पछिल्ला केही दिनदेखि सुस्ता अशान्त छ । भारतीय सीमा सुरक्षा बलले निरन्तर गरेको दुव्र्यवहारले सुस्तावासीमा आक्रोश चुलिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै संसदमा बोलेपछि सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई अभद्र व्यवहार गर्ने क्रम बढेको छ ।
नवलपरासी पश्चिमस्थित नारायणी नदीको पूर्वी किनारमा नेपालले बनाइरहेको तटबन्ध निर्माणमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीहरू नेपालतर्फ आएर तटबन्ध निर्माणमा रोक लगाएका छन् । सुस्ता गाउँपालिका–५ मा सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले दुई ठाउँमा तटबन्ध निर्माण गरिरहेको छ । एउटा १ सय मिटर लामो र अर्को १३२ मिटर लामो तटबन्ध निर्माणको काम अघि बढे पनि भारतीय पक्षले त्यसमा अवरोध गर्दै आएको छ । १३२ मिटर लम्बाइको तटबन्ध उपल्लो तहमा कुरा मिलाएर निर्माण सुरु गर्नुपर्ने भारतीय पक्षको दबाबले काम रोकिएको छ । सुस्तामा भारतीय दुव्र्यवहार नयाँ होइन्, पटक पटक नेपालीले दुव्र्यवहार झेल्दै आएका छन् । २०७० मा सुस्तामा सशस्त्र प्रहरी बलको इन्स्पेक्टरको कमाण्डमा बीओपी स्थापना गरेपछि दुव्र्यवहारको श्रृंखला रोकिएको हो । तर पछिल्ला दिनमा दुव्र्यवहार बढ्दा नेपालीलाई तनाव थपिएको छ । जेठ २९ मा भारतीय सुरक्षाकर्मीहरू नेपालतर्फ प्रवेश गरेपछि सुस्तावासीले प्रतिकार गरे । सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले होहल्ला गर्दै प्रतिकार गरेपछि आफ्नो बाटो लागे ।
नारायणी नदीले आफ्नो धार बदलेर पश्चिमतिर सरेपछि सुस्ताको सीमा विवाद बल्झदै आएको छ । सुस्ता क्षेत्रमा भारतले १४ हजार ५ सय हेक्टर भूमि अतिक्रमण गरेको छ । पहिलेदेखि बल्झदै आएको समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा सरकार गम्भीर नबन्दा अहिले झनै समस्या बल्झिएको छ ।
सीमा समस्याको समाधान सरकारको प्रष्ट नीति, अडान र छिमेकसँग प्रमाणको आधारमा वार्ता र छलफल गर्ने सार्मथ्यबाट नै गर्न सकिन्छ । तथ्य र प्रमाणको आधारमा वार्ता र छलफलका लागि कुटनीतिक तयारीमा लाग्नुपर्नेमा प्रधानमन्त्री नै तथ्यहिन ढंगले आफ्नो हात तलपर्ने गरी अभिव्यक्ति दिनु देशप्रतिको बेइमानी हो । मुलुकको सीमा जस्तो संवेदनशील विषयमा बोलेको विषयमा गलत मनशाय नराखेको, तर चिप्लिएको भए पनि प्रधानमन्त्रीले त्यसलाई गल्ती स्वीकार गर्न आवश्यक ठानेनन् । प्रधानमन्त्रीको भनाइले सीमा समस्यामा भारतीय पक्ष खेल्ने मौका पाएको छ । सीमा समस्याको वास्तविक भोगाई सुस्तावासीलाई छ । उनीहरुका समस्या समाधान गर्नु भनेको देशको सीमा जोगाउनु हो । शासकले नागरिकका आवाज र पीडा सुनेर बोल्दा मात्रै आफ्नो हित रक्षा हुन्छ ।




