नवीन लोचनमगर
रोल्पा
रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ६, गुम्चालमा रहेको थामलेक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । धार्मिक तथा प्राकृतिक रुपमा निकै आकर्षक यहाँको मन्दिर तथा भौगोलिक बनावट आन्तरिक पर्यटकका लागि रोजाईको गन्तव्य बन्न थालेको छ । समुद्रि सतहबाट करिब २२०० मिटर उचाइँमा रहेको थामलेकलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय पनि सक्रिय देखिन्छन् ।
प्राकृतिक गन्तव्य
उसो त यहाँ बाह्रै महिना विभिन्न वनस्पति, हावापानी, फूलहरुको सुन्दर सजावट एवम् स्थानीय कला संस्कृतिको लोभलाग्दो दृष्य देख्न पाइन्छ । तर खासगरि गर्मी समयमा प्राकृतिक सुन्दरतामा हराउँदै डाँडामा बसेर शिरशिर बतासको झोक्कासँग रमाउनु, मिलेर बसेका थुम्काहरुसँग अंकमाल गर्दै विभिन्न भिडियो, तस्विर खिचाउँदा निश्चिय नै स्वर्गानुभूति हुन्छ । ‘यहाँ बनावटी कुरा केही आवश्यक छैन, प्राकृतिकरुपमा जे जति भौगोलिक बनावट छ, यसैमा ‘न्याचुरल’ आनन्द छ,’ वडा अध्यक्ष तथा स्थानीयवासी जोखबहादुर बुढाथोकीले भने–‘हामीले अन्य केही संरचना थप्ने योजना बनाए पनि प्राकृतिक सौन्दर्यतालाई मर्न दिँदैनौं ।’
आफ्नो गाउँठाउँमा पर्यटकहरु आउने र चहलपहल बढ्न थालेपछि स्थानीय पनि दंग छन् । ‘पहिले गाई चराउने ठाउँ हो, भदौरे पुजापाठ पनि हुन्थ्यो, अहिले मान्छेहरु घुम्न आउँछन्,’ स्थानीय मनसुर बुढाक्षेत्री भन्छन्–‘डाँडामा घुम्छन्, पुजा गर्छन्, फोटो खिच्छन्, हामीलाई पनि रमाइलो लाग्छ ।’ थामलेकको पर्यटकीय प्रवद्र्धनसँग स्थानीयको आयआर्जन पनि जोडिएको छ । अहिले व्यवस्थित होम स्टे वा अन्य सुविधा नभए पनि समूहमा आउने पर्यटकलाई स्थानीय समुदायले खानपानको व्यवस्था गर्छन् ।
पाहुनाको मागअनुसार कोदोको परिकार तथा अर्गानिक खानपान यहाँको विशेषता हो । झण्डै तीनचार सय घरधुरीको बाक्लो गाउँको सिरानीमा छ –थामलेक । लेकबाट हेर्दा गुम्चाल गाउँ निकै आकर्षक देखिन्छ । एकै ठाउँमा गुचुप्पै मिलेर बसेका गुम्चाल गाउँहरुले पनि थाम लेकको पर्यटकीय क्षेत्रलाई थप उर्जा दिइरहेका छन् ।
थामलेकको धार्मिक महत्व
थामलेकमा शिवालय मन्दिर रहेको छ । शिवको पुजा गरिने यहाँ आफूले चाहेको वा मागेको पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ । थाम शिवालय मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष तथा पुजारु रत्न केसीले रुखको फेदीबाट वि.सं. २०१२ सालदेखि यहाँ पुजा गर्न थालिएको हो । स्थानीय विजय बुढाथोकी, कमानसिंह खत्री ऐमने विष्टलगायतले मन्दिर स्थापना गरेको केसीको भनाइ छ ।
स्थानीय तह तथा स्थानीय दाताहरुको सहयोगमा अहिले तीनतले मन्दिर बनेको छ । मन्दिर निर्माणका लागि गुम्चाल क्षेत्रबाट वैदेशिक रोजगारमा गएका युवाहरुले थाम मिलिजुली सेवा समाज दोहा कतारको अगुवाइमा सहयोग संकलन गरेका थिए । यहाँ विष्ट, खत्री र बुढाथोकीले विशेष पुजाआजा गर्छन् । जेठ, भदौ, माघ र शिवरात्रीमा गरी चारपटक यहाँ पूजाआजा गरिनुका साथै भव्य मेला लाग्ने गर्दछ ।
