उत्पादनमुखी अभियानमा अब्बल काम गरिरहेको रिब्दीकोट गाउँपालिकाले व्यवसायिक कृषिमा किसानलाई आकर्षित गर्न एक बोट सयको नोट कार्यक्रम ल्याएको छ । पालिकाले किसानलाई फलफूलका बिरूवा लगाउन प्रेरित गर्दै यो कार्यक्रम ल्याएको हो । पालिकाका ३ सय ८८ किसानले मौसम, सुन्तला, कागती र कफिका ३७ हजार बिरूवा माग गरेका छन् ।
पहाडमा व्यवसायिक तरकारी र फलफूलको प्रचुर सम्भावना छ । स्याङ्जामा सुन्तलाको व्यवसायिक खेती विस्तार हुँदा वर्षेनी किसानले करोडौं भित्र्याएका छन् । गुल्मीमा पनि सुन्तला खेतीको विस्तार भइरहेको छ । रिब्दीकोटमा सुन्तला खेतीको सम्भावना रहेको र यहाँ अकबरे खुर्सानीको व्यवसायिक उत्पादन भइरहेको छ । यहाँका किसानले गत वर्ष खुर्सानी बेचेर ६ करोड रुपैयाँ भित्र्याए । किसानले व्यवसायिक उत्पादनबाट आम्दानी लिन थालेपछि पालिकाले योजनाबद्ध पहलकदमी लिएको हो । पालिका उत्पादनका केन्द्र हुन् । एक पालिका एक उत्पादनको मोडलमा हरेक पालिकालाई उत्पादनको केन्द्र बनाउनुपर्छ सोंच संघीय सरकारले केही वर्षअघि नै सारिसकेको छ । पालिकालाई उत्पादनको केन्द्र बनाएर काम गर्दा वैदेशिक रोजगारी र बसाईसराइलाई रोक्न सकिने सम्भावना प्रचुर छ । विभिन्न कारणले शहर छिरेकाहरु गाउँ उत्पादनको केन्द्र भएपछि गाउँ फर्कन बाध्य हुन्छन्, रिब्दीकोटमा केही युवा गाउँ फर्केका छन् । जहाँ आर्थिक ढंगले चलायमान हुन्छ, त्यहाँ धेरै सम्भावना देखिन्छ ।
हरेक वडामा नमूना फलफूल तथा जडीबुटी बगैंचा निर्माण कार्यक्रम पालिकाले सुरु गरेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादनमार्फत् किसानको आयआर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाको अपेक्षा छ । किसानको आर्थिक भार कम गर्न पालिकाले चार वर्षसम्म नगद सहयोग गर्ने योजना बनाएकाले उत्पादन लागतमा किसानलाई राहत हुनेछ । अभियानमा सहभागी हुन न्यूनतम ५० वटा बिरुवा रोप्नुपर्छ । किसानलाई पहिलो वर्ष प्रतिबिरुवा एक सय रुपैयाँ, दोस्रो वर्ष ७५ रुपैयाँ, तेस्रो वर्ष ५० रुपैयाँ र चौथो वर्ष २५ रुपैयाँका दरले नगद प्रोत्साहन उपलब्ध गराउने योजना अघि सारेको छ ।
पालिकालाई उत्पादनको केन्द्र बनाउन रिब्दीकोटको मोडल उदाहरणीय हुनसक्छ । अरु पालिकाले पनि रिब्दीकोटबाट सिकेर अघि बढौँ ।




