अहिले रेबिजविरुद्धको खोप र सर्पदंशको उपचार गर्न एन्टी स्नेक भेनमको अभाव भएको छ । रेबिजविरुद्धको खोप अभाव हुँदा नागरिकको मृत्युको जोखिम बढेको छ । सर्पदंशको यो मुख्य मौसम हो । यो बेला खोप अभाव हुनु नागरिक उपचारबाट वञ्चित हुनु हो ।
अत्यावश्यक जीवन रक्षक औधषी मानिने रेबिजविरुद्धको खोप र सर्पदंशको उपचारका लागि दिइने एन्टी स्नेक भेनम किन बेलैमा आउन सकेन् ? यो बारेमा सरकार गम्भीर हुनुपर्छ । पूराना राजनैतिक दललाई गाली गर्ने र उनीहरुका कमजोरीको कुराले मात्रै नागरिकका आवश्यकता पूर्ति हुँदैनन् । तत्काल गर्नुपर्ने काम किन हुन सकेन ? सरकारले कारण खोजेर पूर्ति गर्नुपर्छ ।
काठमाडौंमा रेबिजले गर्दा एक जनाको मृत्यु भएको छ । रेबिज लागेको कुकुरले टोकेपछि बेलैमा खोप नलगाउने हो भने ज्यानै जानसक्छ । रेबिजविरुद्धको खोपको व्यवस्था जति छिटो गर्न आवश्यक छ, सर्पदंशविरुद्धको भेनम पनि उत्तिकै छरितो ढंगले व्यवस्था हुनुपर्छ । रेबिजविरुद्धको खोप र एन्टी स्नेक भेनमको अभाव हुँदा समेत सरकारी अधिकारीहरु अभावको कुरा गर्न चाहँैदैनन् । अभाव छ भनेर मिडियामा आउँदा छिटो गर्न जति दबाब पर्छ, अभावको बारेमा कुनै कुरा उल्लेख नगर्दा बिरामीले उपचार सहज पाउने होइनन् ।
अत्यावश्यक औषधी खरिदमा कानुनको अभावबारे पनि कुरा उठिरहन्छन् । सार्वजनिक खरिदमा भएको व्यवस्थाले जुन विलम्ब छ, त्यसलाई अत्यावश्यक औषधीको हकमा विलम्ब हुने व्यवस्था हटाउनुपर्छ । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाकै कारण विगतमा कोभिड महामारी नियन्त्रणमा अत्यावश्यक सामग्री खरिदमा समस्या भयो । सार्वजनिक खदिरमा भएको प्रावधानलाई कुल्चेर अघि बढ्दा अख्तियारले प्रश्न उठाउने र अनियमितता गरेको भनेर मुद्दा चलाउने जोखिमकै कारण कर्मचारी खरिद प्रक्रिया छरितो गर्न उत्सुक भएनन् । अहिले पनि समस्या त्यही हो । सार्वजनिक सूचना निकालेको ३५ दिनको म्याद राख्नुपर्ने प्रावधानले समयसीमा लम्बिएको छ, अझ यो समयभित्र अन्तर्राष्ट्रिय बजार मूल्यमा उतारचढाव आएकोले व्यवसायी खरिद प्रक्रियामा सहभागी हुनु उत्सुक छैनन् । बजार मूल्यमा छिटो हेरफेर हुँदा टेण्डर प्रक्रियामा सहभागी भएर छनौट भएपछि आपूर्ति गर्दा भएको सम्पत्ति सकिने जोखिम बढेकोले पनि समस्या छ ।
अत्यावश्यक औषधी खरिदका लागि ३५ दिनको समयसीमा राख्नुपर्छ भन्ने छैन । त्यसलाई पाँच दिनको सूचना निकालेर खरिद गर्न सकिन्छ, तर त्यो व्यवहारिकतालाई हेरेर अन्तरसरकारी समन्वय आवश्यक छ । विधि र प्रक्रिया मिलाएर रेबिजविरुद्धको खोप र एन्टी स्नेक भेनम छिटो व्यवस्था गरेर सरकारले प्रभावकारी उपस्थिति देखाउनुपर्छ ।