पर्यटन विकासतर्फ सरोकारवालाको ध्यान
यसक्षेत्रको समग्र विकासका लागि लुङ्ग्री गाउँपालिकाले गुरुयोजना बनाउँदैछ । आ.व. २०८३-०८४ मा करिब ७५ लाख बजेट विनियोजन भएको लुङ्ग्री गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जोखबहादुर बुढाथोकीले बताए । त्यसमा ३० प्रतिशत पालिकाले म्याचिङ गर्नेछ र करिब एक करोड ७ लाख बराबरको बजेट विनियोजन भएको छ । अध्यक्ष बुढाथोकीका अनुसार आगामी वर्षमा भौतिक निर्माणतर्फ घेराबार, सार्वजनिक शौचालय, लिफ्टबाट खानेपानीको व्यवस्था गर्ने, बालउद्यान बनाउने, बराह भन्दिर नजिकै ओल्लो र पल्लोडाँडाको बिचमा सीसाको पुल अर्थात् स्काइब्रिज बनाउने पर्यटन गुरुयोजनामा छ । करिब ५०-५५ लाख समुदायको आर्थिक संकलन र १५ लाख बराबर समुदायको श्रमदान भएको कारणले स्थानीयको चासोलाई हेरेर स्थानीय सरकारले पनि विकास निर्माणका लागि ध्यान पु¥याएको हो ।
पर्यटन प्रवद्र्धनमा ‘सनस्टार क्लब’को हातेमालो
थामलेकको पर्यटकीय सम्भावना तथा पर्यटन प्रचारप्रसारका लागि भन्दै जिल्लामै चर्चित सनस्टार युवा क्लबले घुम्ती बैठक एवम् साहित्य र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाभरको पर्यटकीय गन्तव्यहरुको विकास र प्रचारप्रसार गर्ने उद्देश्यले जारी अभियानअन्तर्गत यसपटक थामलेकमा कार्यक्रम गरिएको रोल्पा नगरपालिकाका पूर्वमेयर तथा क्लबका अध्यक्ष पूर्ण केसीले बताए ।
लुङ्ग्री गाउँपालिकाको समन्वय, थाम शिवालय मन्दिर व्यवस्थापन समितिको व्यवस्थापन र नमस्ते लुम्बिनी ट्राभल्स एण्ड ट्रेकिङ प्रालिको सहकार्यमा गत शनिबार र आइतबार उक्त कार्यक्रम गरिएको हो । लुङ्ग्री गाउँपालिकाकै महत्वपूर्ण गन्तव्यको रुपमा रहेको थामलेकको विकासमा सहकार्य गरेको भन्दै गाउँपालिका अध्यक्ष भरतकुमार थापाले खुसी व्यक्त गरे । उक्त अवसरमा आयोजित ‘सिर्जनाका सुस्केरा’ र ‘सङ्गीतका धुनहरु’ सेसनमा विभिन्न साहित्य सिर्जना तथा गीतसङ्गीतहरु प्रस्तुत गरिएका थिए भने पुरण क्षेत्रीद्वारा लेखिएको दुईवटा गीतसमेत सार्वजनिक गरिएको थियो ।
कसरी पुग्ने थामलेक ?
थामलेक पुग्न दूरीका हिसाबले धेरै टाढा छैन । पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौरबाट वडाचौर एयरपोर्ट हुँदै थामलेक पुग्न सकिन्छ । पक्की सडकबाट उचालढुङ्गा छेडा पुगेपछि दायाँतिरको डाँडातिर कच्ची सडकबाट जानुपर्छ । कच्ची सडकको करिब १ किलोमिटरसम्म यातायातका साधन पुग्छ । त्यसपछि करिब १० मिनेट हिडेपछि थामलेक पुग्न सकिन्छ । अग्लो डाँडाबाट गामको कोठीभिर, सिस्ने हिमाल, प्यूठानको स्वर्गद्वारी, जलजला पहाडलगायतका क्षेत्रहरु देख्न सकिन्छ ।




