तुल्सीराम पाण्डे
नेपाल सरकारले असार १५ लाई धान दिवस घोषणा गरेपछि उच्च पदस्थ व्यक्ति र स्थानीय निकायका मानिसहरुले त्यस दिन धेरै जना जम्मा भएर रमाइलो गर्दै खेतमा काम गर्दछन् । सबैले हिलोको टीका लाउँछन् । केही मानिसहरुले हिलोमा लडिबडी खेल्ने र एक अर्कालाई हिलाले छेप्ने गर्दछन् । त्यसो गर्नु माटो प्रति र अन्नप्रति गरिएको सम्मान हो । त्यस बाहेक केही ठाउँमा पुरानो समयमा गरिने “बेठी रोपाइँ” लाई पनि परम्परा र संस्कारको रुपमा फेरि सुरु गरेका छन् । आधुनिक पुस्ताले त्यसलाई रमाइलो पनि मानेका छन् । बेठी रोपाइँ किन लोप भयो र पुरानो पुस्ताले कस्तो मान्थे त्यो बुझ्नको लागि त्यसबेलाको कानुन र समाजको अवस्था बुझ्न आवश्यक हुन्छ ।
पहिलेको समयमा गाउँमा बस्ने रैतीहरुले रजौटा, अमलदार, तालुकदार, जिमुवाल, मुखिया, साहु र अरु ठुला मानिसहरुलाई बेसरी मान्नु पर्दथ्यो । ठुला मानिसको निगाहामा सानाको जिन्दगी चल्थ्यो । खेतको तिरो जिम्मालले उठाउँथे । पाखो बारी र खरबारीको तिरो मुखियाले उठाउँथे । मुखिया जिम्मालकहाँ वर्षको २ पटक खेतारो जानु पर्दथ्यो । साहुको ऋण खानेले पनि ब्याज र ठेकी बुझाउनु पर्दथ्यो । कसैले घिउको ठेकी हिसाबमा र दूध - दहिको ठेकी गुनयमा बुझाउनुपर्दथ्यो । कसैले ठेकी बुझाउन नसकेमा बेठी तिरेर ब्याज कटाउँथे । वि.स. २०२० सालसम्म २०-३० वा ५० रुपैयाँसम्मको ऋण ठुलै मानिन्थ्यो । कसैले १०० रुपैयाँ ऋण लिएमा वार्षिक १० रु ब्याज र १० रु ठेकी भन्दथे । बेठी तिरेमा त्यस समयको भाउअनुसार हिसाब हुन्थ्यो । खेतालाको ज्याला ४ माना अन्न थियो ।
१८ सालमा १ रु पाथी मकै थियो । त्यसअनुसार ५० रु ऋण लिनेहरु ५ रु नगद ब्याज वा १० वटा खेतारा ठेकीको हिसाब हुन्थ्यो । गुनय र सघाउ पनि कतै १ दिन र कतै २ दिन सघाउ गर्न पर्दथ्यो । गोरु पाल्नेहरुले गोरु र हली दिएर बेठी कटाउँथे । कुनै ठाउँमा आफ्नो रोपाइँ गर्न नारेका गोरु पनि फुकाएर दिन पर्दथ्यो । पहिले ठुलाको चित्त बुझाएपछि मात्र आफ्नो काम गर्दथे । चित्त नबुझाएमा धेरै प्रकारले दुःख दिन्थे । गरिबहरु जति मिहिनेत गरे पनि उक्सन सक्दैनथे ।
अन्न बेच्नेहरुले भकारीमा भुस मिसाउने र ५ पाथी दिएमा १० पाथी लेख्ने गर्दथे पापको डर नमान्ने साहुहरु मैले ब्याज लिन्न वर्षको एउटा सिफ्रि थप्छु भन्दथे । सोझा मानिसहरुले हुन्छ भनेर ऋण लिन्थे । १ रु ऋण लिएमा दोश्रो वर्ष १० रु हुने तेश्रो वर्ष १०० रु हुने र चौथो वर्षमा हजार रुपैयाँ हुन्थ्यो । त्यसपछि जालझेल गरेर धित्तो लिलाम गर्दथे । ऋण खोजेर लाहुर गएमा कमाएर फर्केपछि घडी कोट कम्मल, जुत्ता, कमेज र मसला जस्ता केही कोसेली दिनु पर्दथ्यो । साहुले पनि कमाइअनुसार कोसेली माग्दथे । मैले ऋण हालिदिएर तैंले कमाउन पाइस् भन्दथे । साउँ ब्याज सबै पाइ पाइ गरेर लिन्थे ।
