तुल्सीराम पाण्डे
आजकाल लामो यात्रा गर्ने मानिसहरुले झोलामा या हातमा पानीको बोतल लिएर हिंड्दछन् । ६०÷६५ सालसम्म पानी किनेर खाने चलन त्यति थिएन । मानिसहरुले होटलमा मागेर र पानी भएको ठाउँमा गाडी रोकेर पानी खान्थे । पैदल यात्रा गर्नेहरुले पनि एउटा घरमा पसेर पानी मागेर खान्थे । खोला, कुवा वा मूलको पानी खाएर हिँड्थे । गाउँको सिरानमा, पुछारमा र विद्यालयको नजिकै एक दुई गाग्री पानी माग्नेले नै खान्थे । सबैले खुसी भएर पानी खुवाउँथे । पानी खुवानुलाई धर्म मान्दथे । ५०÷५५ सालसम्म पानीको अभाव भएका ठाउँमा चौपारीमा पानीको घैंटो राख्ने चलन थियो । घैंटोमा कुनै ठाउँमा एक्लै र कुनै ठाउँमा पालैसँग पानी भर्दथे । अक्षय तृतियाको दिनमा जौको सातु र खुदेपानी बाँड्दथे । गाउँको माझमा, वनको छेउमा, बाटामा र अरु आवश्यक ठाउँमा पोखरी खन्थे । पोखरीको पानी गाइबस्तु र चराले खान्थे । केटाकेटी र भैसीं पौड्न्थे । आगो लागि भएमा त्यही पानी गाग्रीमा बोकेर निभाउँथे । अरु घर गोठमा आगो लाग्न नदिन मानिसहरु भरी गाग्री लिएर धुरीमा उभिन्थे । आजकाल टीन लाउनाले आगोको डर कम भएको छ । पानी सुकेको समयमा सबै जम्मा भएर पोखरी सफा गर्थे । पानी नभएको ठाउँमा आगो लागेमा माटो र केराको मचेटाले आगो निभाउँथे ।
पृथ्वीमा ७० प्रतिशत भाग पानीले ढाकेको छ । त्यसमा तीन प्रतिशत पानी मात्र खानयोग्य छ । नेपालमा पाइने पानीका स्रोतहरुमा वर्षाको पानी, बलेनी, सपाउदे, ताल, कुवा, पोखरी, नदी, हिमनदी, मूल, इनार, चापाकल, कुलो, पाइपबाट ल्याउने हुन् । नेपालमा सबैले पानीको श्रोतलाई सम्मान गर्ने र पुजा गर्ने चलन छ । तराइमा इनार, खोला, नदीलाई पूजा गर्दछन् । पहाडमा पनि पानीको मूलमा नाग झाँक्रीको पूजा गर्दछन् । थानको वरिपरिको वन जोगाउने र सफा राख्ने गर्दछन् ।
पानीको मूलमा माछा पनि पाइन्छन् । मानिसले ठिक ढँगले पानी पिएमा ७० प्रतिशत रोगबाट बच्न सकिन्छ । वयस्क मानिसले बिहानै खाली पेटमा एक वा सवा लिटर पानी पिउने । खाना खाँदा पानी पिउने । १ गिलास पानी पिउन कम्तीमा पाँच मिनेट लगाएर चिया पिए जसरी पिउने । दिनमा कम्तीमा एक–एक घण्टाको फरकमा ४-५ पटक पानी नपिउने । नियम अनुसार पानी पिउनाले शरीरमा रहेको विषाक्त पदार्थ पिसाबबाट निस्कन्छ । शरीरका भित्री अंगहरु सफा हुन्छन् ।
माछा, गोही , सर्प ,गंगटा, विच्छी र भ्यागुता पानीमा बस्दछन् । तिर्थालुले ताल र नदीमा नुहाएर पाप पखाल्छन् । विभिन्न नदीका किनारहरुमा त्यहाँको हावापानी अनुसारको सभ्यता विकाश भएको छ । वर्षा कम हुनाले मरुभूमिको क्षेत्रफल बढ्दै गएको छ । यहाँ झै पानी पर्ने हो भने मरुभूमिमा पनि हराभरा हुन्थ्यो होला । मिश्रमा पानी नपरे पनि नाइल नदीको पानीले सिँचाइ गरेर खेती गर्दछन् । त्यहाँको कपास गुणस्तरमा प्रथम र विश्व प्रसिद्ध छ ।
रजौटाको पालाको राज कुलो र रानी पोखरी अहिले पनि देख्न पाइन्छ । नेपालमा पानी नपर्नुलाई खडेरी भन्दछन् । २०७९ सालमा ठुलो खडेरी प¥यो । पहाडमा मुल फुटेनन् । सबैले धान रोप्न पाएनन् । ब्याड पसाए । कोदो, मकै पनि त्यतिकै सुक्यो । तराईको खेतमा धान रोपे पनि सुकेर धाँजा फाट्यो । केही ठाउँमा धान नपसाउने बुझेपछि पशुलाई हरियो खुवाउन धान काटे । खडेरी परेपछि अनिकाल, भोकमरी लाग्छ । घाँस पलाउँदैनन्, जनावर र चरा मर्छन् । मानिसले किनेर खान पाए पनि पशुपंक्षीहरुले आफ्नो वरपर जे पाइन्छ त्यसैमा गुजारा गर्दछन् । पानीबाट नै जीवनको सुरुवात हुन्छ । पानीलाई विश्वासको आधार मानिन्छ । बिउ बिजनमा सुन पानी छर्केर शुद्ध गर्दछन् । पानी परेपछि बिउ उम्रन सुरु हुन्छ । पहिलेका लामा र वैद्यहरुले बिरामीलाई पानी मन्तरेर खान दिन्थे । कन्यादान गर्दा पनि लामो समय जलको धारा चुहाइरहन्छन् । बिरामीको लागि पाठो, कुखुरो, थाल वा भेटी उठाउन परेमा पानी पारेर बिरामीको टाउकोमा रिंगाएर राख्ने गर्दछन् । कसैले पाठो कुखुरो किन्न खोजेमा फलानालाई पानी पारेर राखेको हो बेच्नु हुँदैन भन्दछन् ।
मोटर बाटो खन्दा पाहाडका केही मुलहरु पुरिए । आजकाल चाडपर्व र पाहुनाको स्वागतमा कोक फेन्टा र पानी किनेर खाने चलन आयो । पानीको व्यापार बढेको छ । खेती नगरेको र गाउँमा नगएको नयाँ पुस्ताले धारो, कुवा र अञ्जुलीबाट पानी खाएको देख्दा अचम्म मान्दछन् । त्यसमा बिर्को बन्द नभएको गुणस्तरको प्रमाण नभएको फोहोर भएको हुनाले खान नहुने तर्क गर्दछन् । बहुराष्ट्रिय कम्पनीको प्रभाव हाम्रा नयाँ पुस्तामा त्यति भित्रसम्म गडेको छ । नेपाललाई समृद्ध बनाउने हो भने सबै नेपालीलाई बहुराष्ट्रिय कम्पनीको प्रभावबाट मुक्त गर्न र नयाँ पुस्तामा हाम्रा स्थानीय र निःशुल्क साधन स्रोत तथा ज्ञानको हस्तान्तरण हुनु आवश्यक छ ।




