२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मन्त्रीको घरको पेटीबाट उखु पेल्ने मेसिन जफत र व्यवसायीमाथि हातपातको घटना के हो ?

मन्त्रीको घरको पेटीबाट उखु पेल्ने मेसिन जफत र व्यवसायीमाथि हातपातको घटना के हो ?

व्यक्तिको निजी सम्पत्तिको नैसर्गिक अधिकारमाथि कसैको ठाडो निर्देशनमा नगर प्रहरी र फोहोर मैला व्यवस्थापनका ठेकेदारले गैरकानुनी दादागिरी गरेको पीडितको गुनासो छ ।

मन्त्रीको घरको पेटीबाट उखु पेल्ने मेसिन जफत र व्यवसायीमाथि हातपातको घटना के हो ?

मन्त्रीको घरको पेटीबाट उखु पेल्ने मेसिन जफत र व्यवसायीमाथि हातपातको घटना के हो ?

व्यक्तिको निजी सम्पत्तिको नैसर्गिक अधिकारमाथि कसैको ठाडो निर्देशनमा नगर प्रहरी र फोहोर मैला व्यवस्थापनका ठेकेदारले गैरकानुनी दादागिरी गरेको पीडितको गुनासो छ ।

मन्त्रीको घरको पेटीबाट उखु पेल्ने मेसिन जफत र व्यवसायीमाथि हातपातको घटना के हो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३

  • लुम्बिनी संवाददाता
    बुटवल
    मंगलबार बिहानै बुटवलको ट्राफिकचोकबाट बुटवल उप–महानगरले नगर सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । नगर सरसफाइका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षा निकाय, विद्यार्थी, उप–महानगरका नगरप्रमुख खेलराज पाण्डेय, नगर प्रहरी र कर्मचारीहरु आएका थिए । 


    सरसफाइ सुरु भएको केही बेरमै ट्राफिकचोकबाट केही दक्षिणतर्फ सिद्धार्थ राजमार्ग छेउमै रहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको घर अगाडि आइपुग्दा माहोल फेरियो । बिहान साढे ७ बजेतिर सरसफाइ गर्न आएको मेयर पाण्डेयसहितको टोली र मन्त्री कार्कीको घरमा होटेल र घरकै पेटीमा उखु पेल्ने काम गर्दै आएका गोकर्ण रायमाझीबिच विवाद, धकेलाधकेलको स्थिति बन्यो । त्यही क्रममा नगरप्रमुख पाण्डेयले घरको पेटी जुन भाग सडक क्षेत्रमा पर्दैन, त्यहाँ राखिएको उखु पेल्ने मेसिन उठाएर लैजान ठाडो निर्देशन दिएपछि विवाद बढेर हात हालाहाल र धकेलाधकेलको अवस्थामा पुग्यो ।

    नगर प्रहरीले व्यवसायी रायमाझीलाई धकेल्दै मेसिन उठाएर उप–महानगरको गाडीमा हाले । त्यसमा बुटवल उप–महानगरबाट फोहोर व्यवस्थापनको ठेक्का पाएको सुन्दर नेपाल प्रालिका प्रतिनिधि बलभद्र पुरीले पनि रायमाझीमाथि हातपात गरे । उप–महानगरको टोलीले उखु पेल्ने ठाउँ अगाडि उखु पेल्दा निस्कने छोक्रा सडकको सर्भिस लेनभन्दा बाहिर फ्याँकेर फोहोर गरेको आरोप लगाउँदै पसल धनी रायमाझी आफैँले उक्त फोहोर टिपेर हटाउनुपर्ने दबाब दिएका थिए । पसल धनी रायमाझीले भने त्यहाँ रहेको फोहोर आफूले नदेखेको, आफ्नै पसलबाट फ्याँकिएको भन्ने यकिन पनि नभएको तर्क गर्दै कर्मचारीलाई फोहोर हटाउन लगाउने भनेका थिए । त्यत्तिकैमा नगर प्रमुख पाण्डेयले आफैँले फोहोर गर्ने अझ ठूला कुरा गर्ने भन्दै उखु पेल्ने मेसिन उठाएर लैजान निर्देशन दिएपछि आफूलाई पीडा भएर आक्रोशमा आएको रायमाझीले बताए । ‘मेयरले नै ठाडो निर्देशन दिएर मेसिन उठाएर लैजा भनेपछि म पनि आक्रोशमा आउनु स्वभाविक थियो, तै पनि मैले गर्न नहुने, बोल्न नहुने केही गरेको बोलेको थिइन,’ रायमाझीले भने–‘सडकमा फोहोर कस्ले फाल्यो त्यो मलाई थाहा भएन, उनीहरुले एकोहोरो आरोप लगाए, त्यहाँ हेर्दा देखिने गरी फोहोर पनि थिएन, कर्मचारीले फालेका हुन पनि सक्छन् भनेर मैले केटाहरुलाई फोहोर उठाउन बोलाएको थिए, दुई जना बोरा लिएर बाहिर आउँदै पनि थिए, तर ममाथि नगर प्रहरी र फोहोरको ठेकेदारबाट हातपात भयो, सबैका अगाडि मेरो सार्वजनिक बेइज्जत गरियो ।’ 


