प्रकाश डोटेल
स्याङ्जा
जिल्लाका ११ वटै स्थानीय तहले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा दिँदै आर्थिक वर्ष २०८३-०८४ को लागि झण्डै ७ अर्ब बराबरको बजेट ल्याएका छन् । विकास पूर्वाधारसँगै सुशासन र डिजिटल सेवा प्रवाहमा जोड दिएका स्थानीय तहले ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
स्थानीय तहमध्ये ५ नगरपालिका र ६ गाउँपालिकामध्ये सबैभन्दा ठूलो पुतलीबजार नगरपालिकाले पर्यटन क्षेत्रको प्रवद्र्धन र उत्पादनमुखी विकासमा केन्द्रित रहेको जनाउँदै ९६ करोड ७३ लाख १६ हजार चार सयको बजेट ल्याएको छ भने सबैभन्दा कम फेदीखोला गाउँपालिकाले ४० करोड १६ हजार चार सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
बजेटमार्फत् जिल्लाका स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सृजना र पर्यटन क्षेत्रको समुचित विकासमा जोड दिएर सुशासन कायम गर्दै डिजिटल सेवा प्रवाह, सामाजिक सुरक्षा तथा स्थानीय उत्पानलाई प्रवद्र्धन गर्ने रणनीति लिएका हुन् । पुँजीगत खर्चको तुलनामा कतै दोब्बरभन्दा बढी त कतै झण्डै तेब्बरको अंकमा चालु खर्चमा बजेट विनियोजन गरेका स्थानीय तहले नीति तथा कार्यक्रममा आकर्षक नारा दिन छुटाएका छैनन् ।
पूर्वाधार विकाससँगै कृषिमा यान्त्रिकीकरण, तरकारी र फलफूलमा आत्मनिर्भर बन्ने रणनीति लिएको वालिङ नगरपालिकाले चालुतर्फ ६२ करोड ४७ लाख ११ हजार ७३६ र पुँजीगततर्फ २६ करोड ५४ लाख ४८ हजार गरी ८९ करोड एक लाख ५९ हजार ७३६ रुपैयाँको बजेट ल्याएको छ । स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारको दिगो विकास र दलहन उत्पादनमा जोड दिएको गल्याङ नगरपालिकाले ८६ करोड ६३ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको जनाएको छ ।
पशुपालन, तरकारी उत्पादन र फलफूल खेती विस्तारमा प्राथमिकता दिएको चापाकोट नगरपालिकाले ६६ करोड ४८ लाख ७४ हजार ७२ रुपैयाँको बजेट ल्याएको छ । ‘समृद्ध भीरकोटको आधारः कृषि, पर्यटन र आँधीखोलाको उपहार’ आकर्षक नारा दिएर भीरकोट नगरपालिकाले कृषि उत्पादनमा वृद्धि, गुणस्तरीय शिक्षा, सडक सञ्जाल विस्तार, खानेपानीको सहज पहुँच, बाह्रै महिना सिँचाइ सुविधा र डिजिटल सेवा प्रवाहलाई सुशासनसँग जोड्दै ५७ करोड ३० लाख ९७ हजार ८८१ रुपैयाँको बजेट ल्याएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए ।
‘कृषक अनुकूलन परिस्थिति, खेतबारीमा हाम्रो उपस्थिति’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै आँधीखोला गाउँपालिकाले कुल बजेटको चालुतर्फ झण्डै ७० प्रतिशत अर्थात् ४३ करोड १२ लाख र करिब ३० प्रतिशत अर्थात् १८ करोड ५० लाख पुँजीगत खर्चसहित ६१ करोड ६२ लाख बराबरको बजेट ल्याएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउँदै स्थानीयलाई गुणस्तरको विकास प्रदान गर्ने लक्ष्य लिएको कालीगण्डकी गाउँपालिकाले चालुतर्फ झण्डै ७० प्रतिशत र पुँजीगत शिर्षकमा करिब ३० प्रतिशत हुने गरी ५६ करोड ८१ लाख ८१ हजारको बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष सावित्री कोइरालाले बताइन् । कृषि उत्पादन ग्रामीण अर्थतन्त्रको आधार मानेको बिरुवा गाउँपालिकाले चालुतर्फ ३६ करोड ७२ लाख २१ हजार ३८४ र पुँजीगततर्फ १५ करोड ६२ लाख ४७ हजार गरी ५१ करोड ६२ लाख ६८ हजार ३८४ रुपैयाँको बजेट ल्याएको छ ।
विगत चार वर्षमा हासिल गरेका उपलब्धिलाई संस्थागत बनाउँदै कृत्रिम बौद्धिकता (एआइ) को बढ्दो प्रभावलाई आत्मसाथ गर्ने नारा दिएर अर्जुनचौपारी गाउँपालिकाले ४७ करोड ९४ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यस्तै हरिनाश गाउँपालिकाले चालुतर्फ ३० करोड ५२ लाख र पुँजीगत शीर्षकमा १३ करोड ७२ लाख गरी ४४ करोड २४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाका स्थानीय तहले सार्वजनिक गरेका बजेटमार्फत् पूर्वाधार विकाससँगै आधारभूत सेवा प्रवाहलाई समयसापेक्ष सुदृढीकरण गर्ने प्रतिबद्धता जनाएको देखिन्छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, ग्रामीण अर्थतन्त्रको सबलीकरणसँगै दिगो विकासलाई केन्द्रमा राख्दै स्थानीय तहले बजेट सार्वजनिक गरेको स्थानीय बुद्धिजीवीको बुझाइ छ ।
नीति तथा कार्यक्रममार्फत् अर्जुनचौपारीले उत्पादनमुखी क्षेत्रमा संलग्न परिवारलाई प्रतिमहिना ५० युनिटसम्म विद्युत् महशुलमा छुट दिने घोषणा गरेको छ । गाउँका युवालाई विदेश जानबाट रोक्न बाँझो जमिनमा खेती गरे प्रतिरोपनी ३ हजारसम्म अनुदान दिँदै आएका फेदीखोला र कालीगण्डकी गाउँपालिकाले ‘विदेश होइन्, बिजनेश’ भन्ने अभियान चलाउने भएका छन् । ‘घर–घरमा रोजगार, होम स्टेबाट आर्थिक सुधार’ को माध्यमबाट स्थानीय उत्पादनको ब्राण्डिङ् गर्न तयारी थालेका पुतलीबजार, वालिङ, गल्याङ र चापाकोट नगरपालिकाले स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, कागती, आँप, लिची, किवी, ड्रागन, एभोकाडो, अकबरे खुर्सानी, कफी, केरा, कुरिलोलगायतका उच्च मूल्यका बालीको व्यावसायिक उत्पादनसँगै विस्तार गर्ने लक्ष्य लिएका छन् ।




