प्रकाश डोटेल
स्याङ्जा
स्याङ्जाका स्थानीय तहले संघीय सरकारबाट चार अर्ब बढी अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३-०८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरणअनुसार जिल्लाका स्थानीय तहले चार अर्ब ५८ करोड ९३ लाख अनुदान पाउने भएका हुन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिसमा जिल्लाका ११ स्थानीय तहमध्ये ५ नगरपालिकालाई दुई अर्ब ६३ करोड ५६ लाख र ६ गाउँपालिकालाई एक अर्ब ९५ करोड ३७ लाख गरी चार अर्ब ५८ करोड ९३ लाख अनुदान दिने भएको हो ।
स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदानअन्र्तगत संघीय सरकारले अनुदान दिँदै आएको छ ।
अन्तर सरकारी वित्तीय हस्तान्तरणमा जिल्लाका स्थानीय तहलाई समानीकरण अनुदानतर्फ एक अर्ब १२ करोड २३ लाख विनियोजन गरिएको छ । सशर्त अनुदानमा तीन अर्ब १३ करोड १९ लाख छुट्याइएको छ ।
विशेष अनुदानमा १५ करोड ४१ लाख उपलब्ध गराउने सरकारले समपुरक अनुदानतर्फ १८ करोड १० लाख विनियोजन गरिएको छ ।
जिल्लाका नगरपालिकामध्ये सबैभन्दा बढी वालिङ नगरपालिकाले ६१ करोड १६ लाख पाउने भएको छ । त्यस्तै पुतलीबजार नगरपालिकाले ५९ करोड २७ लाख पाउँदा गल्याङ नगरपालिकाले ५६ करोड ३६ लाख पाउने भएको छ । विवरणअनुसार चापाकोट नगरपालिकाले ४६ लाख ९४ लाख पाउँदा भीरकोट नगरपालिकाले ३९ करोड ८३ लाख पाउने भएको छ ।
गाउँपालिकातर्फ बिरुवा गाउँपालिकाले ३६ करोड ३९ लाख पाउँदा कालीगण्डकी गाउँपालिकाले ३५ करोड ९४ लाख पाउने भएको छ । त्यस्तै आँधीखोला गाउँपालिकाले ३४ करोड ६८ लाख पाउने छ भने हरिनाश गाउँपालिकाले ३१ करोड ९६ लाख पाउने भएको विवरणमा उल्लेख छ ।
त्यसैगरी अर्जुनचौपारी गाउँपालिकाले २९ करोड चार लाख पाउने छ भने फेदीखोला गाउँपालिकाले २७ करोड ३६ लाख मात्र पाउने भएको विवरणमा उल्लेख गरिएको छ ।
स्थानीय तहले समानीकरण अनुदानतर्फ न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादनका आधारित अनुदान पाउने गरेका छन् ।
चालु आर्थिक वर्ष २०८२-८३ को तुलनामा आउँदो वर्ष जिल्लाका स्थानीय तहले पाउने अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुदानअन्तर्गत १६ करोड ८८ लाख घटेर आएको जनाइएको छ । चालु वर्षमा चार अर्ब ७५ करोड ८१ लाख अनुदान पाएका स्थानीय तहले आउँदो वर्ष चार अर्ब ५८ करोड ९३ लाख मात्रै पाउने भएको जनाइएको छ ।
सबैभन्दा बढी पुतलीबजार नगरपालिकाको १५ करोड बढी अनुदान रकम घटेको छ भने कालीगण्डकी गाउँपालिकाको ६ करोड बढी अनुदान रकम घटेर आउने भएको छ ।
वालिङ नगरपालिकालाई ५ करोड बढी अनुदानमा कमी आउँदा भीरकोट नगरपालिकाको करिब तीन करोड घटेको छ । त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको एक करोड बढी अनुदान रकम घटेको छ ।
चालु वर्षको तुलनामा गल्याङ नगरपालिकाले चार करोड बढी अनुदान रकम पाउँदा चापाकोट नगरपालिकाको करिब तीन करोड बढेको पाइएको छ । त्यस्तै बिरुवा गाउँपालिकाको दुई करोड बढी अनुदान बढ्दा हरिनाश तथा फेदीखोला गाउँपालिकाको एक÷एक करोड र आँधीखोला गाउँपालिकाको झण्डै एक करोड अनुदान रकम बढेको जनाइएको छ ।




