जलवायु परिवर्तनले मौसमी चक्रमा उथलपुथल आएको छ, यसले मान्छेको जीवन संकटमा पर्न थालेको छ । लामो समय खडेरी पर्ने, वर्षा भए पनि राम्ररी मुल फुट्ने गरी वर्षा नहुने, कतिपय ठाउँमा अधिक वर्षा हुने र कतिपय ठाउँमा न्यून वर्षा हुने प्रवृत्ति प्रकृतिमा देखिएको छ । अत्याधिक वर्षा, न्यून वर्षा र खडेरीको चक्र चुलिंदै जाँदा मानव जीवनमा अनेकौं समस्या देखिएका छन् ।
जलवायु परिवर्तनका कारण पानीको चरम संकट देखिन थालेको छ । पानीका मुहान सुक्दै गएपछि पहाडी बस्ती खानेपानी अभाव झेल्दै छन् । अघिल्लो हिउँदमा हिमालमा पर्याप्त हिउँ परेन् । गएको हिउँदमा हिउँ प¥यो, हिमाली क्षेत्रका बासिन्दामा खुशीयाली छायो, तर बढ्दो तापक्रमले हिमाली क्षेत्रको जनजीवन जटिल बन्न थालेको छ । हिमताल फुट्दा हिमाली बस्ती जोखिममा पर्न थालेका छन् । यो वर्ष नेपालमा तापक्रम बढ्ने र खडेरी धेरै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलवायु परिर्वतनको कठिन दिनको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिइरहेका बेला यतिखेर पहाडमा खानेपानीको समस्या चुलिन थालेको छ । परम्परागत कुवा र पँधेरामा पानी सुक्न थालको छ । गुल्मी र अर्घाखाँचीका ग्रामिण बस्ती हिउँदको मध्यतिरबाट खानेपानीको संकट सामना गर्दैछन् । पहिलेका कुवा र पधेँरा मासिए । घर–घरमा आएका धारामा पानी चुहिन छाड्यो । पुर्खाको मिहिनेत र लगनमा बनेका पँधेरा र कुवा समाप्त पार्दाको दुःख अहिले झेल्दैछन् । कुवा र पँधेरा गाउँका पहिचान थिए । मान्छेका लागि मात्रै नभएर अरु जीवजन्तुका लागि पनि पानीको स्रोत थिए । गाउँमा विकास पस्यो, एकघर एक धारा अभियान चल्यो, पँधेरा र कुवा मासिए । धारा जोडिए, तर खानेपानीको मुहान सुकेपछि धारामा पानी आउन सम्भव भएन् ।
त्यसो त सम्भावित जोखिमको ख्याल गर्दै लुम्बिनी प्रदेश सरकारले गाउँ–गाउँमा रहेका पुराना पोखरी र पँधेरा पुनर्जीवित गर्ने गरी एक गाउँ एक पोखरी अभियान अघि बढायो ।
प्रदेश सरकारले दिन खोजेको सन्देश पोखरी जोगाऔं भन्ने हो, तर परम्परागत पोखरी जोगाउने सम्भव भएसम्म नयाँ बनाउन सरकारको मुख ताक्नु पर्दैन । स्थानीय तह, सामुदायिक वन समूहलगायत विभिन्न निकायले गर्न सक्छन् । समुदायको परिचालनबाट पानीका मुहान जोगाउने, पोखरी खन्ने अभियान चलाउने र त्यो अभियानमा सरकार सहयोगी बन्न सक्छ । यो बेला पोखरी, पँधेरा र कुवालाई पुनर्जीवित गर्न र भएका पानीका मुहान जोगाउन तहगत सरकारले प्राथमिकता दिनुपर्छ । पानी नै जीवन हो । मान्छेसहित सबै प्राणीको जीवन जोगाउन पानीका मुहान संरक्षण गरौैँ ।




