अर्घाखाँची । शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक प्रविधिसँग जोड्दै श्री भृकुटी आधारभूत विद्यालय, सन्धिखर्क–६ नरपानी प्रविधिमैत्री शिक्षातर्फ अग्रसर भएको छ।
यसै क्रममा विद्यालयले शिक्षक तथा कर्मचारीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “ICT र AI Simulation को प्रयोग सम्बन्धी क्षमता विकास कार्यक्रम” सञ्चालन गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि (ICT), कृत्रिम बुद्धिमत्ता (AI), ChatGPT तथा Simulation Tools को प्रयोगबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द चुडालीको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रशिक्षक गोविन्द पौडेलले सहभागीहरूलाई आधुनिक डिजिटल उपकरण तथा शैक्षिक सामग्रीहरूको प्रयोगसम्बन्धी प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका क्रममा शिक्षकहरूलाई प्रविधिको प्रयोगमार्फत कक्षाकोठालाई थप प्रभावकारी, सिर्जनात्मक तथा विद्यार्थीकेन्द्रित बनाउने उपायबारे जानकारी गराइएको थियो। सहभागीहरूले प्रशिक्षणलाई समयसापेक्ष, ज्ञानवर्द्धक तथा शिक्षण सिकाइमा प्रत्यक्ष उपयोगी भएको बताएका छन्।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक जयराम घिमिरेले विद्यालय अब परम्परागत शिक्षण पद्धतिबाट प्रविधिमैत्री शिक्षातर्फ उन्मुख भइरहेको बताए । उनले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै विद्यालयलाई डिजिटल शिक्षाको नमुना केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
विद्यालयका शिक्षक तथा कर्मचारीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्दै गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाको विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएकाे प्रध्यानाध्यापक जयराम घिमिरेले बताए । यस्ता कार्यक्रममार्फत भृकुटी आधारभूत विद्यालय आधुनिक प्रविधिसँग शिक्षालाई जोड्दै डिजिटल रूपान्तरणको यात्रामा अघि बढिरहेको घिमिरेकाे भनाइ छ ।