मुखिया, जिम्माल, तालुकदार र साहु कहाँ रोपाइँ सकिने दिनमा बेठी लगाउँथे । त्यस दिन नियमअनुसार खेतारा जाने बाहेक सघाउ गर्न र रमाइलो हेर्न अरु मानिस पनि जान्थे । त्यस दिन बाजा बजाउने, बन्दुक पड्काउने, गीत गाउने र नाच्ने गर्दथे । नास्ता खानको लागि चामलको पिठो भुट्थे । कसैले दहि चिउरा पनि बाँड्थे । कुनै ठाउँमा बोको वा राँगो काटेर भोज लाउँथे । असारमा हिलो टेकेमा गति परिन्छ र खेती सप्रन्छ भन्दथे । केही साहुहरु घोडालाई पनि नुहाइदिएर, तेल लगाइदिएर घोडामाथि चढेर खेतमा दौडाउँथे ।

अरु मानिसहरुले खोकमा चढेर अनौ समातेर गोरु दौडाउँथे । खोकमा चढेर चिच्याउने, लौराले घोच्ने, पुच्छर निमोठ्ने गरेपछि लहरै नारेका गोरुहरु एउटै तालमा दौडन्थे । टाठा गोरुले दौडिंदै गएर अहट र ढिक नाघेमा विजयी हुन्थे । मुखियाको गोरुलाई अरु गोरुले जितेमा जित्ने गोरु किन्ने वा आफ्नो गोरु बेच्ने गर्दथे । असारमा अनिकाल लाग्ने हुनाले भोज खानको लागि गरिबहरु र केटाकेटीहरु पनि जान्थे । कसैलाई पनि ज्याला दिन नपर्दासम्म सक्ने जतिले बेठी लाउँथे । आली लाउनेलाई कुनै ठाउँमा ठिंगारे र कुनै ठाउँमा बाउसे भन्दछन् ।
धानको रोपाइँ सकिने दिनलाई बेठी भने जस्तै कोदोको रोपाइँ सकिने दिनलाई मैजारो भन्दछन् । भात खाए इज्जत हुने ढिंडो खाएमा इज्जत जाने हुनाले कोदोको कुरा कसैले गर्दैन । कुनै ठाउँमा मैजारो गर्दा पनि रमाइलो गर्दथे । ठाउँ र परम्परा अनुसारका एकहोरी, दोहोरी, ठट्यौली, कथा, इतिहास र पीडा बोकेका गीतहरु गाउँथे । हलीगरो, खलेगरो, महनेगरो, चेलीगरो नाम राखेर भाग छुट्याउँथे । केही ठाउँका छुचा मुखिया, जिम्मालहरुले बेठी बुझाउन गएका खेतारालाई नास्ता पनि नदिएर सेर्मा बुझाउँदा ल्याउने मानो वा ठेकीमा कटाइदिन्छु भनेर भोकभोकै पठाउँथे ।
