नेपालमा पटकपटक एकपछि अर्का नयाँनयाँ पार्टी नयाँ सरकारहरु बन्दै आएका छन् । २००७ सालपछि कांग्रेस त्यसपछि २०४७ मा एमाले अनि २०६४ पछि माओवादी र अहिले रास्वपा घण्टी पार्टी र त्यसको सरकार बनेको छ । तर यी कसैले पनि देश र जनताको हित अनुसार काम गरेनन् । खाली राष्ट्रघात र जनघात नै गर्दै आइरहेका छन् । कांग्रेसले २०१५ सालमा दुई तिहाई बहुमतकै सरकार बनायो । त्यसपछि उसले गण्डकी, कोशी नदी त्यत्तिकै भारतलाई सुम्पिएर ठूलो राष्ट्रघात ग¥यो । यी नदी मात्रै होइन कांग्रेसले त आफ्नो सरकारको क्याविनेट अर्थात मन्त्री परिषदमा नै भारतीय प्रतिनिधि उपस्थित गराई त्यही अनुरुप हरेक सरकारी नीति कार्यक्रम र योजनाहरु नै बनाउने ग¥यो । अझ भारतीय रक्षार्थ भन्दै भारतीय सेनालाई नेपालको उत्तरी सीमा चेकपोष्टमा तैनाथ गराउने काम भयो । यसरी नेपाली जनताको जनमतबाट बनेको दुई तिहाई बहुमत नेपाली कांग्रेस र त्यसको सरकारले देश र जनतामाथि ठूलो विश्वासघात र धोका दियो ।
यही कांग्रेसी चरित्रलाई उदाङ्गो पार्दै तत्कालीन राजा महेन्द्रले २०१७ सालमा फौजी ‘कु’ गरी आफ्नो निरंकुश र तानाशाही शासन सत्ता देशमा स्थापना गर्न पुगे । तर उनको नेतृत्वमा पनि त्यस्तो कुनै स्थिति सुध्रिएन । निर्दलीयताको नाममा दलमाथि प्रतिबन्ध खाली आफ्नै गुनगान, भजनकृतन अनि पञ्च मण्डलेहरुको लुटान र रजाई मात्रै बढी भयो । वाक तथा प्रकाशन माथिको पूर्ण प्रतिबन्ध पुराना दल नेताहरुको गिरफ्तारी अनि जेल सजाय साथै कतिपयको हत्या र हिंसा नै बढी भयो । त्यसपछि २०४५÷०४६ सालमा नेपाली जनता सडकमा उत्रिएर फेरि पुराना दल कांग्रेस–कम्युनिष्टहरुलाई साथ दिई पुनः नेपाल संसदीय र दलीय राज्य व्यवस्थाको थालनी भयो । दलीय प्रतिस्पर्धा र दलीय शासन अनुरुप कांग्रेस– एमालेले सरकार बनाउँदै आए । तर यी दुवै दलहरुले देश र जनताको हितभन्दा बढी राष्ट्रघात र जनघात नै गर्दै आए । गण्डक–कोशी नदीमा जस्तै यी दुवै दलहरुले पनि पश्चिम नेपालको महाकाली नदी सम्झौता गरी भारतलाई रिझाउने काम गरे ।
तब यसको विकल्पमा २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले माओवादी जनयुद्धको थालनी ग¥यो । पूर्व राजा वीरेन्द्रको वंशनाशपछि सत्तासीन बनेका राजा ज्ञानेन्द्रले २०१७ सालमा जस्तै तत्कालीन सत्ताधारी दल कांग्रेसलाई अपदस्त गरी आफ्नै नेतृत्वमा पुनः सत्ता सञ्चालन गर्न थाले । बल्ल फेरि कांग्रेस–एमालेको चेत खुल्यो तब मात्र तत्कालीन विद्रोही माओवादीसँग मिलेर २०६२।०६३ सालमा माओवादी जनविद्रोहको जगमा संयुक्त जनआन्दोलन गरी निरंकुश ज्ञानेन्द्रशाही शासन सत्ता हटाई पुनः देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसपछि सम्पन्न संविधानसभाको निर्वाचनमा जनताको बहुमत मत माओवादीलाई दिएर नयाँ सरकार बनायो । तर यसले पनि धेरै दिन सरकार सञ्चालन गर्न सकेन । एक प्रकारले फौजी ‘कु’ मा नै प¥यो ।
