बुटवल । कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुहरुलाई न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलले सम्मान गरेको छ । न्यू होराइजनबाट व्यवस्थापन र विज्ञान संकायबाट गरी ५०१ जना विद्यार्थी उत्तिर्ण भएका थिए ।
जसमा संगम सापकोटा, सागर पाण्डे र अक्सर गौचनले जीपीए ३.९६ ल्याएका थिए । ३.९६ जीपीए यसपटकको नतिजामा सर्वाधिक उच्च जीपीए हो । यसलाई विद्यालयले नेपाल प्रथम नतिजा भनेको छ । यस्तै अंकुर पोखरेल र श्याम टण्डनले ३.९२ र दिप्सन रायमाझीले ३.९१ जीपीए प्राप्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका निमित्त प्रमुख कमल अर्यालले न्यू होराइजनले संख्यात्मक र गुणात्मक दुबै क्षेत्रमा राष्ट्रमै उत्कृष्ट नतिजा हासिल गरेको भन्दै विद्यालय र विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे ।
उनले बुटवल विद्यालय तहदेखि स्नातक तहसम्मको गुणस्तरीय शिक्षाको केन्द्रका रुपमा स्थापित भइसकेकाले विद्यार्थीहरु अन्यत्र भौंतारिन नपर्ने सुझाव दिए ।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले गुणस्तरीय शिक्षा दिने एक मात्र उद्देश्यले न्यू होराइजन संस्था स्थापना भएकाले विद्यार्थीको उत्कृष्ट नतिजा ल्याउन संस्थाले कुनै सम्झौता नगरी लगानी गरेको बताए ।
प्राचार्य बासुदेव अर्यालले न्यू होराइजन संस्था अन्तर्गत न्यू होराइजन कलेज ड्राइभर टोल, क्षितिज इन्टरनेसनल कलेज कालिकानगर र बुटवल मोडेल कलेज कटैया सञ्चालनमा रहेका र ती संस्थामा स्नातक तहका विभिन्न विषय पढाई हुने जानकारी गराउंदै १२ कक्षा उत्तीर्ण विद्यार्थीहरु ब्याचलर पढ्न अन्यत्र भौंतारिन नपर्ने बताए । यी तीन कलेजहरुमा व्यवस्थापन, विज्ञान र होटेल म्यानेजमेन्ट अन्तर्गत विभिन्न विषयमा पढाई हुने गरेको र यी कलेजको नतिजा देशमै अब्बल आउने गरेको छ ।
कार्यक्रममा न्यू होराइजन कलेजका क्याम्पस प्रमुख एवं निवर्तमान प्राचार्य लोकनाथ उपाध्याय, विद्यालयका उपप्राचार्य राजेश पाण्डे, होराइजन जीबीएसका प्राचार्य गोपाल प्रसाद आचार्य,बुटवल मोडल कलेजका क्याम्पस प्रमुख डा. नेत्रप्रसाद बस्याल, शिक्षक मिलन रानाले मन्तव्य राखेका थिए ।
विद्यार्थीहरु अक्सर गौचन र सागर पाण्डेले विद्यालयको सुविधा सम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा , परिवारको साथ र साथीहरुको प्रोत्साहनले उत्कृष्ट नतिजा आएको भन्दै दृढ इच्छा शक्ति र निरन्तरको लगनशीलता भए सफलता हासिल हुने बताएका थिए ।
न्यू होराइजन संस्थाले २०७७ सालदेखि कक्षा ११ को कक्षा सञ्चालन गरेको थियो । सोही ब्याच बाटै सुम्निमा श्रेष्ठले ४ जिपिए प्राप्त गरी देशमै उत्कृष्ट बन्न सफल भएकी थिइन् । त्यस यता पनि कक्षा १२ को नतिजामा विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले बताए ।




