अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ९ को आयोजनामा तथा दलित चेतना विकास परिषद् अर्घाखाँचीको सहजीकरणमा जनजाति तथा दलित विशेष कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै वडा अध्यक्ष भीमबहादुर केसीले समतामूलक समाज निर्माण आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो।
उहाँले नेपालमा कानुनी रूपमा छुवाछूत अन्त्य घोषणा गरिए पनि व्यवहारमा अझै विभेद कायम रहेको उल्लेख गर्दै जातीय विभेद तथा छुवाछूत मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताउनुभयो। यसको अन्त्यका लागि राज्य, स्थानीय तह, नागरिक समाज तथा आम नागरिकको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।
अध्यक्ष केसीले संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको स्मरण गराउँदै जातीय आधारमा हुने कुनै पनि प्रकारको विभेद कानुनले निषेध गरेको बताउनुभयो।
दलित समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक सशक्तीकरण बिना समतामूलक समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै उहाँले सचेतना अभिवृद्धि, कानुनको प्रभावकारी कार्यान्वयन तथा अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वडा सचिव खगेन्द्र तिरुवा, सगरमाथा आधारभूत विद्यालयका पूर्व अध्यक्ष तथा समाजसेवी चुमान परियार, प्रधानाध्यापक कृष्णप्रसाद गुप्ता तथा नवनिर्वाचित अध्यक्ष रमेश रोकाहालगायतले मन्तव्य व्यक्त गर्दै सामाजिक समावेशीकरणलाई व्यवहारमा उतार्न स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।
उहाँहरूले विभेदविरुद्धको अभियान गाउँ–टोलसम्म विस्तार गर्न र युवा पुस्ताले समानता, सहिष्णुता तथा मानव मर्यादाको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
अधिकारकर्मी तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य राधा नेपाली र पत्रकार अनिल नेपालीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम वडा सदस्य अमृता विकको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य पुष्पा गाहा, वडा सदस्य खुमबहादुर लुम्चेलगायतको सहभागिता रहेको थियो।




