बुटवल । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले संविधानवाद र विधिको शासन मिच्न नदिन बार एशोसिएशन सधै संघर्षमा उत्रिन तयार रहेको बताएका छन् । उच्च अदालत बार एशोसिएशन बुटवलको ३२ औं साधारणसभा तथा २१ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भने ‘दुई तिहाईको सरकार भए पनि हामी बोल्न छाड्ने छैनौं, न्याय प्रणाली संकटमा फस्दै छ, तर संकटमा फस्न नदिन बारले तटबन्धको काम गर्छ ।’
प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनमा परम्परा तोडेको प्रसंग उठाउँदै बार अध्यक्ष मिश्रले कार्यपालिकाबाट प्रधानन्यायाधीश नियुक्तिमा नौ वर्षको सेटिङ भत्काइएको दाबी गर्ने तर अर्को ६ वर्षको सेटिङ गर्ने काम भइरहेको दाबी गरे ।
‘अहिले एल्गोरिदम व्याप्त छ, नेगेटिभिटी व्याप्त छ, यस्तो अवस्थामा बार एशोसिएशनले सबै पक्षलाई समेटेर स्वतन्त्र र सक्षम न्यायपालिका बनाउन लाग्नुपर्छ’ उनले भने । गरिबको लागि न्याय पाउन अझै असहज रहेको भन्दै उनले वकिलहरु निर्भिक भएर गोताखोरले झै न्याय खोज्न लागिपर्नुपर्ने बताए ।
सो अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका वरिष्ठ न्यायाधीश रमेश ढकालले पीडितको पहिलो पहुँच नै कानून व्यवसायीसंग हुने भएकाले कानून व्यवसायीले प्रारम्भिक न्यायाधीशको काम गर्नु पर्ने बताए । ‘न्यायिक स्वतन्त्रताको रक्षा हामीले गर्न सक्छौं तर न्यायपालिकामाथि हुने आक्रमणको प्रतिरक्षा बार एशोसिएशनले गर्न सक्छ’ उनले बताए ।
सो अवसरमा वरिष्ठ अधिवक्ता हरिप्रसाद पाण्डे, उच्च बार बुटवलका नवनिर्वाचित अध्यक्ष माधवप्रसाद घिमिरे, निवर्तमान अध्यक्ष गोविन्दप्रसाद मरासिनी, वरिष्ठ अधिवक्ता विनोद गौतम, वरिष्ठ अधिवक्ता प्रा.डा. बुद्धबहादुर थापा, रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्याधिवक्ता सन्देश श्रेष्ठ, उच्च बार बुटवलका पूर्व अध्यक्ष कैलाशचन्द्र ज्ञवाली, सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनी, जिल्ला अदालत बार एशोसिएशन रुपन्देहीका अध्यक्ष लयप्रसाद भट्टराई, उच्च बार बुटवलका उपाध्यक्ष हिमलाल न्यौपाने, नवनिर्वाचित सचिव लोकप्रसाद खरेल, निवर्तमान सचिव नगेन्द्र प्रसाद यादव लगायतले बोलेका थिए ।
उच्च अदालत बार एशोसिएशन बुटवलको गत जेठ १७ गते भएको निर्वाचनबाट अध्यक्षमा माधवप्रसाद घिमिरेसहित नयाँ नेतृत्व चयन भएको थियो । निर्वाचनबाट उपाध्यक्षमा ओमप्रसाद पंगेनी, सचिवमा लोकप्रसाद खरेल निर्वाचत भएका थिए । कोषाध्यक्षमा मिना महत जी.सी. तथा सहसचिवमा निशा कुमारी खरेल निर्विरोध निर्वाचित भएका थिए ।
त्यसैगरी सदस्यहरूमा बाबुराम न्यौपाने, मुन्नी न्यौपाने, चतुर्भुज पन्थ, दामोदर घिमिरे, रामप्रसाद भुसाल, मनोज श्रेष्ठ, संजिता पौडेल र कृष्णा रोका निर्वाचित भएका थिए ।
यस्तै, पार्षदहरूमा टुकराज पाण्डे, सिर्जना थापा, यमुना गुरुङ, विद्या घिमिरे, विष्णुप्रसाद भट्टराई, प्रकाशकुमार नेपाल, जीवनारायण अधिकारी र उद्धवचन्द्र गौतम निर्विरोध निर्वाचित भएका थिए ।