यसरी पटक–पटक नेपाली जनताले एकपछि अर्काे रुपमा नयाँ दलहरुलाई विश्वास गरी सरकारमा पु¥याए । सुरुमा कांग्रेस त्यसपछि एमाले अनि पछि माओवादीलाई जनताले विश्वास गरी सत्तामा पु¥याए । यतिसम्मकि २०१५ सालमा कांग्रेस नेतृत्वको दुई तिहाई बहुमत प्राप्त कांग्रेसी सरकार, त्यसपछि २०७९ मा एमाले माओवादी मिली बनेको करिब दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार अनि पछिल्लो दुई तिहाईभन्दा बढी प्राप्त कांग्रेस–एमालेको मिलीजुली सरकार भए पनि यी कसैले देश र जनताको हितमा खासै केही गर्न सकेनन् । आफू आफूको गुट–उपगुटको खिचातानी, खाली सत्ता र भत्ता अनि स्वार्थको खेती मात्रै बढी भयो । अन्ततः जेनजी विद्रोहको नाममा यी सबैलाई अपदस्त पारी अहिले करिब दुई तिहाई बहुमतको रास्वपा घण्टी पार्टीको सरकार बनेको छ । तर यो सरकार बनेको दिनदेखि नै यसका क्रियाकलापहरु पनि जनघाती र राष्ट्रघाती देखिंदै आएको छ ।
सरकार बनेको लगत्तै सुकुम्वासीमाथि डोजर आतंक, विद्यार्थी युनियन र टे«ड युनियनमाथिको प्रतिबन्ध निजी पत्रिकाहरुलाई दिने सरकारी विज्ञापनमाथिको खारेजी आदि जस्ता सरकारी निर्णयले हिजोको पञ्चायती निरंकुशताको र पछि ज्ञानेन्द्र कालीन निरंकुशताको झल्को देखियो । हुँदाहुँदा स्वयं प्रम बालेन साहले नै भारतीय भूमि नेपालले अतिक्रमण गरेको सदनको रोष्ट्रमबाट भनेपछि झन छर्लङ्ग भयो यो सरकार राष्ट्रघाती र राष्ट्रद्रोही पनि देखियो । धेरै पहिले कुनै एक अन्तर्वार्तामा रास्वपाका पूर्व महासचिव डा. मुकुल ढकालले उक्त पार्टीका अध्यक्ष रवि लामिछाने उपाध्यक्ष स्वर्णिम वाग्ले अनि हालका परराष्ट्र मन्त्री शिशिर खनाललाई उद्धत गर्दै उनीहरुले नेपाललाई सिक्किम मोडेलमा लगेर भए पनि आफूहरु सत्तामा जानका लागि भारतीय सत्ता पक्षसँग आफूलाई कुरा गर्न भनेको बताएका थिए । ठीक उनको यो भनाइ अहिले एकपछि अर्काे रुपमा मिल्दै जान थालेको छ ।
हाम्रो जस्तो सार्वभौम सम्पन्न स्वतन्त्र मुलुकलाई कसैले बफर स्टेटको रुपमा भने कसैले वृज अर्थात् भारत–चीनबिचको पुलको रुपमा चित्रण गर्दै आइरहेका छन् । यति सम्मकि हालका अर्थ मन्त्रीले त नेपालमा सेना नै आवश्यक छैन भन्न समेत भ्याए । नभन्दै नेपाली सेनाको पनि त्यस्तै त्यस्तै भूमिका देखाउने गरेको छ । जस्तो गतसाल भाद्र २३ र २४ मा सिंहदरबार, सर्वाेच्च अदालत प्रतिनिधिसभा, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार आगजनी हुँदा त्यसको प्रतिकार नगरी रमिते बन्नु साथै हालै सुकुम्वासी हटाउने क्रममा प्रहरीले गर्नु पर्ने काम स्वयं सेनाद्वारा गरिनु यी कारणले अब नेपालमा सेनाको औचित्य अर्थमन्त्रीले भने जस्तै हराउँदै गएको आभास हुन थालेको छ ।
