पाल्पा
जंगल, खेतबारी, खरबारीदेखि भिरपाखा कान्ला जताततै दालचिनीका रुख बिरुवा मात्र देखिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८, सत्यवतीस्थित खुर्साने गाउँको पहिचाननै दलाचिनी र तेजपात बनेको छ । दालचिनी र तेजपातको आम्दानीको कारण गाउँमा हुने बसाईसराइ रोकिएको छ । परम्परादेखि दालचिनी र तेजपातको खेतीले रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ सत्यवती खुर्सानेको गाउँ सम्पन्न हँुदै गएको छ । सत्यवती खुर्साने गाउँका खेतबारी, खरबारी, डाँडाकाँडा र कान्लाहरूमा जताततै दालचिनी र तेजपातका हरिया रुखहरूले भरिएका देखिन्छन् । तेजपात र दालचिनीको आम्दानीबाटै गाउँबाट शहर तथा तराईमा हुने बसाइँसराइ पूर्णरूपमा रोकिएको हो । पाल्पा खुर्सानेका जनताले दालचिनीबाट मात्र न्यूनतम ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
पाल्पाका धेरै ठाउँमा रोजगार र शिक्षाको नाममा गाउँ नै खाली हुने गरी बसाइँसराइ भइरहेको छ । खुर्सानेका जनताको भने बाँझो खेतबारी, भिर कान्ला जताततै पैसा फलिरहेको छ । आफ्नै पाखा, पखेरा बारीमा दालचिनी खेतीपाती गरेर खुर्सानेका जनताले लाखौ रुपैयाँ कमाएका छन् । दालचिनी तेजपात खेतीकै कारण गाउँबाट बसाइँसराइ ठप्प भएको छ । अन्य व्यापार छैन, जागिर छैन, बाँझिएका खेतबारी, भिरपाखा कान्लाबाटै दालचिनी लगाएर वार्षिक रुपमा दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय रामबहादुर रेश्मी मगरले बताए ।
प्राकृतिक रुपमै उत्पादन, वन्य जन्तुले पनि नोक्सान नगर्ने, धेरै मिहिनेत पनि गर्न नपर्ने, धेरै लगानी पनि लगाउन नपर्ने भएकोले पाल्पा सत्यवती खुर्सानेका जनताको मुख्य पेशा नै दालचिनी र तेजपात भएको छ । आफ्नो बुढेसकालको सहारा , आम्दानी, पेन्सन जे भने पनि दालचिनी तेजपात खेती हो, लामो सयमदेखि यो गाउँका कोही पनि गाउँबाट बसाईसराइ नगरेको सत्यवती खुर्सानेका खिमबहादुर गाहाले बताए ।
पाल्पाको सत्यवती खुर्साने क्षेत्रमा उत्पादन भएको दालचिनी र तेजपातको माग बजारमा राम्रो छ । व्यापारीहरु दालचिनी खरिद गर्न गाउँ–गाउँमै पुग्ने गरेका छन् भने केही व्यापारीहले नाकामै संकलन केन्द्र खोली दालचिनी तेजपात खरिद गर्दै आएका छन् । व्यापारीहरुले संकलन गरेको दालचिनी र तेजपात सुनौली नाका हुँदै भारतमा निकासी हँुदै आएको छ । व्यापारीहरू कृषककै घरदैलोमा पुगेर दालचिनीको बोक्राको १ सय १७ र पातको ७० रुपैया केजीमा खरिद गर्दै आएको व्यापारी लेखनाथ घिमिरे बताउँछन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६, ७ र ८, तिनाउ गाउँपालिकाको वडा नं. २, ३, ४, र ५ मा दालचिनी र तेजपातको परम्परागत रुपमै खेतीपाती हुँदै आएको छ । परम्परागत रुपमा खेतीपाती गर्दै खुर्सानेवासीसँग डिभिजन वन कार्यालय पाल्पाले छलफल गरी आइपरेका समस्याको बारेमा जानकारी लिएको छ । कृषकहरुले व्यवस्थित बजार व्यवस्थापन, समय सुहाउँदो मूल्य निर्धारणको लागि माग गरेको, कृषकको मागलाई कार्यालयले सहजीकरण गर्ने डिभिजन वन कार्यालय पाल्पाका वरिष्ट वन अधिकृत खिलबहादुर तामाङले बताए । पाल्पाबाट वार्षिक रुपमा १५ लाख केजी दालचिनी र तेजपातको कारोबार हुँदै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सत्यवतीको खुर्साने गाउँ दालचिनी तेजपातको लागि पाल्पाकै नमूना गाउँ बनेको छ । जताततै हरियाली बनाउने, वातावरणमैत्री दालचिनी तेजपात खेतीले पाल्पाका धेरै कृषकको जीवनस्तर उकासेको छ । आगामी दिनमा दालचिनी खेतीलाई अझ व्यवसायिक बनाउन, व्यक्तिगतदेखि सामुदायिक वनमा दालचिनीको बिरुवा रोपणदेखि स्थानीयस्तरमै प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने जरुरी देखिन्छ । खुर्साने गाउँको यो सफलताले आर्थिक समृद्धिका लागि गाउँ छोड्नु पर्दैन भन्ने राम्रो उदाहरण बनेको छ ।