    रायमाझीले विद्यार्थी र अरु मान्छे ल्याएर सरसफाइ गर्ने आफूले फोटो भिडियो खिचाएर मिडियाबाट प्रचार गराउने काम भएको भनेपछि नगरप्रमुख, नगर प्रहरी र ठेकेदार आफूविरुद्ध उत्रिएको रायमाझीले गुनासो गरे । 
    सडक क्षेत्रभन्दा बाहिर घरको पेटीमा राखिएको मेसिन उठाएर लैजानू र व्यवसायीमाथि नगर प्रमुखकै निर्देशनमा हातपातमा उत्रिनुले आफूले  असुरक्षित महससुह गरेको र मिडियामार्फत् भिडियोसहित प्रचार हुँदा सार्जजनिक बेइज्जत र मानहानी भएको उनले गुनासो गरे । 


    ‘२०७९ को चुनावमा खेलराज पाण्डेयलाई जिताउन सबै खालको सहयोग गरेको थिएं, हामी एउटै पार्टीका मान्छे हौं, तर अहिले आएर उहाँको व्यवहार र शैलीबाट निकै ठूलो पीडा भएको छ,’ रायमाझीले भने–‘मैले कुनै गल्ती गरेको थिइन, सडक क्षेत्रमा व्यवसाय गरेको पनि छैन, उखु पेल्दा निस्कने फोहोर कार्टुनमा जम्मा गरेर फोहोर बोक्न आउने गाडीलाई दिन्थ्यौं, आज त गाडी पनि आएको थिएन अनि सडकमा देखिएको फाहोरको जिम्मा मैले लिन मिल्छ त ? यो कस्तो नियम कानुन हो ? ’ 
    आफूले उपमेयरसँग सल्लाह गरेर पुरानो ठूलो मेसिनले फाहोर हुन सक्छ भनेर त्यसलाई हटाएर ६० हजारमा सानो आधुनिक मेसिन राखेको बताए ।  उखु पेल्ने मेसिन राखे वापत मासिक ५ सय रुपैयाँ र होटेल सञ्चालन वापत मासिक एक हजार ५० रुपैयाँ मासिक फोहोर मैला शुल्क तिर्दै आएको रायमाझीले बताए ।

     
    आफूमाथि हातपात र मेसिन उठाएर लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली कांग्रेसका विभिन्न व्यक्तिबाट मेसिन फिर्ता दिइहाल्छ मिलेर जानुपर्छ भन्दै आफूलाई फकाउने प्रयास भएको, तर आफूले नमानेको रायमाझीले बताए । 
    ‘मलाई मिडियामार्फत् बेइज्जत हुने गरी जसरी गलत प्रचार गराइयो, अब मेयर, नगर प्रहरी र ठेकेदारले मेरै पसल अगाडि मिडिया राखेर  हामीबाट गल्ती भयो भन्नुपर्छ, अन्यथा कानुनी उपचार खोज्नुको विकल्प छैन ।’–रायमाझीले भने । व्यवसायीको तर्फबाट सानोतिनो कमजोरी भएकै रहेछ भने पनि अब फाहोर नगर्नु भनेर जरिवाना लिएको भए वा एक दुई दिनको अल्टिमेटम दिन पनि सकिन्थ्यो, तर मेयर,नगर प्रहरी र फोहोरका ठेकेदारले कानून हातमा लिएर गैर कानुनी हर्कत गरेको व्यवसायी मनोज रायमाझीले बताए । 