वास्तवमा सेनाको मुख्य काम देशको सार्वभौम सत्ता र स्वाभिमानको सुरक्षा अनि विदेशी हस्तक्षेप र अतिक्रमणविरुद्ध लड्ने हो । तर यहाँ नेपाली सेना सुकुम्वासी लखेट्न जान्छ र उनीहरुको देशव्यापी अभिलेख संकलन गर्दै हिंडिरहेको छ । भौतिक पूर्वाधार निर्माण ठेक्का पट्टा अनि व्यापारमा सक्रिय छ । कालापानी, लिपुलेकमा भारतीय सेना परेड खेल्छ, सुस्तामा हाँकाहाँकी नेपाली सीमा भारतीय सेनाले अतिक्रमण गरिरहेको छ । तर नेपाली सेना त्यहाँ जान्दैन । रमिता हेरी मात्र बसिरहेको छ । अझ उल्टो प्रम बालेनले भन्छन्– नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको छ । यस्तो हुँदै नभएको कुरा गर्ने अझ देशको गरिमामय सदनको रोष्ट्रममा बोल्दा कमसेकम नेपालको सीमा कहाँ कति मिचिएको छ, त्यसको लेखाजोखा नक्सा नेपाली सेनालाई थाहा हुनु पर्ने हो किनकि राज्यमाथिको अतिक्रमण चाहे आफ्नो देशको होस् चाहे अरु बाहिरी देशको होस् त्यसको यथार्थ जानकारी सेनालाई हुन्छ र हुनै पर्ने हो । तर आजसम्म पनि यसमा नेपाली सेना मौन छ यसको अर्थ प्रम बालेन जे बोल्दै छन् त्यो सही छ । सीमा मिच्ने वा अतिक्रमण गर्ने काम सेनाको हो । यस अर्थमा भारतीय सीमा मिच्ने अतिक्रमणकारी नेपाली सेनामाथि त्यस्तो आरोप लगाइदै छ ।
प्रम बालेनको यो भनाइले आम नेपालीहरुको शिर निहुँरिएको छ । विश्वव्यापी बदनाम भएको छ । नेपाली देशभक्त पहिलेका वीर सपुतहरुको गुन–पसिना खेर गएको छ । त्यस्तै वीर नेपाली सेनाको पुरानो ऐतिहासिक गाँथामाथि दाग लागेको छ । भारतीय मिडियाहरुले यसलाई बढाई चढाई गरी उल्टै नेपाललाई अतिक्रमणकारी भन्दै हाम्रो अतिक्रमण भूमि चाहियो भन्न थालेका छन् । एक भारतीय राजदूतले त हाम्रा प्रम बालेनलाई भन्नै नमिल्ने शब्दद्वारा अति बदनाम गरिरहेका छन् । भन्नेलाई भन्दा हामी सुन्नेलाई लाजश्रम भएको छ । अगुवा नै छेरुवा वा फन्टुस र ढोगी भएपछि के लाग्छ ? त्यस्ता भारतीयहरुको शब्दवाण अनि हाउभाउ सबै सुनी–हेरी बस्नुभन्दा अरु विकल्प नै छैन आम देशभक्त र स्वाभिमानी नेपालीहरुका लागि । तैपनि सास छउञ्जेल आश हुन्छ भने जस्तै नेपालले हुँदै नभएको भारतीय भूमि अतिक्रमण बरु भारतले नै नेपालको भूमि अतिक्रमण गइरहेको छ । त्यसका लागि एउटा नेपाली गीत ‘गाउँ–गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देशको मुहार हँसाउन’, देशको राष्ट्रियता र स्वाभिमान बचाउन गाउँ–गाउँबाट उठ बस्ती बस्तीबाट उठ, हातमा लाठी हुनेले लाठी बोकेर उठ, हातमा हँसिया हथौडा खुडा तरबार अनि बन्दुक हुनेले बन्दुक बोकी उठ, आवाज हुनेहरुले आवाज लिएर ‘इन्क्लाव–जिन्दावाद’ भनेर उठ ।




