गुल्मी । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहमा संयुक्त बजार अनुगमन गरेको छ। सत्यवती गाउँपालिका, कालिगण्डकी गाउँपालिका र छत्रकोट गाउँपालिकामा सञ्चालन गरिएको अनुगमनमा ६० वटा व्यवसायिक फर्मको निरीक्षण गरिएको हो।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको संयोजकत्व तथा जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा सम्पन्न अनुगमन असार १ देखि ४ गतेसम्म सञ्चालन गरिएको थियो। बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने उद्देश्यले गरिएको अनुगमनमा किराना, गल्ला, फेन्सी, कस्मेटिक, होटल–रेष्टुरेन्ट तथा अन्य खुद्रा पसलहरूको अवस्था मूल्याङ्कन गरिएको कार्यालयले जनाएको छ।
अनुगमनका क्रममा अधिकांश व्यवसायिक फर्मले व्यवसाय दर्ता प्रमाणपत्र, एब्ल् नम्बर सहितको साइनबोर्ड तथा मूल्यसूची प्रदर्शन नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिव अर्यालले जानकारी दिनुभयो। खरिद–बिक्री सम्बन्धी बिल व्यवस्थित रूपमा नराखिएको, खाद्य तथा अखाद्य सामग्री एकै स्थानमा भण्डारण गरिएको र सरसफाइमा समेत कमजोरी देखिएको उहाँको भनाइ छ।
अनुगमन टोलीले करिब १० वटा पसलमा सुजी, मैदा, बेसन, कोक, चिप्सलगायतका म्याद गुज्रिएका खाद्य सामग्री फेला पारेको जनाएको छ। ती सामग्रीसहित करिब १५ हजार ९ सय ९५ रुपैयाँ बराबरका अखाद्य तथा म्याद नाघेका वस्तु जफत गरी प्रहरी चौकी खज्याङ्गको रोहवरमा नष्ट गरिएको छ।
यस्तै, तीन वटा व्यवसाय दर्ता बिना सञ्चालन भइरहेको तथा आठ वटा व्यवसायले अन्तःशुल्क इजाजतपत्र बिना मदिरा तथा सुर्तीजन्य वस्तुको कारोबार गरेको पाइएको छ। सम्बन्धित व्यवसायीलाई सात दिनभित्र आवश्यक कागजात पूरा गर्न निर्देशन दिइएको लेखा अधिकृत नारायण प्रसाद पन्थीले बताउनुभयो।
होटल तथा रेष्टुरेन्टहरूको निरीक्षणका क्रममा भान्सा तथा खाद्य भण्डारण क्षेत्रमा सरसफाइ कमजोर रहेको र व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता देखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका नायब सुब्बा मेघ प्रसाद पोखरेलले जानकारी दिनुभयो।
अनुगमनका क्रममा सत्यवती गाउँपालिका–२ चेहमी तथा ठुलोलुम्पेक क्षेत्रको बजार विकास र स्थानीय उत्पादनको व्यवसायीकरणले टोलीलाई सकारात्मक प्रभाव पारेको संयोजक अर्यालले बताउनुभयो। उहाँका अनुसार मोटरबाटो विस्तारसँगै स्थानीय उत्पादनले बजार पाउन थालेको छ।
ठुलोलुम्पेक क्षेत्रका कृषकहरूले ताजा तरकारी, खसी–बोका, कुखुरा, अण्डा र दूध उत्पादनमार्फत वार्षिक करिब डेढ करोड रुपैयाँ बराबरको कृषि उपज बुटवल बजारमा पठाउने गरेको कृषक ईन्द्र विश्वकर्माले जानकारी दिनुभयो। विगतमा दैनिक उपभोग्य तरकारीसमेत खेर जाने अवस्था रहेको क्षेत्र अहिले क्रमशः आत्मनिर्भर बन्दै गएको उहाँको भनाइ छ।
अनुगमनका क्रममा व्यवसायीहरूमा कानुनी सचेतना बढ्दै गएको पाइएको छ। अधिकांश व्यवसायीले टोलीलाई सहयोग गरेको तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिताले अनुगमनलाई थप प्रभावकारी बनाएको कार्यालयले जनाएको छ।
अनुगमनपछि व्यवसायीहरूलाई व्यवसाय दर्ता, मूल्यसूची प्रदर्शन, सरसफाइ, लेबलिङ तथा उपभोक्ता हितसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ। यसबाट बजारलाई थप व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




