे माओवादी जनयुद्धका प्रमुख नायक भनिने डा. बाबुराम भट्टराईले समेत त्यसलाई पुष्टि गर्दै तितो सत्य तर असान्दर्भिक र कुबेलामा भनेको भनी त्यसको समर्थन गरे जस्तो गरेका छन् । धिक्कार छ ! केही लाजश्रम नभएको गद्दार राष्ट्रघाती भारतीय विस्तारवादी दलाल । कुनै बेला एउटै पार्टी र एउटै पार्टी कमिटीमा बसेको अझ मसालबाट विद्रोह गराई एकता केन्द्र हुँदै माओवादी बनाएको । तर अपसोच ! यस्ता दुष्ट राष्ट्रघाती, गद्दारलाई पालनपोषण गराइएकोमा गोमन सापलाई दूध पिलाए जस्तो आफैँमाथि डस्न आउने अर्थात् आफ्नै मातृभूमि माथि गरिएको बालेनको नांगो हस्तक्षेप र बलत्कारप्रतिको विरोध निन्दा र घृणा गर्नुको बदला उल्टै बलात्कारीहरुलाई फाइदा पुग्ने गरी बोल्न लाज लाग्दैन ? २०४८ सालतिर बाबुराम भारतीय रअ र अमेरिकी दलाल हो भनी मसाल पार्टीले गरेको कारबाही बल्ल अहिले ३५ वर्षपछि सप्रमाण पुष्टि भएको छ । यस्तो भन्नेलाई भन्दा हामी सुन्नेलाई बढी लाजमर्दाे भएको छ ।
अहिले केही अनलाइन मिडिया, फेसबुक आदिमा प्रम बालेनको नाममा आएका केही भनाइमध्ये गण्डकी, कोशी, कांग्रेसले लिपुलेक, कालापानी राजा महेन्द्रले, महाकाली कांग्रेस, एमाले र एमसीसी कांग्रेस, एमाले र माओवादीले गर्दा हुने, तर मैले यसो भन्न नहुने यो कस्तो न्याय हो ? यसको सिधा अर्थ हो अरुले यस्तै राष्ट्रघात गर्न हुने भने मैले किन गर्न नहुने ? तर्क ठिकै हो काले काले मिलेर खाऊ भाले । तर खास राष्ट्रवादी देशभक्त वामपन्थी र जनवादी पार्टी र नेता अनि आम देशका स्वाभिमानी देशभक्त नेपाली जनताहरु भने यी माथि उल्लेखित राष्ट्रघातका विरुद्धमा त्यतिबेलाका हरेक घटनाका विरुद्ध यस्तै विरोध, निन्दा र घृणा मात्रै होइन संघर्ष नै गर्दै आइरहेका छन् । यसरी अरु राष्ट्रघाती दलालहरु जस्तै प्रधानमन्त्री भनाउँदो बालेन साह पनि बन्न थालेको मात्रै होइन बनिसकेको स्पष्ट छ । वास्तवमा यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा सत्ताको मूल चरित्र नै यस्तै दलाली, चाकडी, राष्ट्रघाती र राष्ट्रद्रोह गर्नु नै हो । जस्तो मेसिन त्यस्तै औजार अर्थात जस्तो सत्ता शासन त्यस्तै शासक अनि कारिन्दा हुनु स्वाभाविक नै छ ।
आज यसमा प्रम बालेनको विरोध मात्रै होइन बोलेको बचन फिर्ता गर्ने र माफी माग्नुपर्ने सब प्रतिपक्षी दलहरुको माग छ । तर आम देशभक्त नेपाली जनताहरुको माग भने बालेनलाई तत्काल प्रमबाट हटाई राष्ट्रद्रोहको मुद्दा लगाई नेल हत्कडीसहित जेल चलान गरिहाल्नु पर्दछ भनिरहेका छन् । यस्तो राष्ट्रघाती अपराध गरिरहँदा पनि त्यत्तिकै माफी मागेर मात्रै छोड्नु अर्काे राष्ट्रघात हुन जान्छ । जानी बुझी वा अरु जेसुकै कारणले भए पनि यस्ता राष्ट्रघाती अपराधीहरुलाई त्यत्तिकै छोड्न मिल्दैन । राष्ट्रद्रोहमा मुद्दा चलाई कारबाही नै गर्नु पर्दछ । यस्तै एउटा घटनाका कारण केही महिना पहिले थाइलेण्डकी प्रधानमन्त्री सिनावात्रालाई सरकारबाट