बेठी शब्द झर्रो नेपाली शब्द हो गाउँघरमा बिउको लागि पालेको बोको, राँगो, साँढेलाई बेठे भन्दछन् । कुनै ठाउँमा ब्याठे पनि भन्दछन् । ठट्यौला मानिसहरुले भर्खरको मानिसलाई जिस्क्याउँदा ब्याठेई गर्न ÷बिठ्याई गर्न नआतेउहै केटाहो भन्दछन् । जे जस्तो भए पनि मानिसहरुले समय अनुसार आफ्नो जीवन चलाएका छन् । २०७९ सालको मूल्याङ्कनअनुसार सामान किनेर भोज ख्वाउँदा र सरकारले तोकेको ज्याला दिएर बेठी लगाउँदा कति खर्च होला ? आफै मूल्याङ्कन गर्नुस् । आफ्नो खेत बारीमा ज्याला दिएर काम गराउँदा उल्टै घाटा लाग्दछ । त्यस बाहेक समयमा मल बिउ नपाउने र अरु धेरै समस्या छन् । नेताहरुको भाषण सुन्दा किसानहरु रनभुल्लमा पर्दछन् । सीमा पारिबाट मल ल्याए जफत हुन्छ । किसानहरु उक्सने नीति नै छैन । सक्कली किसानहरु ऋणले गडेका छन् । झोलामा फारम दर्ता गर्नेहरुले अनुदान खाएका छन् ।
धान दिवसको दिनमा सरकारी बजेट खर्च गरेर मेलाको आयोजना गर्ने, ठुला ठुला आश्वासन दिने, गमलामा धान रोप्ने, बिउको माला लगाउने, गरेको देख्दा किसानमा कस्तो सन्देश जाला रु केही ठाउँमा महिला माथि दुव्र्यवहार समेत भएको छ । कुनै बेला अहिलेका बेथितिहरुको अन्त्य भएर किसानको हितमा नीति बनेमा मात्र कृषिबाट समृद्धि होला । आशा गरौं भर नपरौं ।
केही असारे गीतहरू
१. असार महिना झरी र प¥यो पहरो रसायो
हरियो पाखा पालुवा नयाँ जमिन बसायो ।
२. झरीले होला बर्खे ति मूल सबै छन् फुटेका
छङ् छङ् गर्दै झर्दै छन् तल नदीमा जुटेका ।
३. लेकैरबाट बेशीमा झरे हल गोरु लिएर
रोपाहार बाउसे झर्दै छन् लस्कर पाखामा ति हेर ।
४. मुग्लानबाट लाहुरे आए धन पैसा लिएर ।
रोपाइँ खर्च रिन माग्न जाउँ कोसेली लिएर ।
५. लेकमा कोदो बेसीमा धान रोपाइँ गरने
असारमा रोप्ने मंसिरमा काट्ने भकारी भरने ।
६. बर्खामा हुने झरी र बादल हिँउदमा तुवाँलो
माछाको काल जाल र बल्छी थुनेको दुवालो ।
७. टारी र पाखा घैया धान छर्ने फाँटमा जर्नेली
उस्तै हो भनी साटीए बिउ पछुतो पर्लानी ।
८. जेठो बुढो र गौरिया रोपौँ पोखरा फाँटमा
रातो मार्सी र चन्दननाथ जुम्लाको माटोमा ।
९. बर्खामा रोप्ने धेरै छन् धान चैतमा टाइटन
लक्षीनकी रैछन् नउली बुहारी नबसे माइतमा ।
१०. पहिल्यै रोप्नु ढाव र सिम कुलोको भरमा
मुल्फुटे पछि टार र फाँट ठुलठुला गरामा ।
११. लाग्दैमा असार धानको बिउ राख्नु बियाड बनाइ
एक महिना दिन्को बिउ रोप्नु राम्रो हातमा समाइ ।
१२. असार पन्ध्र हो धान दिवस हिलोमा जाने हो
सबैले मिली रोपाई गर्ने दही चिउरा खाने हो ।
१३. नेपाल हाम्रो साझा हो घर हिमाल धुरी हो ।
असारमा मानो रोपेर हाम्ले थन्क्याउने मुरी हो ।
१४. हराउने भयो रैथाने धान विकासे बिउले
जोगाउने ज्ञान कहिले सोंच्छ, कसको जिउले ।
१५. यती हो मैले जानेको भन्ने असारे समाचार
देखेको लेखें जानेको भनें सबैलाई नमस्कार ।।




