बुटवल । राष्ट्रिय खेलकुद परिषद् द्वारा आयोजित १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मा बुटवलस्थित न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रशिक्षक तथा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशलाई समग्रमा तेस्रो स्थान दिलाउन महत्वपूर्ण योगदान दिएका छन्।
यही जेठ २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको उक्त राष्ट्रियस्तरको प्रतियोगितामा न्यू होराइजनका दुई प्रशिक्षक र सात खेलाडी सहभागी भएका थिए। उनीहरूको उत्कृष्ट प्रदर्शनका कारण लुम्बिनी प्रदेशले विभिन्न खेल विधामा उल्लेखनीय सफलता हात पारेको हो। न्यू होराइजनबाट खेलेका सात जना खेलाडीहरु मध्ये कबड्डी तर्फ आशिका पुन,क्रिस्टिना श्रेष्ठ र सन्ध्या सार्की , भलिबलतर्फ आसमान पुलामी,जगदीश ओझा र भारती बिक तथा तेक्वान्दोमा आकाश दाहाल रहेका थिए ।
प्रतियोगिताअन्तर्गत कबड्डीतर्फ छात्र र छात्रा दुवै टोलीले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भए भने भलिबलतर्फ दुवै टोलीले द्वितीय स्थान प्राप्त गर्दै रजत पदक हात पारे। त्यसैगरी तेक्वान्दो खेलमा पनि रजत पदक जित्दै लुम्बिनी प्रदेशको पदक तालिकामा महत्वपूर्ण योगदान पुर्याइएको थियो।
लुम्बिनी प्रदेशका भलिबल प्रशिक्षक मिलन राना तथा कबड्डी प्रशिक्षक महेन्द्रबहादुर सुनार दुवै न्यू होराइजन विद्यालयका प्रशिक्षक हुन् । उनीहरूको नेतृत्व र प्रशिक्षणले प्रदेशको सफलतामा महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।
प्रतियोगितामा न्यू होराइजनका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका लागि कबड्डीमा दुई स्वर्ण, भलिबलमा दुई रजत तथा तेक्वान्दोमा एक रजत पदक जिताउन सफल भएका थिए। यस उपलब्धिले विद्यालयको खेलकुद क्षेत्रमा रहेको निरन्तर लगानी, दक्ष प्रशिक्षण र खेलाडीहरूको मेहनतलाई प्रमाणित गरेको छ।
न्यू होराइजन विद्यालयले राष्ट्रिय स्तरमा हासिल गरेको यो सफलता विद्यालय, अभिभावक, शिक्षक तथा समग्र रुपन्देही जिल्लाकै लागि गौरवको विषय बनेको विद्यालयका प्राचार्य वासुदेव अर्यालले बताउनुभयो । विद्यालय प्रशासनले आगामी दिनमा पनि खेलकुद प्रतिभाको विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा थप सक्रिय रहने प्राचार्य अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।




