जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि नाराका साथ यो वर्षको धान दिवस विभिन्न कार्यक्रमका साथ मनाईयो । तहगत सरकारका अगुवा खेतमा धान रोपेर किसानसँग दही चिउरा खाँदै रमाए, फोटो खिचे, भिडियो खिचे, सामाजिक सञ्जालमा पोष्ट गरे । के किसानसँग रमाउँदै धान दिवस मनाउँदा झै कृषि क्षेत्रमा उल्लास छ त ? अहिलेको प्रश्न हो यो । तहगत सरकारका प्रतिनिधि जाँदा सत्कार गर्दा अनुहारमा जबर्जस्ती हाँसो निकालेका किसानको अनुहार खेती स्याहार्ने बेलासम्म उस्तै रहन्छ, विगत केही वर्षदेखि प्रकृतिमा देखिएका अस्वभाविक क्रियाकलापले कृषि क्षेत्रलाई चुनौती थपेको छ ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार, ०७८ कार्तिक पहिलो साता परेको पानीले काटिसकेको धानमा क्षति भयो । काटेर खेतमा राखेको धान डुब्दा लुम्बिनी प्रदेशमा ५ अर्ब बराबरको नष्ट भयो । गत वर्ष मध्य असारदेखि सुरु भएको खडेरी साउनभर कायम रह्यो । डेढ महिना लामो खडेरीले रोपेको धान जोगाउनै कठिन भयो । मधेसमा खानेपानीको हाहाकार भयो, सरकारले ट्याङ्करबाट खानेपानी वितरण गरी खानेपानीको संकट टा¥यो । यो वर्ष पनि भयानक ठूलो खडेरीको मारमा मुलुक पर्ने देखिएको छ । एननिनोको कारण यो वर्ष औषतभन्दा कम वर्षा हुने वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन् । त्यसको प्रभाव क्षेत्रमध्ये एक दक्षिण एशिया पनि एक हो । धान धेरै खेती हुने भारतसमेत प्रभावित हुँदा धान उत्पादनमा प्रतिकुल असर पर्ने छ, एलनिनोका कारण हुने खडेरीबाट जोगिने उपाय हामीसँग छँदैछैन ।
सन् १९८१ देखि २०१० सम्म वर्षाको मापन गर्ने केन्द्रहरुबाट संकलित तथ्याङ्कले नेपालमा सुख्खा अवधि लम्बिइरहेको तथा मनसुनी ढाँचा बदलिएर ‘आरी घोप्टिए जस्तो’ वर्षा भएको देखाएको छ । विगतका यी तथ्याङ्क विश्लेषण गर्दा जलवायुमा चरम खालका स्वभाव देखिंदैछन् ।
राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण-२०२२ ले जलवायु परिवर्तनको असरबाट खडेरी चुलिंदै गएको र यसले कृषि उत्पादनमा ह्रास ल्याएको देखाएको छ । सर्वेक्षणमा सहभागी ६५ प्रतिशतले खेती गर्दै आएको खेतबारीमा २५ वर्षदेखि खडेरीको असर भोगिरहेको बताएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालको तापक्रम वर्षेनी ० दशमलव ०६ डिग्री सेल्सियसका दरले बढिरहेको छ । सन् २०३० सम्म यो दर बढेर १ दशमलव ७ डिग्री सेल्सियस पुग्ने आँकलन गरिएको छ । बढ्दो तापक्रमले खेतीपातीको तालिका नै बदलिदा किसान मात्रै नभई नीति निर्माता र अनुसन्धानकर्मी नै अलमलमा छन् । कृषि मन्त्रालयका अनुसार, नेपालको धान उत्पादन ८० प्रतिशत तराईमा हुन्छ । बढ्दो तापक्रमका कारण अन्यत्रभन्दा बढी तापक्रम भएको तराईमा तापक्रम बढ्दा धान उत्पादनमा असर पर्न सक्ने राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको ठम्याई छ । दक्षिण एशिया क्षेत्रमा एक डिग्री सेल्सियस तापक्रम बढ्दा धानको उत्पादन २० प्रतिशतसम्मले कमी हुनसक्छ । धानको फूल फुल्ने अवस्थामा तापक्रम एक घण्टाभन्दा बढी ३५ डिग्री सेल्सियस भन्दा माथि रहेमा धानमा दाना लाग्दैन् ।
जलवायु परिवर्तनले समग्र कृषिलाई असर गरिरहेको र त्यसमा मुख्य बाली धान प्रभावित भइरहेको बेला दिवसलाई औपचारिक ढंगले मनाउने भन्दा किसानलाई जलवायु अनुकुलन प्रविधि र सीप सिकाउने अवसरका रुपमा उपयोग गर्नुपर्छ । जलवायु अनुकुलन प्रविधि र सीप अब किसानकै हातमा हुनुपर्छ, त्यसका लागि तहगत सरकारको सहजीकरण आवश्यक छ ।




