बुटवल । देशभरि निजी शिक्षण संस्थामा साढे ३७ लाख विद्यार्थी रहेको सरकारी सर्वेक्षणबाट देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१’ अनुसार देशभरिका निजी शिक्षण संस्थामा ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत देखिएको छ ।
सर्वेक्षण आर्थिक वर्ष २०८०-८१ लाई आधार मानेर गरिएको हो । सन्दर्भ वर्षमा यसमध्ये पूर्वप्राथमिक तहमा ९ लाख ३२ हजार, आधारभूत शिक्षा (कक्षा १–८ सम्म) १८ लाख ६४ हजार र माध्यमिक तहमा ४ लाख ९१ हजार विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै उच्च शिक्षामा ४ लाख ६६ हजार र प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रिडिप्लोमा तथा डिप्लोमा तहमा जम्मा ३५ हजार ६ सय ८८ विद्यार्थी रहेको कार्यालयले जनाएको छ ।
उच्च शिक्षा अध्ययन गर्ने ४ लाख ६६ हजार विद्यार्थीमध्ये २ लाख १४ हजार ९ सय ९७ अर्थात् करिब ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेशमा रहेको तथ्यांक छ ।
संकायगत हेर्दा निजी शिक्षण संस्थामा सबैभन्दा धेरै उच्च शिक्षा लिने व्यवस्थापन तथा वाणिज्य संकायका २ लाख ३६ हजार ५ सय ८१ जना छन् । शिक्षा संकायमा १ लाख १२ हजार ७ सय ७६, मानविकी तथा सामाजिक शास्त्रमा ४१ हजार ९, विज्ञान तथा प्रविधि अध्ययन संकायमा ३६ हजार १ सय ५९ र इञ्जिनियरिङमा २१ हजार ७ सय ३९ विद्यार्थी रहेको देखिन्छ ।
नेपालका निजी शिक्षण संस्थामा ३ लाख भन्दा बढी व्यक्तिले रोजगारी पाएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको छ ।
सर्वेक्षण अनुसार ३ लाख ११ हजार ५१६ जना व्यक्ति निजी शिक्षण संस्थामा संलग्न रहेको देखिएको छ । यो सरकारी शिक्षण संस्थाबाहेकको संख्या हो । यीमध्ये ३ लाख २१ जना तलब-ज्याला पाउने कर्मचारी रहेको देखिएको छ । तलब–ज्याला पाउनेमध्ये २ लाख २१ हजार ५०४ जना शिक्षक र ७८ हजार ५१७ जना गैर–शिक्षक कर्मचारी रहेको तथ्यांकबाट देखिएको छ ।
शिक्षण संस्थामा कार्यरत जनशक्तिमध्ये ८१ प्रतिशत पूर्णकालीन र १९ प्रतिशत पार्टटाइमका छन् । गैरशिक्षकतर्फ ९६ प्रतिशत पूर्णकालीन र ४ प्रतिशत पार्टटाइम कर्मचारी रहेको सर्वेक्षणबाट देखिएको छ । कर्मचारीमध्ये १ लाख ४५ हजार पुरुष र १ लाख ५४ हजार महिला रहेको देखिएको छ । यसरी हेर्दा निजी शिक्षण संस्थामा काम गर्ने कर्मचारीमा महिलाको संख्या अधिक रहेको छ ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख १७ हजार २२९ जनालाई रोजगारी सिर्जना भएको देखिन्छ । जुन पूर्ण रोजगारीको एक तिहाईभन्दा बढी हो । कोशी प्रदेशमा ४८ हजार ७१०, मधेशमा ४० हजार ३३३, लुम्बिनीमा ४३ हजार १२०, गण्डकीमा २४ हजार ५५८, सुदूरपश्चिमा १८ हजार ७५८ र कर्णालीमा ७ हजार ३१२ रोजगारी सिर्जना निजी शिक्षण संस्थाले गरेका छन् । लैंगिक हिसावले हेर्दा मधेश बाहेक सबै प्रदेशमा महिला कर्मचारीको संख्या पुरुषको तुलनामा अधिक छ ।
कार्यालयले आर्थिक वर्ष २०८०÷८१ लाई सन्दर्भ वर्ष मानेर सर्वेक्षण सञ्चालन गरेको थियो । सर्वेक्षणले सोही आवसम्मको अवस्था चित्रण गर्ने कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए ।




