मध्य प्रशान्त महासागरको पानी र हावा सामान्यभन्दा तात्ने ‘एल निनो’ भनिने मौसमी अवस्था यो वर्ष झनै प्रखर हुने र एसियाली देशमा विपद निम्त्याउन सक्ने चेतावनी संयुक्त राष्ट्र संघले दिएको छ । राष्ट्र संघीय विश्व मौसम संगठन डब्लुएमओका अनुसार, अहिले बिस्तारै बढ्ने क्रममा एल निनो भनिने शक्तिशाली प्राकृतिक मौसमी अवस्था सेप्टेम्बरसम्म पूरै विकसित भइसक्ने सम्भावना ८० प्रतिशत छ । त्यसैगरी, सेप्टेम्बरसम्म नभएनोभेम्बरसम्म पूरै विकसित भइसक्ने सम्भावना ९० प्रतिशत छ ।
एल निनोले नेपाल जस्ता मुलुकहरुलाईपार्ने असर र जोखिम धेरै छ । विज्ञहरूको पूर्वानुमान अनुसार, सरदरभन्दा कम वर्षासँगै गर्मी तथा खडेरी र अचानक घना वर्षा यो मनसुनका नौला विशेषता हुने छन् । चरम मौसमी अवस्थाका कारण हुने असरले यहाँको कृषिलाई असर गर्ने सम्भावना छ । अत्याधिक गर्मीले महामारी फैलिनै उत्तिकै जोखिम छ । मौसम विज्ञान विभागका अनुसार, नेपालमा लगातार विगत तीन महिनादेखि तापक्रम सामान्यभन्दा ०.५ डिग्री सेल्सियसले बढ्ने क्रममा छ । त्यसरी तातो बढ्ने क्रम अझै अर्को दुई महिना जारी रहे त्यसलाई मौसमविदहरू एल निनोको असर मान्छन् ।
जलवायु परिवर्तनका कारण एल निनोको असर यो वर्ष झनै विकराल बन्न सक्ने वैज्ञानिकहरूको चेतावनी छ । विश्वमा चरम मौसमी अवस्था उत्पन्न हुने चिन्ता बढेको छ । चरम मौसमी अवस्थाले खडेरी, अतिवृष्टि हुँदा कृषि प्रणालीमा असर गर्ने छ नै, मानव जीवन नै चरम संकटमा पर्ने जोखिम उत्तिकै छ । अझ नेपाल जस्तो सामान्य विपद व्यवस्थापन गर्न समेत कठिनाई भोग्दै आएको मुलुकका लागि एन निनोले ल्याउने जोखिम सामना र व्यवस्थापन गर्न सहज हुने छैन । नेपालमा पनि सन् १९८० यता मात्रै नौ पटक एल निनोको असर भोगिसकेको छ ।
नेपाल र भारतसहितका दक्षिण एसियाली देशहरूमा एल निनोका कारण अहिले सुरु हुन लागेको मनसुन सकिने बेलामा कमजोर हुने र लामो खडेरी वा अधिक वर्षाजस्ता चरम अवस्था आउन सक्ने चेतावनी विज्ञहरूले दिइसकेका छन् । पृथ्वी तात्ने क्रम बढ्दै गर्दा देखिएको जलवायु संकटका कारण यो वर्ष एल निनोको असरबारे वैज्ञानिक अध्ययन र लेखाजोखा जारी रहेकाले त्यस्ता अध्ययन र लेखाजोखाका बारेमा निरन्तर जानकारी लिएर नेपालले जोखिम व्यवस्थापनको रणनीति बनाउन आवश्यक छ । हामीले केही गर्न सक्तैनौ भनेर खुम्चिएर बस्ने होइन्, केही गर्ने प्रयास गर्दा धेरै गर्न सकिन्छ । विपदको जोखिममा परेका नागरिकलाई सामना गर्ने सार्मथ्य जुटाउन सकिन्छ । लामो खडेरी हुने अवस्थाबाट बच्न पिउने पानी र सिँचाइका लागि सरकारी तथा सामुदायिकस्तरमा पानी संकलन र भण्डारणका उपाय अपनाउन सकिन्छ । एकैपल्ट धेरै वर्षा हुँदा हुने क्षति न्यूनीकरणका उपाय खोज्न सकिन्छ । जोखिमयुक्त ठाउँ पहिचान गरी सतर्कता अपनाएर मानवीय क्षति रोक्न सकिन्छ ।




