अनिल नेपाली-अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका–९ का वडा अध्यक्ष भीम बहादुर केसीले आफू निर्वाचित भएपछि वडाको विकासले तीव्रता पाएको बताएका छन्।
सगरमाथा आधारभूत विद्यालयमा आयोजित पुरस्कार वितरण तथा अभिभावक भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले भौतिक पूर्वाधार, भवन निर्माण, सडक, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। उनले सीमित स्रोतसाधन र बजेटका बीच पनि वडाले विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए।
वडा नम्बर ९ प्रदेश राजधानीको केन्द्रका रूपमा रहेको उल्लेख गर्दै अध्यक्ष केसीले वडाको समग्र विकासका लागि आफू निरन्तर क्रियाशील रहेको बताए। विद्यालय सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको उनको भनाइ थियो। विद्यालयको विकास र प्रगतिका लागि आवश्यक सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
अध्यक्ष केसीले आफू निर्वाचित भएको नौ वर्षको अवधिमा वडामा उल्लेखनीय काम गरेको दाबी गर्दै विकासका कामलाई ओझेलमा पार्ने र काम गर्ने व्यक्तिलाई अपमानित गर्ने प्रवृत्ति बढेको टिप्पणी गरे। यस्ता चुनौतीका बीच पनि आफूले ‘समुन्नत वडा, समुन्नत सितगंगा’को सपना बोकेर काम गरिरहेको उनले बताए।
पछिल्लो २५ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका केसी पदमा हुँदा वा नहुँदा पनि सितगंगाको विकासका लागि निरन्तर लागिपरेको स्थानीयवासी बताउँछन्।




