२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

धम्कीको भाषा

धम्कीको भाषा

धम्कीको भाषा

धम्कीको भाषा

धम्कीको भाषा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • शासन सञ्चालनको जिम्मेवारीमा रहेकाहरू जब धम्कीको भाषा बोल्छन्, त्यसले त्रास बढाउँछ । आक्रोश जगाउँछ । दुई तिहाईको सरकारले आशा जगाउनुपर्ने हो, तर धम्कीको भाषा प्रयोग गरी त्रास बढाउने र आक्रोश बढाउने काम भएको छ । यसले अराजकता बढाएको छ । जिम्मेवार बन्नुपर्नेहरु नै गैरजिम्मेवार भएपछि समाजमा अराजकता बढ्ने स्वभाविक भयो ।


    प्रधानमन्त्री बालेन्द्र साहले पटक–पटक धम्कीको भाषा बोल्दै आएका छन् । अहिले मन्त्रीहरुले त्यसलाई पछ्याउँदै छन् । चुनावताका बालेन्द्रले धनगढी पुगेर भनेका थिए–‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्छ ।’ रास्वपाबाट प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवारले बोलेको यो भाषा विवादित बनेको थियो । बालेन शैलीमा  पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अहिले ठेकेदारको ‘खुट्टा भाँच्नु भनेर’ अभिव्यक्ति दिएका छन् । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएका हुन् । 


    मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भन्ने सार्वजनिक निर्देशन दिनुले विधिको शासनको खिल्ली उडाएको छ । काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने कानुनी प्रक्रिया छ । कानुनी प्रक्रियाअनुसार काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने कतै उल्लेख छैन । मन्त्री लम्सालले यसअघि पनि निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली प्रयोग गरेर नियन्त्रणमा लिएको विषय पनि विवादित बनेको थियो ।


     अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पछिल्ला दिन अशिष्ट सुनिएका छन् । मन्त्री वाग्लेले केही दिनअघि करका दरमा हेरफेर भएकोबारे प्रतिपक्षले प्रश्न गर्दा प्रश्न उठाउने सांसद र पार्टीकै काण्ड छानबिन गर्ने ‘धम्की’ दिएर विषयान्तर गरेका थिए । गत बिहीबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै डा. वाग्लेले आफूलाई पनि प्रश्न गर्नेका काण्डहरूको बारेमा थाहा भएको र ती काण्ड खुल्ने चेतावनी दिएपछि उनको अभिव्यक्तिको संसद बैठकमै विपक्षीहरूले विरोध जनाइरहेका छन् ।


    संसददेखि सडकसम्म प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका अभिव्यक्तिले मुलुकलाई लयमा हिडाउने बाटो खोलेको नभई अराजकता मौलाउने मौका दिएको छ । शिष्टता, मर्यादा र अनुशासनपूर्वक अघि बढ्दा नागरिकले शासन प्रणालीप्रति अपनत्व लिन्छन्, जब शासक उग्र बन्छन्, त्यसबेला समाजमा अराजकता मौलाउँछ । अराजकताको आगो झोसेपछि निभाउन कठिन हुन्छ । लोकप्रियतावादीहरुले विधि र पद्दतीलाई लयमा हिंडाउन ध्यान दिनुको साटो विधि र पद्दतीलाई कुल्चनुले मुलुकलाई कठिन दिशातिर धकेल्ने जोखिम बढेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij