तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दोस्रो संस्करणको तिलोत्तमा कोरा आयोजना हुने भएको छ। आयोजकले आगामी २०८३ साउन २ गते शनिबार हुने कोरा यात्रामा विश्व साइकल यात्री पुष्कर शाह पनि सहभागी हुने जानकारी दिएको छ।
आयोजकका अनुसार कोरा यात्रामा ५० किलोमिटरभन्दा बढी दूरीको कोरा च्यालेन्ज समावेश गरिएको छ। यात्रामा सहभागी हुन चाहनेका लागि २०८३ असार १५ गतेदेखि नाम दर्ता खुला गरिनेछ भने असार २५ गतेभित्र अनिवार्य रूपमा नाम दर्ता गर्नुपर्नेछ।
तिलोत्तमामा साइकल संस्कृति प्रवर्द्धन, स्वस्थ जीवनशैलीको सन्देश र सामुदायिक एकताको उद्देश्यसहित कोरा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। गत वर्षको सफलतापछि यसपटक अझ ठूलो सहभागितासहित कार्यक्रम गर्न तयारी गरिएको आयोजक संस्थाका दीपक भट्टराईले बताए ।
विश्व साइकल यात्री पुष्कर शाहको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। आयोजकले युवादेखि विभिन्न उमेर समूहका साइकलप्रेमीलाई सहभागी हुन आग्रह गर्दै ‘साइकल तयार पारौं, साथीहरू जुटाऔं र ऐतिहासिक यात्राको हिस्सा बनौं’ भन्ने आह्वान गरेको छ।
तिलोत्तमामा आयोजना हुने यो कोरा यात्रालाई प्रदेशकै महत्त्वपूर्ण साइकलिङ इभेन्टका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको आयोजक संस्थाका सुवास थापाको भनाइ छ।