     ‘उपमहानगरको तर्फबाट भएको ज्यादतीले मनोबल गिरेको र व्यवसाय गर्ने कि छाड्ने भन्ने अन्योलता सिर्जना भएको उनले बताए । ‘सम्झाएर, बुझाएर समाधान हुने कुरामा गैरकानुनी ठाडो निर्देशन दिने परिपाटीले व्यवसायिक वातावरण बिग्रंदै गएको छ, यसतर्फ निजी क्षेत्रका संस्थाहरु बोल्नुपर्छ ।’–मनोजले भने । 


    घरधनी मन्त्री धनेन्द्र कार्कीका भाइ दिलिप कार्कीले बुटवल उप–महानगरका नगरप्रमुख खेलराज पाण्डेयले व्यक्तिको निजी सम्पतिभित्र रहेको व्यवसायको सामान उठाएर लैजान दिएको ठाडो निर्देशन गैरकानुनी र निन्दनीय रहेको बताए । उखु पेल्ने मेसिन राखेको ठाउँ नितान्त घरको पेटी भएको र यो सडकको क्षेत्राधिकारभित्र नपर्ने कार्कीले स्पष्ट पारे । 


     कसैले गल्ती नै गरेको भए पनि कानुनी राज्यमा बिक्री प्रकृयासम्मत कारबाही गर्नुपर्नेमा अर्काको सामान उठाएर लैजाने र व्यवसायीमाथि नगर प्रहरी लगाएर हातपात गर्नु निन्दनीय र आपत्तिजनक रहेको कार्कीले बताए । उपमहानगरको कार्यशैली र रवैयाले बुटवलको व्यवसायिक वातावरण दिनप्रतिदिन खस्किंदै गएको र छिमेकी पालिकाहरु तिलोत्तमा, सैनामैनातिर व्यवसायीहरु स्थानान्तरण भइरहेको कार्कीले बताए । 


     ‘नगर प्रमुख जस्तो व्यक्तिले कानुन हातमा लिएर अर्काको पसलको मेसिन उठाएर लैजा भनेर नगर प्रहरीलाई निर्देशन दिन मिल्छ ?,’ प्रश्न गर्दै कार्कीले भने–‘मेयरको ठाडो निर्देशनमा नगर प्रहरी र फोहोर मैलाका ठेकेदारले गैरकानुनी दादागिरी गरेका छन्, यसले विधि र कानुनी शासनको धज्जी उडाएको छ, उनीहरुले माफी नमागे यसविरुद्ध हामी कानुनी उपचार पनि खोज्न सक्छौं ।’  


    यसअघि बुटवल उप–महानगरका जनप्रतिनिधिकै साथमा नगर प्रहरीले बुटवलका फेन्सी पसल, भाँडा पसल, सिरक डसना पसलहरुमा गएर जबरजस्त सामान कब्जामा लिएको थियो । उक्त घटनाको चौतर्फी आलोचनापछि नगर प्रमुख पाण्डेयले कमजोरी स्वीकार्दै आइन्दा त्यस्तो व्यवहार नगर्ने भाषण गरेका थिए । तर मंगलबार फेरि पुरानै प्रवृत्ति दोहोरिएपछि सामाजिक सञ्चालमा चर्को आलोचना भइरहेको छ । 


    उक्त घटनाकी प्रत्यक्षदर्शी उपमहानगरकी अधिकृत देवका पोखरेलले उखु पेल्ने पसल अगाडि फोहोर देखिएपछि विवाद भएको बताइन् । पसल धनीले नगर प्रमुख र नगर प्रहरीले भनेपछि आफैँले फोहोर उठाएको भए मेसिन उठाएर लैजान नपर्ने उनले जिकिर गरिन् ।


    उप–प्रमुख सावित्रादेवी अर्यालले आफू सरसफाइ कार्यक्रममा नगएको बताइन् ।   होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले संघका कार्यसमिति सदस्य समेत रहेका व्यवसायी रायमाझीमाथि  बुटवल उपमहानगरका जनप्रतिनिधि, नगर प्रहरीबाट भएको ज्यादती निन्दनीय र आपत्तिजनक रहेको बताए । स्थानीय सरकार व्यवसायीको अभिभावक हुनुपर्नेमा सस्तो लोकप्रियता र भाइरल हुने होडबाजीमा लागेर व्यवसायीमाथि पटक पटक ज्यादती हुने गरेको भन्दै यस्ता गैरकानुनी गतिविधि रोक्न माग गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij