प्रकाश डोटेल
स्याङ्जा
परम्परागत खेतीलाई आधुनिक बनाउने अभियानअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । उत्पादन लागत घटाउनु र व्यवसायिक खेती विस्तारमा टेवा पु¥याउने उद्देश्यले कृषि औजार वितरण गरिएको हो ।
चालू आर्थिक वर्ष २०८२-८३ मा यान्त्रिकीकरण कार्यक्रमअन्र्तगत ३२ वटा डिजेल इन्जिन, २० वटा पेट्रोल इन्जिन गरी ५२ वटा हाते ट्याक्टर र १८ वटा कम्बाइन्ड मिल कृषकलाई हस्तान्तरण गरिएको छ । कृषकले पेट्रोल इञ्जिनसहितको हाते ट्याक्टर १९ हजार ५ सय, डिजेल इन्जिनसहितको हाते ट्याक्टर २६ हजार र २० हजार रुपैयाँमा कम्बाइन्ड मिल प्राप्त गरेका छन् ।
कृषि उत्पादन बढाउने र व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले मागका आधारमा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए । आर्थिक वर्ष २०८२-८३ मा यान्त्रिकीकरण कार्यक्रमतर्फ १५ लाख रुपैयाँ मूल्य बराबरका कृषि औजार हस्तान्तरण गरिएको लम्सालले जनाए ।
नगरपालिकाले चालु वर्षमा कृषि औजारसँगै उत्पादन र उत्पादकत्व वृद्धि गर्न उन्नत जातका धान, मकै, गहुँ, सुन्तला, कागती, अन्य फलफूलका बिउलगायतका बिरुवाहरु समेत ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । भौगोलिक र वातावरणीय प्रभावलाई ध्यानमा राखेर भूगोल सुहाउँदो कृषिमा नगरपालिकाले प्राथमिकता दिँदै आएको छ ।
भीरकोट नगरपालिकाले पछिल्ला केही वर्षदेखि कृषि क्षेत्रमा नयाँ अभ्यासहरू गर्दै आएको छ । २० रोपनी बाँझो जमिनमा व्यवसायिक तरभुजा खेतीको परीक्षण सफल गरेको नगरपालिकाले स्थानीय कृषकको समूह निर्माण गरेर करिब एक सय २५ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती विस्तार तथा नयाँ र उत्पादन वृद्धि गर्ने कृषिमा केन्द्रित हुँदै गएको छ ।
नगरपालिकाले तरकारी, दूध तथा मासु उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले जनाए । स्थानीय तहको अगुवाइमा कृषि पेशालाई थप आकर्षक र उत्पादनमुखी बनाउन मद्दत पुगेको स्थानीय कृषकले जनाएका छन् ।




