कम्प्युटर र इन्टरनेटको प्रयोग गरी कसैलाई धम्क्याउने, चरित्रहत्या गर्ने र अवैध ढंगले आर्थिक लेनदेन गर्ने बढेको छ । सूचना प्रविधिको प्रयोगले मान्छेको दैनिकी सहज र छरितो भएको मात्रै छैन, यसले समाजमा नकारात्मक कामलाई समेत बल पु¥याएको छ ।
अहिले हरेकको हात–हातमा स्मार्ट मोबाइल उपलब्ध छ । इन्टरनेटको सहज पहुँच छ । २०७८ को जनगणनाअनुसार नेपालमा ३७ प्रतिशत घरपरिवारमा इन्टरनेटको पहुँच पुगेको छ । ग्रामीण क्षेत्रमा भन्दा धेरै शहरी क्षेत्रमा इन्टरनेट प्रयोगकर्ता परिवारको संख्या धेरै छ । अझ जनगणना भएको तीन वर्ष बितिसकेको छ, यो बिचमा इन्टरनेट प्रयोगकर्ताको संख्या अझैँ धेरै छ । इन्टरनेटको विस्तार र स्मार्ट फोनको प्रयोगकर्ता बढेसँगै समाजमा नागरिकको सम्पर्क र सम्बन्ध भर्चुअल विस्तार भएको छ । भर्चुअल सम्बन्ध विस्तार हुँदा बनेका सम्बन्धको विश्वासमा पर्दा समाजमा अपराध बढेको छ । खाताबाट नै पैसा चोरी हुने, धम्क्याएर पैसा माग्ने र व्यक्तिको इज्जत प्रतिष्ठामा असर पुग्ने गरी क्रियाकलाप गर्ने प्रवृत्ति बढेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा ६ सय २१ साइबर अपराधका उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८०-०८१ मा १ हजार ३ सय ७३ उजुरी परेका थिए । यो तथ्याङ्क हेर्दा समाजमा साइबर अपराधको ग्राफ विस्तार भइरहेको देखिन्छ ।
विभिन्न सरकारी निकायको वेभसाइट नै ह्याक गरी पैसा माग्ने प्रवृत्ति बढेको छ । चिठ्ठा परेको छ, बधाई छ भन्दै प्रलोभनमा पारेर पैसा असुली गर्ने ठूलै गिरोह सक्रिय छ । बैंकबाट फोन गरेको भन्दै ओटिपी कोड मागेर खाताबाट पैसा चोर्ने गिरोह पनि उत्तिकै सक्रिय छ । घरमा पैसा राख्दा चोरी डकैती हुने जोखिम हुन्छ । ढंग नपु¥याउँदा अर्थात् साइबर सुरक्षामा ध्यान नदिँदा बैंकमा राखेको पैसा पनि सुरक्षित छैन । साइबर सुरक्षामा ध्यान दिँदा बैंकमा राखेको पैसा चोरी हुन सक्तैन् । साइबर अपराधका घटना बढ्न थालेपछि प्रहरीले सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ । नागरिकलाई सचेत हुन आग्रह गर्दै आएको छ ।
सूचना प्रविधिको विकाससँगै अपराध बढ्न थालेपछि प्रहरीले साइबर अपराध व्यूरो गठन गरी अनुसन्धान अघि बढाउन थालेको छ । प्रहरी सक्रियताले मात्रै साइबर अपराध नियन्त्रण संभव छैन । साइबर अपराधलाई नियन्त्रण गर्न साइबर व्यूरोलाई साधनस्रोतले सम्पन्न बनाउनुपर्ने देखिन्छ । पर्याप्त साधन स्रोतको अभावमा प्रहरीले अनुसन्धान गरी अभियुक्तलाई कानुनी कारबाहीको दायरामा ल्याउन कठिन भइरहेको । नागरिकमा डिजिटल साक्षरता आवश्यक छ । डिजिटल सामग्री उपभोग गर्ने, तर त्यसलाई प्रयोग गर्दा ख्याल गर्नुपर्ने विषयप्रति ध्यान नदिने प्रवृत्तिले अहिले समाज साइबर अपराधीको जालोमा परेको छ । समाजमा डिजिटल साक्षरता विस्तार गर्न सके साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न संभव छ ।




