बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मा.वि. बुटवलमा कक्षा ११ मा भर्ना भएका नयां विद्यार्थीलाई स्वागत र अभिमुखिकरण गरिएको छ । विद्यालयले विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका ६ सय बढी विद्यार्थीलाई बिहीबार छुट्टाछुट्टै स्वागत र अभिमुखिकरण गरेको हो ।
दुबै संकायका विद्यार्थीहरुलाई कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान स्याङजाका प्रमुख आचार्य चैतन्य कृष्ण प्रभुले शिक्षा सँगै संस्कार र संस्कार सँगै आविष्कार शिर्षकमा प्रशिक्षण दिनुभएको थियो ।
उहांले आफूले २०६० को दशकदेखि न्यू होराइजन संस्थालाई नजिकबाट चिनेको उल्लेख गर्दै उत्कृष्ट व्यवस्थापन, योग्य शिक्षक र मेहनती विद्यार्थीको कारण न्यू होराइजनले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै देशकै अग्रणी र प्रतिष्ठित शैक्षिक संस्था बन्न सफल भएको बताउनुभयो ।
पढाईमा अब्बल बन्न विद्यार्थीहरु अनुशासित,लगनशीलसंगै आध्यात्मिक र नैतिकवान हुनुपर्नेमा चैतन्य कृष्णले जोड दिनुभयो । विद्यार्थीको दैनिक जीवनशैली र खानपानले पढाईमा ठूलो प्रभाव पार्ने भएकाले स्मार्ट स्टडी स्कील,अध्ययन आचार संहिता सहित स्वस्थ जीवनशैली र सात्विक खानपानलाई अंगाल्न उहांले अनुरोध गर्नुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजूले विद्यार्थीलाई पाठ्यक्रमको ज्ञान संगै उनीहरुको सर्वाङ्गीण विकास गर्न अभिमुखीकरण र अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको बताउनुभयो । उहांले विद्यार्थी र शिक्षकलाई कालीगण्डकी ज्ञान विज्ञान संस्थासंग अझ नजिकको सम्बन्ध बनाउन विद्यालयले उक्त संस्थाको आजीवन सदस्यता लिने घोषणा गर्नुभयो ।
प्राचार्य बासुदेव अर्याल गुणस्तरीय र संस्कारयुक्त शिक्षा दिन संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।
निवर्तमान प्राचार्य लोकनाथ उपाध्यायले ३७ वर्ष लामो र गौरवपूर्ण इतिहास बोकेको देशकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन छनोट गर्नु विद्यार्थी र अभिभावक शिक्षाप्रति सचेत रेहेको पुष्टी भएको बताउनुभयो ।
उपप्राचार्य राजीव श्रेष्ठले विषयगत शिक्षकहरुको परिचय गराउँदै संस्थामा आधुनिक प्रविधिमैत्री, अनुभबी, योग्य र दक्ष शैक्षिक जनशक्ति रहेकाले विद्यार्थीको उत्कृष्ट नतिजा आउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा व्यवस्थापन संकायका संयोजक प्रकाश खनाल, सहसंयोजक निषेधजंग कार्की र विज्ञान संकायका संयोजक प्रकाश पन्त तथा सहसंयोजक मनोज सिलवालले विद्यालयमा उपलब्ध शैक्षिक सुविधा बारे विद्यार्थीलाई जानकारी गराएका थिए ।
विद्यालयमा सुविधासम्पन्न होस्टेल, विज्ञान प्रयोगशाला, विद्यार्थीको स्वास्थ्य चेकजाँच, राष्ट्रिय स्तरका १७ विधाका खेल प्रशिक्षक, वित्तीय साक्षरता, उद्योग, होटल अवलोकन तथा पर्यटकिय स्थल भ्रमण, रिपोर्ट लेखन, सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाका कार्यक्रमहरु गरिने जानकारी गराइएको थियो । यस्तै शिक्षक मिलन रानाले विद्यार्थीले पालना गर्नुपर्ने आचार संहिता र नियम बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उप प्राचार्य राजेश पाण्डेले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका उपााध्यक्ष निर्मलप्रसाद लाकौल, कोषाध्यक्ष रामेश्वर श्रेष्ठ,निवर्तमान उपप्राचार्य बालकृष्ण भण्डारी लगायतले विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो ।