अपदस्त गरी कारबाही गरिएको थियो । घटना एउटा सामान्य टेलिफोन वार्तामा कम्पोडियाका प्रधानमन्त्री हुनसेनलाई अंकल भनी सम्मान गरी बोलेकोमा आपत्ति जनाई त्यस्तो कारबाही भएको थियो । उमेरले हुनसेन वृद्ध सम्मानति पारिवारिक व्यक्ति काका जस्तै गरी बोलेकोमा सिंगो थाइलेण्ड राष्ट्रकै अपमान र बेइजती भएको आरोप उनलाई लगाइयो । यी दुई देश बीच पनि यस्तै सिमा विवाद चल्ने क्रममा यस्तो भएको थियो ।
त्यो बालेनको बोलीले त नेपालको कालापानी, लिपुलेक मात्रै होइन नेपालको कैयौं भूमि गुम्ने खतरा उत्पन्न भएको छ । साम्राज्यवाद राक्षसी बाघ हो भने विस्तारवादी लुटेरा ब्वाँसो जस्तै हो । साम्राज्यवादी बाघले प्रत्यक्ष झम्टेर सिकार गर्छ भने विस्तारवादी व्वाँसोले पछाडिबाट ललाई फकाई विस्तारै विस्तारै जनावर मारी सिकार गर्छ । भारतीय भूमिका ब्वाँसोको जस्तै छ । सीमा मिची टुक्राटुक्रा गरी पुरै राष्ट्रलाई नै निलिखाने दाउँ भारतीय विस्तारवादमा छ । जस्तो उदाहरण अहिले एकातिर बालेनलाई यस्तो भन्न लगाउने अर्काेतिर रवि लामिछानेलाई भारत बोलाई भव्य सम्मान गर्ने यो भारतीय विस्तारवादको दोहोरो चरित्र हो । कांग्रेस–एमाले–माओवादी लगायत अरु मधेसवादी दलहरुभित्र टुटफुट र द्वन्द्व अन्तर्विरोध सब भारतकै कारण हुने गरेको छ । अब भारतको आँखा घण्टी पार्टी र घण्टी पार्टीका नेताहरुमा पर्न थालेको छ । बालेन भर्सेज रविलाई अगाडि बढाएर घण्टी पार्टीमार्फत् अरु थुप्रै फाइदा लिनमा भारत छ । भारतले अब बालेनबाट जे पाउनुपर्ने थियो त्यो पाइसकेको छ । अर्थात् नेपालले पनि भारतीय कैयौं भूमि मिचेको भन्ने भनाइ अन्तर्राष्ट्रियकरण भइसकेको छ । भनिन्छ मुखको बोली र बन्दुकको गोली बाहिरिएपछि फेरि फर्किदैन । यसलाई च्याप्प समातेर उल्टो भारतले नेपाललाई सदा कान समातेर बस उठ गराइराख्ने छ ।
अन्त्यमा बुढी मरी भनेर होइन काल पल्क्यो भनेर रोएको भने जस्तै बालेन जस्ता जोकर, फन्टुस, हाउडेले राष्ट्रद्रोहीले यस्तो के भन्यो भनेर होइन, भारतीय विस्तारवादी शासकहरुले आजसम्म नेपालीमाथि गर्दै आएको विस्तारवादी अतिक्रमणलाई ढाकछोप गर्ने अझ उल्टै नेपालले नै भारतीय सिमा मिचेको भन्दै सदा विरोध र सताइरहने राष्ट्रघाती बाटो खुल्यो भन्नेमा बढी चिन्ता थपिएको छ । त्यसैले यसलाई खाली माफी मागेर मात्रै छुट दिन हुँदैन । प्रधानमन्त्रीबाट अपदस्त गरेर राष्ट्रद्रोहको मुद्दा चलाई वर्र्षौंसम्म जेल नकोचेसम्म देश र जनतालाई न्याय मिल्ने छैन । यी प्रतिपक्षी दल कांग्रेस–एमाले र माओवादीको कुनै भर ठेगान छैन । माथि भने जस्तै पटकपटक यस्तो राष्ट्रघात यिनीहरुबाट पनि हुने गरेको छ । त्यसैले माथि भनेजस्तै बढी सम्भावना यिनीहरुको काले काले मिलेर खाउ भाले नै हुन सक्छ । त्यसैले यसका विरुद्ध आम देशभक्त, वामपन्थी र जनवादी शक्तिलगायत आम नेपाली जनताहरु नै संघर्षमा जुटौं । नत्र भने नेपाल सिक्किम बन्ने खतरा बढेर गएको छ ।




